|
संविधानसभाको तयारी जोडतोडका साथ जारी
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जेठ १५ गतेको लागि डाकिएको संविधानसभाको पहिलो बैठकको निम्ति प्राविधिक तयारी लगभग पूरा भइसकेको अधिकारीहरुले वताएका छन्।
तर त्यही गतिमा राजनीतिक तयारी नबढेको हुँदा अन्योल कायमै रहेको विश्लेषकहरुको भनाइ छ। सभास्थल नयाँ वानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कुर्सी तथा माइक जडान कार्य तीव्र गतिमा भइरहेको छ। जेठ ७ गते अगावै सम्पूर्ण प्राविधिक तयारी पुरा भइसक्ने वताउँछन् संसद सचिवालयका कार्यवाहक महासचिव मनोहर भट्टराई। "छ सय एक जनाको लागि बस्ने व्यवस्था, माइक्रोफोन, रेकर्डिङ्ग सुविधा, डायस निर्माण, कार्यालयहरु सबै बनिरहेका छन्। जेठ सात गते भित्र सबै तयारी पूर्ण हुनेछ," भट्टराईले भने। ६०१ जना सभासद सिंहदरबारको संसद भवनमा नअटाउने भएकोले संविधान लेख्ने कार्य उक्त केन्द्रमा गरिने भएको हो। प्राविधिकका साथसाथै बैठक सञ्चालनका निम्ति प्रक्रियागत मस्यौदा तयार गर्ने कार्य पनि अगाडि बढिरहेको सभामुख सुवास नेम्वाङले जनाए।
"खाकाको हिसाबले, मस्यौदाको हिसाबले, आधारका हिसाबले सबै तयारी पूरा भइसकेको जस्तो अवस्था छ। बाँकी भनेको राजनीतिक पक्ष हो। संविधानसभाको पहिलो बैठक संचालनको निम्ति राजनीतिक दलहरुबीच सहमती कायम गर्ने लगायतका कुराहरु भइरहेका छन् तर अन्तिम टुंगो लागेको छैन," नेम्वाङ्ले भने। अपूरो नेम्वाङले औंल्याएको राजनीतिक सहमतिका लागि प्रयास नभएका होइनन्। तारन्तार शीर्ष नेताहरु एवं कार्यदलका सदस्यहरुबीच भेटघाट भइरहेको छ। सबैभन्दा ठूलो दलको रुपमा अगाडि आएको माओवादी आफ्नो नेतृत्वमा सरकार बनाउन आतुर देखिन्छ। नेपाली कांग्रेस र एमालेजस्ता अन्य ठूला दलहरु भने त्यस्को निम्ति पूर्वशर्तका ठेली लिएर अगाडि आएका छन्। यथास्थितिमा माओवादीको नेतृत्वको सरकार गठनको कुरालाई लिएर आफ्नो दलभित्र व्याप्त आशंकालाई नेपाली कांग्रेसका केन्द्रीय नेता डा. प्रकाशशरण महतले यसरी प्रष्ट्याए । "वहाँहरु सबैको सहमतीमा सरकारमा जान खोज्ने अनि दुई तिहाई नभइ कसैले निकाल्न नसक्ने। यसको मतलब वहाँहरु संधै सत्तामा रहिरहन खोज्ने। अरु दलहरुले अघि सारेका कुराहरुलाई गम्भीरताका साथ लिनु पर्छ। वहाँहरुको भनेको मान्नलाई मात्र अरु दल बनेका त होइनन् " डा. महतले वताए। तर अझै पनि समाधानको सूत्र संविधानसभाको बैठक अगावै फेला परिसक्नेमा माओवादीका एक केन्द्रीय नेता दीनानाथ शर्मा ढुक्कै छन्। "विभिन्न असहमतीहरुबीच सहमती खोज्दै यहाँसम्म आइपुगेका छौं। यहि संस्कृति नै अगाडि बढाउनु पर्छ," शर्माले भने। संधै अन्तिम अवस्थामा त्यस्ता सूत्र फेला पर्ने गरेको नेपाली राजनीतिको विगतको अनुभव छ। तर विश्लेषकहरुले जेठ १५ अगाडि सहमति नभएमा गणतन्त्रको कार्यान्वयन र संविधान निर्माण लगायतका विषयहरु थप उल्झने चेतावनी दिएका
छन्। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||