03 अगष्ट, 2007 17:02 GMT सम्मका समाचारहरु
झण्डै १४ महिना लामो रिक्तता पछि नेपालमा साउन १८ गतेदेखि नयाँ राष्ट्रिय धुन गुञ्जिन थालेको छ।
गतवर्षको जनआन्दोलनको सफलताले ल्याएको राजनीतिक परिवर्तनसँगै सरकारले कतिपयद्वारा राजाको भक्तिगान भनि आलोचना गरिएको पुरानो राष्ट्र गान बजाउन बन्द गरि खुल्ला प्रतिष्पर्धाद्वारा नयाँ राष्ट्रिय गान छनौट गरेको हो।
जुन गान सभामुख सुवास नेम्वाङले संसद सचिवालयमा पहिलो पल्ट सार्वजनिक गरेका थिए।
नयाँ गान
सयौं थुँगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची- महाकाली।
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
वीरहरुका रगतले स्वतन्त्र र अटल
ज्ञानभूमि शान्तभूमि तराइ पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।
केही महिना अघि नै छनौट भएको व्याकुल माइला उपनामका ओखलढुंगे युवा प्रदीपकुमार राईको यो आठ हरफ रचना संगीतको अभावमा बज्न सकेको थिएन।
साउन १६ गते मन्त्रिपरिषद् बैठकले वरिष्ठ संगितकार अम्बर गुरुङद्वारा सृजित संगीत छानेपछि नयाँ राष्ट्रिय गानले पुर्णता पाएको हो।
यससंगै बखतबहादुर बुढापिर्थिको संगीतमा चक्रपाणि चालिसेले लेखेका ' श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति' विस्थापित भएको छ।
नयाँ गानमा संगीतकार गुरुङले १०- १० जना गायक-गायिकाको स्वर पनि भरेका छन्।
त्यसरी स्वर दिनेहरुमा यम बराल, ज्ञानु राणा, बिमला राई, राजेश पायल राई, सुनिता सुब्बा, अञ्जु पन्त, अजय थापा, अनिलमान महर्जन, गंगा न्यौपाने, चन्दा देवान, जयनन्द लामा, झुमा लिम्बु, नारायण ओली, बेनुका राई, राजेन्द्रमान श्रेष्ठ, राम गुरुङ, रीना भुषाल, रुपा झा, शिशिर योगी र सृजना श्रेष्ठ छन्।
ब्याकुलको रचना १२७२ रचना मध्ये उत्कृट ठहरिएको थियो।
सरकारले अम्बरका तीन, नेपाली सेनाका दुई र युवा संगीतकार न्युह बज्राचार्यको एउटा गरी ६ वटा संगीत सुनेपछि अम्बरको दोश्रो संगीतलाई धुनको रुपमा चयन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
संख्यात्मक एकरुपता नहुनुको कारणबारे मन्त्री पृथ्वी सुब्बा गुरुङले कसैलाई संख्या तोकेर नमागेको र जसले जति बुझायो तिनै संगीतबाट छनौट गरिएको बताए।
पुरानो राष्ट्रिय गानका शब्द राजाको भक्तिमा समर्पित रहेका टिप्पणी गर्नेहरुले नयाँ गानले सिंगो राष्ट्रलाई एकताको मालामा उनेको भन्दै गर्व गर्ने गरेका छन्।
तर नयाँ संगीत सहितको राष्ट्रिय गान बारे बिज्ञ र सर्वसाधारणका प्रारम्भिक प्रतिकृया मिश्रित देखिएको छ।