|
एमालेका नयाँ महासचिवमा झलनाथ खनाल चयन
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
नेकपा एमालेको केन्द्रिय कमिटिले सर्वसम्मतिबाट वरिष्ठ नेता झलनाथ खनाललाई पार्टीको नयाँ महासचिवमा चयन गरेको छ।
नयाँ सरकारको नेतृत्व गर्ने तयारी गरिहेको नेकपा (माओवादी) प्रति खनाल तुलनात्मक रुपमा नरम मानिन्छन्। हालैको चुनावमा आफ्नो र पार्टी दुबैको नराम्रो हारसंगै माधव कुमार नेपालले राजीनामा दिएपछि संविधानसभामा तेश्रो ठूलो दलको महासचिवको पद खाली भएको थियो। राजीनामा दिएका महासचिव नेपालले नै आफ्ना उत्तराधिकारीका रुपमा झलनाथ खनाललाई प्रस्ताव गरेका थिए। उक्त प्रस्तावप्रति अर्का वरिष्ठ नेता के पी ओलीको आपत्ति थियो। आफु स्वयं पनि उक्त पदको दावेदार रहेका ओलीले खनालले संविधानसभामा पार्टीको नेताको एउटा पदमात्र लिनु राम्रो हुने सुझाव दिएका थिए। महासचिव पदका लागि पार्टीमा अरू पनि सक्षम व्यक्तिहरू रहेको ओलीले तर्क गरेका थिए। जिम्मेवारी एकै व्यक्तिले दुबै जिम्मेवारी निर्वाह गर्न गाह्रो हुने उनको धारणा थियो। नेताहरूका विभिन्न तर्क वितर्क भएपनि आखिरमा खनालको पक्षमा सर्वसम्मति भएको थियो।
आफ्नो नियुक्तिको लगत्तै बीबीसी संग कुरा गर्दै खनालले आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको बताए। उनले भने "यसलाई मैले अत्यन्त महत्वपूर्ण र गह्रुङ्गो दायित्वको रूपमा लिएको छु किनभने मुलुक यतिबेला ऐतिहासिक मोडबाट अगाडि बढ्दैछ। त्यो मोडमा एमालेले खेल्नु पर्ने भूमिका त्यत्तिकै चुनौतीपूर्ण र महत्वपूर्ण छ।" संविधानसभामा दलको नेताको चयन भइसकेको छैन। तर सभामा निर्वाचित हुने एमाले नेताहरूमध्ये खनाल सबैभन्दा वरिष्ठ भएकाले उनको चयन निश्चित ठानिएको छ। संविधानसभाको चुनावमा भएको एमालेको नराम्रो हारको जिम्मेवारी लिंदै माधवकुमार नेपालले पदत्याग गरेपछि रिक्त भएको महासचिवको पदमा नियुक्त भएका खनालका लागि यो पद नौलो होइन। यसअघि लगातार सात वर्षसम्म महासचिव रहिसकेका उनले २०४६ सालमा स्वर्गीय मदन भण्डारीलाई उक्त पद हस्तान्तरण गरेका थिए। साठी वर्ष टेक्नै लागेका खनाललाई हालैको चुनावमा थला परेको आफ्नो पार्टीलाई पुनर्जीवन दिने चुनौती आइपरेको छ। उनको अर्को चुनौती आउँदो मंसिरमा हुने तय गरिएको एमालेको महाधिवेशन सम्पन्न गर्नु हुनेछ। दोश्रो पटक पाएको महासचिव पदको आयु लम्ब्याउन उनले महाधिवेशनको कडा परीक्षा पनि उत्तीर्ण गर्नुपर्नेछ। महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटिले महासचिव नियुक्त गर्ने उक्त पार्टीको व्वस्था छ। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||