एमाले महाधिवेशनमा चुनावी प्रकृया सुरु

  • 9 जुलाई 2014
एमालेले ७० वर्षको उमेर हदको व्यवस्था पनि पारित गरेको छ।

काठमाडौंमा जारी नेकपा एमालेको नवौं महाधिवेशन समापन हुने भनिएको दिन बुधबार साँझदेखि मात्रै निर्वाचन प्रकृयाका लागि बाटो खुलेको छ।

अध्यक्ष पदका दावेदार वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली पक्षबीच पदाधिकारी संख्यामा कुरा नमिले पछि अन्तत: उक्त दलको विधान संशोधनसम्बन्धी प्रस्तावलाई बन्द सत्रमा पेश गरी पारित गरिएको थियो।

मतपत्रबाट चुनाव गर्दा कम्तीमा पनि चारदिन लाग्ने नेताहरुले बताएका छन् भने वार्षिक बजेट ल्याउने तयारीमा सरकार रहेका बेला उनीहरुलाई महाधिवेशन छिटो टुंग्याउन दबाब परेको बताइएको छ।

बाटो

पदाधिकारी संख्या बढाउँदा त्यसले व्यवस्थापनमा समस्या हुने तर्क गर्दै आएका संसदीय दलका नेता केपी ओली पक्षले अन्तत: १५ जना पदाधिकारी हुने भन्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको मागमा सहमति जनाएको छ।

बिहीबार पारित विधान संशोधन सम्बन्धी प्रस्ताव अनुसार अब १ सय ५९ जनाको केन्द्रीय कमिटि हुनेछ।

नेपाल पक्षका भनिएका नेता घनश्याम भुसालले भने, “अबको पदाधिकारीमा १ जना अध्यक्ष, १ जना वरिष्ठ नेता, पाँच उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ५ सचिव हुने व्यवस्था भएको छ। ”

सरकारले आईतबार बजेट ल्याउने तयारी गरेपछि महाधिवेशन छिटो टुंगो लगाउन आफूहरुलाई दबाब परेको नेता भुसालले बताए।

त्यसकै लागि दुबै पक्ष पक्ष आ–आफ्नो प्यानल बनाउने तयारीमा जुटेका छन्।

लम्बियो

ओली पक्षको भनिएका नेता शंकर पोखरेल भने, “सम्पूर्ण दस्तावेजहरु पारित भए। अब निर्वाचनको लागि क्षेत्र निर्धारण गर्ने पनि टुंगिएको छ। अब बिहीबारबाट निर्वाचन सुरु हुने र शुक्रबारबाट मतदान सुरु हुन्छ।”

कार्यतालिका अनुसार प्रकृया सिध्याएर विद्युतीय मतदानबाटै चुनाव भएको भए नेकपा एमालेले बुधबार नयाँ नेतृत्वसहित नवौं महाधिवेशन टुंगिएको घोषणा गर्नुपर्थ्यो।

रोबोट उडाएर कार्यक्रम सुरु गरेको एमालेले सुरु देखि नै यसपटक विद्युतीय मेसिनबाट चुनाव गराउने बताउँदै आए पनि अब त्यो सम्भावना टरेपछि महाधिवेशन केही दिन लम्बिने निश्चित देखिएको छ।