अमेरिका जाने विमानस्थलमा कडा सुरक्षा

  • 3 जुलाई 2014
नयाँ सुरक्षा व्यवस्थाका कारण यात्रुहरु निकै बेरसम्म लाममा बस्नुपर्ने ब्रिटेनका अधिकारीहरुले बताएका छन्

आक्रमणको खतरा रहेको सूचनाका आधारमा अमेरिकाका लागि सीधा उडान भर्ने ब्रिटेनसहितका विदेशी विमानस्थलहरुमा सुरक्षा व्यवस्था कडा पार्न थालिएको अधिकारीहरुले बताएका छन्।

विश्वासयोग्य सुरक्षा खतरा रहेको भनी अमेरिकी चेतावनीपछि त्यस्तो कदम चालिएको बताइएको छ।

ब्रिटेनका यातायात मन्त्री प्याट्रिक मक लग्लिनले नागरिको सुरक्षाको लागि त्यस्तो कदम चाल्न लागिएको बताए।

सुरक्षाका कस्ता कदम चालिनेबारे स्पष्टरुपमा केही नबताएपनि त्यसका कारण यात्रुहरुलाई ठूलो असुविधा नहुने उनले बताए।

सुरक्षा

सिरिया र यमनका अलकायदा सम्बद्ध लडाकु समूहहरुले विमानहरुबाट ओसारपसार गर्न मिल्ने बम बनाउन लागेको भनी अमेरिकी सञ्चारमाध्यममा आएको सामाचारपछि पछिल्लो सुरक्षा कदम चाल्न लागिएको बताइएको छ।

अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालयका एक अधिकारीले विश्वासयोग्य खतराको संकेत पाएर सुरक्षा कदम चाल्न लागिएको बताए।

उनले हवाइ उड्डयन अन्तर्राष्ट्रिय आतंकवादीहरुका लागि आकर्षक निशानाको रुपमा रहेको जनाए।

ब्रिटेनका यातायात मन्त्री मक लग्लिनले सुरक्षाका कडा कदमहरु भने यसअघि नै चालिसकिएको तर ब्रिटेनले प्राप्त सूचना र सुझावका आधारमा पनि कदम चाल्ने बताए।

यात्रु

अमेरिकी आन्तरिक सुरक्षामन्त्री जे जोनसनले सुरक्षा कदमले यात्रुहरुलाई केही मात्रामा मात्र कठिनाइ हुने गरी काम गर्ने बताएका छन्।

उनले विदेशी सहयोगी मुलुकहरुसँग सम्बन्धित सूचना आदानप्रदान र नागरिक उड्डयन उद्योगसँग परामर्श गरिरहेको बताए।

अमेरिकी पूर्वविदेशमन्त्री हिलरी क्लिन्टनले उक्त खतरालाई आफूले गम्भीरतापूर्व लिएको बताएकी छन्।

उनले भनिन्, ''हामी सजग हुनुपर्छ। र सौभाग्यवश हामी खतराहरुको सामना गर्नुपर्ने अवस्थामा नभइदिएको भए कति राम्रो हुन्थ्यो। हामीलाई हानी पु-याउन चाहनेहरुसँग नयाँ प्रविधिमा तथा हिंसा फैलाउने विधिसम्म व्यापक पहुँच नभएको भए जाति हुन्थ्यो।''

सुरक्षाका उपायहरुबारे विस्तृतरुपमा नभनेपनि जोनसनले यात्रुहरुको पूर्णरुपमा शरीर जाँच, जुत्ता तथा विद्युतीय उपकरणहरुको जाँच गरिने बताए।

ब्रिटिश सरकारले सुरक्षाका लागि अवलम्बन गरिने थप उपायबारे केही नबताएपनि सुरक्षा जाँचका लागि लामो लाममा बस्नुपर्ने कुरा अस्वीकार गरेको छैन।

यातायात मन्त्रालयबाट जारी विज्ञप्तिमा सुरक्षा जाँचका कारण अधिकांश यात्रुहरुले खासै कठिनाइ भोग्नु नपर्ने कुरा मात्र उल्लेख छ।

अमेरिका जाने उडानको हकमा सुरक्षाका थप उपायहरु अवलम्बन गरिएपनि त्यसले सबै यात्रुहरुलाई असर पार्ने समाचारमा जनाइएको छ।