‘मोदीको भ्रमण आपसी सम्बन्धमा महत्वपूर्ण’

  • 1 अगस्ट 2014
ca
मोदीले संविधानसभा-व्यवस्थापिका संसदलाई पनि सम्बोधन गर्नेछन्

नेपाल र भारतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिएको बताउंदै त्यसले द्धिपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने आशा व्यक्त गरेका छन्।

मोदीको भ्रमण सुरु हुनु दुई दिनपूर्व शुक्रबार नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले काठमान्डु र दिल्लीमा पत्रकार सम्मेलन गरी त्यस्तो धारणा राखेका हुन्।

मोदीको दुई दिने नेपाल बसाइमा उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु हुनुका साथै केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

विश्वास

एकघण्टामात्रै अघि पछि दुबै मुलुकका राजधानीहरुमा मोदीको भ्रमणबारे औपचारिक जानकारी दिइएको थियो।

काठमान्डुमा मोदीको भ्रमणबारे जानकारी दिन पत्रकारसम्मेलनमा उपस्थित परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले १७ वर्षपछि प्रधानमन्त्री तहमा भारतबाट हुन लागेको दौडाहाले द्धिपक्षीय सम्बन्धमा पूर्ण विश्वासको वातावरण तयार पार्ने आशा व्यक्त गरे।

उनले भने, “दुई देशबीचको दौत्य सम्बन्ध सुदृढ पार्ने तथा दुई पक्षबीच एकले अर्कोलाई पूर्ण विश्वास गरेर अघि बढ्ने आधार यो भ्रमणले तयार पार्ने आशा गरेका छौं”।

दिल्लीमा पनि भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैय्यद अकबरुद्धिनले मोदीको भ्रमणलाई छिमेकप्रति नयां भारतीय सरकारले दर्शाएको उच्च प्राथमिकताका रुपमा अर्थ्याए ।

उनले भने, “प्रधानमन्त्रीले भारतबाहिरको पहिलो भ्रमण भुटानमा गरे र अहिले फेरि अर्को दक्षिण एसियाली छिमेकी देशमा हुन लागेको भ्रमणले भारतले छिमेकप्रति देखाएको उच्च प्राथमिकता झल्काउंछ”।

तालिका

आइतबार त्रिभुवन विमानस्थलमा आफ्नो विशेष विमानबाट उत्रिदैं गर्दा मोदीलाई स्वागत गर्न स्वयम् प्रधानमन्त्री सुशील कोइराला पुग्ने कार्यक्रम छ।

केहीवर्षअघि तात्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपाली समकक्षी गिरिजाप्रसाद कोइरालालाई दर्शाएको त्यस्तै सम्मान नेपाल भारत सम्बन्धमा विरलै हुने गर्छ।

अधिकारीहरुका अनुसार आइतबार कोइरालासंग मोदीको एक्लाएक्लै कुराकानीसहित दुवै मुलुकका टोलीबीच वार्ता पनि हुनेछ र सम्भवत: केही सम्झौतामा हस्ताक्षर पनि।

परराष्ट्रमन्त्री पाण्डेले केही समययता विवादको केन्द्रमा रहेको उर्जा व्यापार सम्झौतामा पनि हस्ताक्षर हुने आशा जनाए।

आइतबारै मोदीले संविधानसभा-व्यवस्थापिका संसदलाई सम्बोधन गर्नेछन्।

विक्रम सम्वत् २०४६ पछिको नेपाली संसदीय इतिहासमा संसदलाई सम्बोधन गर्ने उनी पहिलो विदेशी सरकार प्रमुख हुनेछन्।

भ्रमणको अन्तिम दिन सोमबार स्वदेश फर्कनुअघिसम्म उनले पशुपतिनाथको दर्शनदेखि लिएर राष्ट्रपति र विभिन्न दलका शीर्ष नेताहरुसंगको भेटवार्ता सक्ने अधिकारीहरुले जनाएका छन्।