“युद्धविराम प्रकृया” मा सहमति: पोरोशेन्को

पुटिन र पोरोशेन्को
रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति पोरोशेन्कोबीच टेलिफोन वार्ता भएको थियो

युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले पूर्वी युक्रेनमा युद्ध विराम गर्ने प्रकृयाका बारे रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसंग सहमति भएको घोषणा गरेका छन्।

राष्ट्रपति पोरोशेन्कोको वेबसाइटमा पहिले दुई राष्ट्रपतिबीच स्थायी युद्धविराम गर्न सहमति भएको लेखिएको थियो।

तर पछि त्यस्तो अभिव्यक्तिलाई संशोधन गरेर दुवै पक्षबीच शान्ति तर्फ अग्रसर हुन आपसी सहमति भएको भनिएको छ।

क्रेमलिनले पनि राष्ट्रपति पुटिनले कुनै संघर्षविराममा सहमति नजनाएको किनभने रुस युक्रेन संकटको हिस्सा नभएको भन्नेमा जोड दिंदै प्रतिक्रिया जनाएको छ।

“समान धारणा”

रुसी भाषामा सार्वजनिक गरिएको एक वक्तव्यमा क्रेमलिनले बुधबार दुई राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको भन्दै त्यसक्रममा संकट समाधानका सम्भावित उपायहरुका बारे दुवै जनाको धारणा “उल्लेख्य रुपमा समान” रहेको बताएको छ।

पूर्वी युक्रेनमा युक्रेनी सेना

डोनेत्स्क र लुहान्स्कमा रहेका विद्रोहीहरुले पनि सरकारले त्यहांबाट सेना फिर्ता नलगेसम्म कुनै संघर्षविराम हुन नसक्ने भनेका मस्कोबाट बीबीसीका स्टीभ रोजेनबर्गले जनाएका छन्।

एउटा रुसी समाचार एजेन्सी रिया-नोभोस्तीसंग कुरा गर्दै विद्रोहीहरुका एकजना प्रवक्ताले युक्रेनको पूर्वमा रहेका सैनिकहरुमाथि राष्ट्रपति पोरोशेन्कोको पूर्ण नियन्त्रण रहेकामा आफू विश्वस्त नभएको बताएका छन्।

प्रतिबन्ध

युरोपेली संघको विदेश नीति प्रमुख क्याथरिन एशटनका एकजना प्रवक्ताले युक्रेनमा युद्धविरामको कुरा पक्का नभएकाले रुस विरुद्ध लगाइने नयां प्रतिबन्धहरुमाथिको काम जारी नै रहने बताएकी छिन्।

हाल एस्तोनिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले युक्रेनमा पृथकतावादीको छद्मभेषमा रुसले आफ्ना सैनिकहरु पठाउन जारी नै राखेसम्म कुनै सहमति हुन सम्भव नरहेको बताएका थिए।