यातायात भाडा बढाउने निर्णयको विरोध

  • 3 सेप्टेम्बर 2014
सार्वजनिक यातायात
केहि महिना अघि नै बढ्नु पर्ने सार्वजनिक यातायातको भाडादर अब बढ्न लागेको अधिकारीहरुको भनाइ छ

चाडबाडको मुखमा प्लेनको भाडादरमा बृद्धि भए लगत्तै अब सरकारको स्वीकृतिमा सार्वजनिक बसहरुमा पनि भाडा बढ्ने भएको छ।

त्यस लगत्तै सरकार र यातायात व्यवसायीको सहमतिमा सार्वजनिक यातायतका साधनहरुमा बढीमा ६ प्रतिशतले भाडा बढ्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ।

दसैं तिहार लगायत ठूला चाडको मौका छोपेर भाडा बढाइनु ठगी भएको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले असन्तुष्टी जनाएका छन्।

समायोजन

विमान सेवा सञ्चालकहरुले इन्धनको मुल्य बढेको भन्दै दशैं अघि नै आन्तरिक उडानमा भाडा वृद्धि गर्ने घोषणा गरेका थिए।

सरकारले केहि दिन भित्रै सार्वजनिक यातायतहरुमा भाडा बढाइन लागेको भन्दै त्यसलाई स्वभाविक कदम भनेको छ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले पहिले नै हुनु पर्ने मुल्य बृद्धि अझ ढिलो हुन गएको बताए।

उनले भने, “६ महिना पहिले इन्धनको मुल्य बढ्यो। अनि एक महिनापछि प्रक्रिया पुर्याएर पाँच महिना पहिले नै मुल्यबृद्धि गरीदिनु पर्थ्यो।

स्पेयर पार्ट्स, गाडीको र श्रमिकको मुल्य साउनमा एकै पटक समायोजन गरौंला भनेपछि उहाँहरु सहमत हुनुभयो। त्यसकारण अहिले बढेको हो।”

प्रत्येक आर्थिक वर्षको सुरुमा र पेट्रोलियम पदार्थको मुल्य बृद्धिको अवस्थामा भाडा समायोजन गर्ने सम्झौता सरकारसँग भएको र त्यस अनुसार नै अहिले भाडा बढाउन लागिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।

शोषण

अध्यक्ष कर्माचार्यले भने, “भाडा बढाउनमा ढिलाई भए पनि हामीले सहेर बस्यौं। साउनदेखि ताकेता गरे पनि अहिले बढ्ने भयो।”

दशैँ र तिहारको समयमा मुख्य गरी लामो दुरीका सार्वजनिक सवारी साधनहरुमा चाड पर्व मनाउन घर जाने मानिसहरुको घुइचोँ हुने गर्छ।

यस्तो मौकामा भाडा बढ्नु यात्रुहरुमाथीको चरम शोषण हुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए।

उनले भने, “यो अप्राकृतिक हो। उपभोक्तामाथि शोषण गर्ने प्रवृत्तिलाई सरकार आफैले सरकार आफैले लालमोहर लगाउने काम गर्दैछ।

यो सोह्रै आना गलत हो।”

प्रत्येक बर्ष चाडवाडको बेलामा तोकिएको भन्दा बढी मुल्यमा टिकटहरु विक्रि गरिने गरेको कतिपय यात्रुहरुले गुनासो गर्ने गरेका छन्।