तालिमपछि कृषिमा रुपान्तरणको अपेक्षा

पहिलो चरणमा तालिम लिएका विद्यार्थीहरुको टोली अघिल्लो महिना घर फर्किएको छ

इजरेलमा १० महिने कृषि तालिम लिएर फर्किएका युवाहरुले त्यहाँबाट आफूले सिकेको सीप र कमाएको रकमलाई लगानी गरेर आफ्नै गाउँ ठाउँमै खेतीपाती सुरु गर्ने योजना बुनिरहेको बताएका छन्।

पहिलो चरणमा ५५ जना नेपाली युवालाई आफ्नो देशका कृषि फार्महरुमा काम सिकाएको इजरेलले यस बर्ष ५ सय जना भन्दा बढिलाई लैजान लागेको जनाएको छ।

मरुभूमि समान पानीको अभाव रहेका क्षेत्रहरुमा समेत कृषि विकास गरेर चमत्कार गरेको इजरेलबाट यथोचित सीप र तालिमप्राप्त जनशक्ति सक्रिय भए नेपालको कृषि क्षेत्रले फड्को मार्न सक्ने अधिकारीहरुको विश्वास छ।

कृषिमा समेत निर्यातभन्दा चार गुणा ज्यादा आयात हुन थालेपछि नेपालको व्यापार घाटा एक वर्षको बजेट जति हुन थालेको बेला कृषिमा नयाँ प्रविधि र सीप विकासको माग निकै चर्किन थालेको छ।

योजना

स्नातकोत्तरको अध्ययन सकेका धादिङ नलाङका शंकर सिलवाल गाउँमा फाट्ट फुट्ट सामजीक काम गर्थे।

हालै इजरेलमा व्यवसायिक कृषि तालिम पुरा गरेर फर्किएका उनी अहिले गाउँघरबाटै कृषि क्रान्ति गर्ने सपना बुन्दैछन्।

गाउँका विद्यार्थीलाई प्रयोगात्मक शिक्षा अन्तर्गत घरमा तरकारी उब्जाउन लगाउने देखी स्थानीय सामुदायिक विद्यालयको जग्गामा व्यवसायिक खेती सुरु गराउने उनको योजना छ।

“विद्यालयको जग्गामा अहिले हामीले नास्पाती, खोर्सानीहरु लगाइरहेका छौँ, अब त्यहाँ कफि वा अङ्गुर के लगाउने भनेर हामी छलफल गरिरहेका छौँ।”

इजरेल सरकारको संयोजनमा १० महिना लामो कृषि तालिम लिएर फर्किएका धादिङ्ग र मकवानपुरका विद्यार्थीहरुको अहिले शंकरले जस्तै कृष‌िमा नै केही गर्ने योजना बनाइरहेका छन्।

इजरेलको कृषि फारममा उत्पादन गरिएको भेंडे खोर्सानी। फोटो साभार: शंकर सिलवाल

बज्रवाराही मकवानपुरकी सविता बिडारीले गाउँमा नै इजरेलमा सिकेको भिडेँ खोर्सानीको खेती सुरु गर्ने योजना बनाएकी छन्।

स्नातक दोस्रो बर्षको पढाइ सकेकी उनी भन्छीन्,“हामीसँगै तालिम गरेका ३ जना साथीहरु एकै ठाउँका छौँ, गाउँमा नै थोरै जग्गामा अर्गानिक रुपमा भेंडे खोर्सानी लगाएर हेर्ने योजना बनाएका छौँ।”

उनीहरु मध्ये कतिले चाँही घरमै अहिले गरिरहेको कृषि व्यवसायलाई अझ व्यापक गर्ने लक्ष्य लिएका छन्।

धादिङ सलाङका अनिल थापाले अहिले घरमा बुवाआमाले गरिरहेको बाख्रा पालनलाई थप उन्नत बनाउने सुर कसेका छन्।

“उन्नत जातका बोका र पाठाहरु थप्ने भन्ने घरमा कुरा भैरहेको छ, साथीहरुसँग पनि कुरा गरिरहेको छु।”

कृषि रेडियोमा काम गरिरहँदा तालिममा छानिएका धादिङ केवलपुरका उपेन्द्र अधिकारीले एक समय गोलभेंडाको व्यवसायीक खेती गरे।

अब उनी अदुवा खेतीदेखि लिएर कृषि र पर्यटन मिलाएर "फार्म स्टे" शुरु गर्ने योजनामा छन्।

इजरेलमा नै काम गर्दा बचाएको केही पैसा लगानी गर्ने उनले बताए।

१० महिने तालिम अवधिभर साताको पाँच दिन मरुभूमीमा बनाइएका इजरेली कृषि फारममा काम गरेका उनीहरुले एक दिन कक्षा कोठामा र हप्ताको एक दिन छुट्टी मानेर बिताए।

प्लास्टिकका हरित घरहरुमा गोलभेंडा, भेंडे खोर्सानी र छोकडा खेतीमा काम गरेका उनीहरुले थौरै पानीको प्रयोग गरी कसरी पर्याप्त सिचाँइ गर्न सकिन्छ भन्ने सिकेका छन्।

अपेक्षा

धादिङका उपेन्द्र अधिकारीले अदुवा खेती वा फार्म स्टे सुरु गर्ने योजना बनाएका छन्। फोटो साभार: उपेन्द्र अधिकारी

प्लेन भाडा देखि अध्ययन खर्च आफ्नै पैसाबाट जोहो गरेका सहभागीहरुले दश महिनामा झन्डै पाँच लाख देखि सात लाख रुपियाँ कमाएरपनि ल्याएका छन्।

उक्त सिप नेपाली किसानहरुको लागी उपयोगी हुने र आफूहरुले सिकेको ज्ञान सहभागीहरुले अरुसँग पनि बाँडेको हेर्न चाहेको काठमाण्डू स्थित इजरेली दुतावासका उपप्रमुख निटजान अर्नीले बीबीसी नेपाली सेवालाई बताए।

उनले भने, “सहभागीहरुले नेपालका अरु किसानहरुलाई आफूले सिकेको जानकारी बाँडून र खेतिपातिमा नै सक्रिय हुन् भन्ने हामी चहान्छौँ, हाम्रो कार्यक्रमको मुख्य उद्देश्य नेपालमा सिमानतिकृत रुपमा रहेका कृषकहरुको जिवनमा परिवर्तन आओस भन्ने हो।”

सन् २००२ मा नै सुरु गरेर विचमा विभिन्न कारणले रोकिएको कृषि तालिम इजरेलले अघिल्लो बर्षबाट फेरी उपलब्ध गराउन सुरु गरेको हो।

अहिलेसम्म २०० जना सहभागी भैसकेको उक्त तालिमका लागि यो बर्ष थप ५ सय जनालाई लैजाने इजरेली दुतावासले जनाएको छ।

त्यसका लागी २१ वटा जिल्लाका साना किसानका परिवारबाट युवाहरु छानिएको र उनीहरुले भविष्यमा कृषिमा ठूलो परिवर्तन ल्याउने आशा रहेको उनीहरुलाई इजरेल पठाउन समन्वयात्मक भूमिका खेलिरहेको साना किसान बिकास बैँकका प्रमुख कार्यकारी अधिकृत जलान कुमार शर्माले बताए।

“कृषिमा रुपान्तरण गर्न युवा पुस्ताको खाँचो छ, हाम्रा किसानले राम्ररी खेतिपाति गर्ने भन्ने देखेका छैनन् त्यही भएर इजरेलबाट देखेर सिकेको ज्ञानले नेपालमा ठूलो परिवर्तन ल्याउन सक्छ।”

सहयोग

सरकारी आकाँडा अनुसार नेपालमा झन्डै साढे ३८ लाख परिवार कृषिमा आश्रित छन् जसमध्ये पछिल्लो १० बर्षमा मात्र झन्डै साढे चार लाख परिवार कृषि पेशामा थपिएका छन्।

कृषिलाई पेशा बनाउने मानिसहरुको संख्या बढेपनि उत्पादन घट्दै जाँदा पछिल्लो समयमा कृषिजन्य वस्तुको व्यापारमा मात्रै नेपालले वर्षको ७५ करोड रुपियाँको घाटा खाएको छ।

सहभागीहरुले हप्ताको पाँच दिन कृ‌षि फार्ममा काम गरेका थिए। फोटो साभार: शंकर सिलवाल

त्यो बढ्दो असन्तुलन कम गर्न संघर्ष गरिरहेको सरकारले यस बर्ष कृषि औजारमा कर मिनाहा लगायतका व्यवस्था बजेटमा नै गरेको छ।

कृषिमन्त्री हरिप्रसाद पराजुलीले इजरायल लगायत विदेशबाट कृषि तालिम लिएर फर्किएर यहाँ व्यवसाय सुरु गर्न इच्छुक झन्डै ८ हजार युवालाई सरकारले डेढ लाख रुपियाँसम्म अनुदान उपलब्ध गराउने निर्णय गरेको बीबीसीलाई बताए।

“कृषिमा युवालक्षित कार्यक्रम अन्तर्गत उनीहरुलाई प्रोत्साहन स्वरुप डेढ लाख रुपियाँ दिने व्यवस्था गरेको छ, त्यसै गरी युवा स्वरोजगार कार्यक्रम अन्तर्गत अर्थ मन्त्रालयले थप दुई लाख दिन सक्ने गरी हामीले नीतिगत निर्णय गर्न लागेका छौँ।”

देश निर्माणको मेरुदण्ड मानिने युवा पुस्ता मुलुकभित्र रोजगारीको अवसर नहुदाँ दिनहुँ १५ सय भन्दा बढिको संख्यामा बिदेशमा पसिना बगाउन गैरहेका छन्।

इजरेलबाट आफ्नै समकक्षीहरुले भित्र्याएको अनुभव नेपाली माटोमा खन्याउन सके भने त्यो पलायन हुन बाध्य युवाशक्तीको लागी प्रेरणाश्रोत बन्न सक्ने ठानिएको छ।