BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
21 अक्टोबर, 2006 11:57 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस् छाप्न मिल्ने
मेरो चाहना
 
भावि पुस्ता
विशेष कार्यक्रम, भावि पुस्ता, अन्तर्गत नेपाली सेवाले लघु-निबन्ध प्रतियोगिता गरेको थियो
बीबीसी नेपाली सेवाले आयोजना गरेको 'मैले सोचे जस्तो हुने भए' शीर्षकको लघु-निबन्ध प्रतियोगिताका उत्कृष्ट पांच रचनाकारहरुको निवन्धको अडियो तल प्रस्तुत गरिएको छ।

बीबीसी विश्व सेवाले डिसेम्वर २००६ मा १८ वर्षसम्मका किशोर-किशोरीहरुलाई लक्ष्य गर्दै संचालन गरेको 'भावी पुस्ता' शिर्षकको विशेष कार्यक्रमको सिलसिलामा उक्त प्रतियोगिताको आयोजना गरिएको थियो।

प्रतियोगितामा नेपालका ६६ जिल्ला र विदेशबाट समेत गरी झन्डै ८०० वटा रचनाहरु प्राप्त भएका थिए।

उत्कृष्ट निबन्धहरु रचनाकारकै आवाजमा नेपाली सेवाबाट पुषको अन्तिम हप्ता प्रसार गरिएको थियो।

दिपक पोखरेल

दिपक पोखरेल

सिन्धुपाल्चोकको सीतापोखरीका दिपक पोखरेल शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौर, काठमाण्डौमा कक्षा आठमा अध्ययनरत छन्।

विहान छ बजेदेखि राती ११ बजेसम्म घरको कामकाज, पढाई अनि टेलिभिजनका हास्य कार्यक्रमहरू हेरेर वित्ने आफ्नो सामान्य दिनचर्याबाट दुइदिन खर्च गरेर यो निबन्ध तयार पार्न बस्दा राजनीति बाहेक अर्को कुन विषयमा लेखुं भन्ने अलमल आफूलाई परेको दिपक बताउंछन्।

अंकलाल चलाउने

अंकलाल चलाउने

दुर्गम हिमाली जिल्ला डोल्पाको एउटा विकट गाउं लाहां, फुल्चींगका बासिन्दा अंकलाल चलाउने डोल्पाकै लिकुस्थित जनप्रभा उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन्।

अंकलालको घरबाट विद्यालयसम्म पुग्न एक दिन हिंड्नु पर्छ त्यसैले उनी आफ्ना अध्यापकहरूलाई खाना पकाउने काम गरेर उनीहरूकै साथ विद्यालय नजीक बस्ने गर्छन्। अंकलालको बाहिरी विश्वको ज्ञान र जानकारीको स्रोत पुस्तकहरु र शिक्षकको घरमा रहेको रेडीयो र टेलिभिजन मात्रै हो।

निबन्ध रेकर्ड गराउन अंकलाल विद्यालयबाट एकदिनको बाटो हिंडेर सदरमुकाम दुनै आई जीवन मैं पहिलो पल्ट हवाईजहाज चढेर नेपालगञ्ज पुगेका थिए। त्यसअघि उनले शहर बजार देखेका थिएनन्। नेपालगञ्जमा नै उनले सबभन्दा पहिले साइकल र मोटरगाडी देखे, टेलिफोनमा कुराकानी गरे र शहरी जीवनको झलक पाए।

प्रतिभा सुवेदी

प्रतिभा सुवेदी

चितवनको माडीमा जन्मिएर हाल काठमान्ण्डौस्थित सिद्धार्थ बनस्थली इन्स्टिच्युटमा कक्षा नौमा अध्ययनरत छात्रा प्रतिभा सुवेदी सानै छंदा उनको परिवारसंगै काठमाण्डौं आएकी थिइन्। प्रतिभाले प्रतियोगीतामा आफ्नो निबन्ध अलि भिन्न खालको हुनुपर्छ भनेर निकै समय लगाएको बताइन्।

स्नायु चिकित्सक (Neurologist) बन्न चाहने प्रतिभा आफ्नो निबन्धको लागि प्रेरणा आफूले हेर्ने जानकारीमूलक टेलिभिजन कार्यक्रम र विदेशबाट आएर आफ्ना बुवाले सुनाएका देश-विदेशको चालचलनको वर्णनबाट मिलेको बताएकी छिन्।

सावित्री पौडेल

सावित्री पौडेल

ललितपुरस्थित नमुना मच्छिन्द्र आवासीय माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत धादिङ, केबलपुरकी दृष्टिविहिन छात्रा सावित्री पौडेलका दिदी र भाई पनि नेत्रहीन छन्। उनीहरू बोल्न पनि सक्दैनन्।

त्यसैले आफू राम्ररी पढेर प्राध्यापक बन्ने र दिदी-भाईको हेरविचार गर्न सक्षम हुने चाहना रहेको उनी बताउंछिन्। सावित्रीले नेत्रहीनहरूले प्रयोग गर्ने ब्रेल लीपीमा लेखिएको आफ्नो निबन्धका अक्षरहरू हातले छोएर पढ्दै रेकर्ड गराएकी थिइन्।

उनी हाल ललितपुरको ढोलाहिटीमा अनाथ बालबालिका र बृद्धहरूका लागि संचालित एउटा आश्रममा बस्ने गर्छीन्। आफ्नो फुर्सदको समय पनि ब्रेललीपीमा कविता, लेखहरू लेखेर विताउने गरेको सवित्रीले बताइन्।

केशवराज जोशी

केशवराज जोशी

कन्चनपुरको रामपुर, बिलासीपुर गाविस, घर भै बांसबारी माध्यमिक विद्यालय, काठमाण्डौमा कक्षा १० मा अध्ययनरत केशवराज जोशी दुई बर्षअघि पढाइको ‌सिलसिलामा काठमाण्डौं आएका हुन्।

केशवराज भन्छन्, माओवादीहरूले उनीहरूसंगै लैजालान कि भन्ने डर संधै भैरहेकोले दाईको जोडमा उनले कन्चनपुर छोडेका थिए।

फुर्सदका समय विताउने आफ्नो तीनवटा सोख भएको केशवराज बताउंछन्। विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक दर्शनबाट प्रभावित भएर राजनीतिक छलफलग गर्ने, नारायण गोपालको गित सुन्ने र लक्ष्मीप्रसाद देवकोटाको रचना पढ्ने। त्यसैले उनले ति तिनै जनाको नाउंको पहिलो अक्षरबाट आफ्नो उपनाम राखेका छन् - 'विनाल'।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस् छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>