http://www.nepali.com

14 मे, 2008 16:06 GMT सम्मका समाचारहरु

एमाले नयाँ महासचिव चयन गर्न अग्रसर

नेकपा एमालेको केन्द्रिय कमिटिको एउटा महत्वपूर्ण बैठक पार्टीको महाधिवेशन र नयाँ महासचिवको टुंगो लगाउन बिहीबार बस्ने भएको छ।

बुधबार नै बस्ने भनिएको उक्त बैठक नेताहरूको कार्यव्यस्तता र अनौपचारिक सरसल्लाहले गर्दा एकदिन पर सारिएको एमालेका नेताहरुले बताएका छन्।

तर कतिपयले भावी नेतृत्वकाबारे पार्टीभित्र रहेको विवाद चर्केको औंल्याएका छन।

स्थायी कमिटिले अघिल्लो दिन नै टुंगो लगाउने भनिएको विषय केन्द्रिय कमिटिको बैठक नै बस्न नसकेपछि बुधबारपनि अनिर्णित रह्यो।

स्थायी कमिटिका सदस्य ईश्वर पोखरेलका अनुसार बिहीबार बिहान बस्ने बैठकको मुख्य एजेण्डा महाधिवेशनको मिति तय गर्ने र त्यसको संयोजकको नियुक्ति गर्ने हुनेछ।

ती निर्णयहरुसंगै भावी नेतृत्वको प्रश्न जोडिएका हुनाले सबैको ध्यान त्यतैतिर केन्दि्त छ।

हालै सम्पन्न संविधानसभाको चुनावमा भएको एमालेको नराम्रो हारको जिम्मेवारी लिंदै माधवकुमार नेपालले पदत्याग गरेपछि महासचिवको पद रिक्त भएको थियो।

दावेदार

हाल अमृत बोहोरा कार्यवाहक रहेको उक्त पदको बलियो दावेदारका रुपमा संविधानसभाको चुनावमा विजयी थोरै एमाले नेताहरु मध्येका एक वरिष्ठ नेता झलनाथ खनाललाई हेरिएको एमाले निकट सूत्रहरुले बताए।

उनीहरूका अनुसार चुनावमा पराजित अर्का वरिष्ठ नेता के. पी. ओलीलाई खनालको प्रतिद्वन्द्वीका रुपमा हेरिएको छ।

नयाँ सरकारको नेतृत्व गर्ने तयारी गरिहेको माओवादी प्रति ओली कडा मानिन्छन् भने खनाल तुलनात्मक रूपमा नरम मानिन्छन्।

ती दुई नेताहरुको माओवादीप्रति फरक फरक दृष्टिकोण रहेकाले एमाले नेतृत्व चयनको प्रश्नले भावी राजनीतिको दिशा समेत प्रभावित गर्ने विश्वास गरिएको छ।