ऊर्जा व्यापार सम्झौता हुन्नः ऊर्जा मन्त्री

ऊर्जा मन्त्रालयले भारतीय प्रस्तावबारे हालै जवाफ पठाएको बताइएको छ

निकै चासोका साथ हेरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका क्रममा द्धिपक्षीय ऊर्जा व्यापार सम्झौता गर्ने पूर्व तयारी भएको बताइएपनि अब त्यस्तो सम्भावना टरेको ऊर्जा मन्त्री राधा ज्ञवालीले बताएकी छिन्।

बीबीसीसँग आईतबार विशेष कुरा गर्दै मन्त्री राधा ज्ञवालीले ऊर्जा संम्बन्धी पछिल्लो भारतीय प्रस्तावबारे आफुहरुले जवाफ पठाइसकेपनि भारतीय पक्षले समय थोरै रहेकाले मोदीको भ्रमणका बेला सम्झौता नहुने जनाउ दिएको बताएकी हुन्।

दुई दिने औपचारिक भ्रमणका लागि मोदी अर्को साता नेपाल आउँदैछन्।

उक्त भारतीय प्रस्तावका केही बुँदा नेपालको जलस्रोतमा एकाधिकार कायम गर्ने आशयको भएको भन्दै कतिपयले तीखो आलोचना गरेका छन्।

सम्झौता

आलोचनापछि नेपाली पक्षले भारतीय प्रस्तावमा बुँदा थप तथा भाषा संशोधन गर्दै आफ्ना पक्षको धारणा पठाइसकेको अधिकारीहरुले बताएका छन्।

त्यसको पुष्टि गर्दै ऊर्जामन्त्री राधा ज्ञवालीले आफूहरुले जवाफ पठाइसकेपनि भारतीय पक्षले मोदी आएका बेला सम्झौता हुने सम्भावना नरहेको बताएको जानकारी दिइन्।

भारतीय राजदूतले आफूसंग राखेको धारणाबारे उनले भनिन्, ''राजदूतजीले अब त छोटो समय छ। उहाँ त आइहाल्नुहुन्छ। यसपटक लाग्दैन होला भन्ने हिसाबले कुरा गर्नुभयो।''

समय नतोकेपनि शनिबार बसेको विदेशमन्त्रीस्तरीय द्धिपक्षीय संयन्त्र जोइन्ट कमिसनले भने उर्जा व्यापार सम्झौताको भाषालाई सक्दो छिटो अन्तिम रुप दिने सहमति गरेको थियो।

ढिलाई

त्यसै लयमा कृषि तथा ऊर्जा हेर्ने संसदीय समितिले आइतबार उक्त सम्झौतामा ढिलाइ भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ।

समितिका सचिव रामशरण घिमिरेले भने, "नेपालको सर्वोपरि राष्ट्रिय हित सुनिश्चित हुने गरी भारत लगायत छिमेकी देशसँग विद्युत व्यापार सम्झौता गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिने भन्ने समितिले निर्णय गरेको छ।"

उक्त सम्झौताबारे टिकाटिप्पणी भइरहँदा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणमा सहभागी भारतीय अधिकारीहरुले दुबैलाई फाइदा हुने गरी बजार मूल्यमा विद्युत किन्न भारत तयार रहेको बताएका थिए।

उक्त सम्झौताबारे ठोस केही नभएको देखिएपनि स्वराज आफ्नो नेपाल बसाइ अत्यन्तै फलदायी भएको निष्कर्ष सुनाउंदै आईतबार स्वदेश फर्किएकी छन्।