'ढुंगा-बालुवा निकाल्ने नयाँ ठाउँ खोजौं'

  • 6 मे 2014
नदीमा बाढी
जथाभावि ढुंगा-बालुवा र गिट्टी निकाल्नाले भूक्षय, पहिरो र बाढी जस्ता प्राकृतिक प्रकोपको खतरा बढाउने बताइन्छ

चुरे क्षेत्रबाट ढुङ्गा-वालुवा निकाल्न सरकारले लागू गरेको मापदण्ड अनुसार काम गर्न नसकिने भन्दै क्रसर व्यवसायीहरुले उद्योग बन्द गरेर विरोध जनाईरहेका बेला वन मन्त्रालयका एक उच्च अधिकारीले वैकल्पिक क्षेत्रको खोजी भइरहेको बताएका छन्।

क्रसर व्यवसायीहरुले भने सरकारले लागू गरेको मापदण्ड नै खारेज गर्नु पर्ने माग राखेका छन्।

सरकारले दश महिनाअघि नै लागू गरेको मापदण्ड अनुसार राजमार्ग र खोला किनारबाट पाँच सय मिटर र बिजुलीको हाइटेन्सन लाईनबाट एक सय मिटर परबाट मात्रै उत्खनन् गर्न पाइने व्यवस्था छ।

खारेज

त्यस्तै शिक्षण तथा स्वास्थ्य संस्था, धार्मिक, सास्कृतिक तथा पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन-निकुञ्ज तथा आरक्ष र घनावस्तीभन्दा दुई किलोमिटर परबाट मात्रै ढुङ्गा-गिट्टी निकाल्न पाइने व्यवस्था छ।

तर उक्त मापदण्ड अनुसार स्थान पाउन कठिन भएको भन्दै यसको खारेजीको माग राखि क्रसर व्यवसायीहरुले गएको एक सातादेखि उद्योग वन्द गरेर विरोध जनाउंदै आएका छन्।

सरकारले भने मापदण्ड खारेज नहुने संकेत गरेको छ।

वन तथा भू-संरक्षण मन्त्रालयका सचिव गणेशराज जोशीले भने, “चुरेबाहेकका अरु क्षेत्र पनि होलान नि, विकल्प पहिचान गर्नु पर्यो, हामी पनि गरौला, उहाँहरुले पनि गर्नु पर्यो।”

तयार

देशभरि रहेका झण्डै सात सय क्रसर तथा खानी उद्योगहरुमा करिब अस्सी अर्ब रुपैयाँ लगानी रहेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले जनाएको छ।

निर्माणकार्य तथा सयौं मानिसको रोजगारीसंग पनि प्रत्यक्ष जोडिएको ठानिएको क्रसर तथा खानी उद्योगलाई उत्पादनका लागि तत्काल विकल्प दिनुपर्ने माग महासंघको छ।

महासंघका अध्यक्ष उमेश शेरचन भन्छन्, “कुनै पनि विज्ञले यो ठाउँ छ भनेर विकल्प देखाइ देओस हामी त्यहाँ सर्न तयार छौं।”

क्रसर तथा खानी उद्योगबाट उत्पादन बन्द भएपछि, नियमित हुने घर तथा संरचना निर्माणका लागि अत्यावश्यक सामाग्रीको अभाव देखिन थालेको सरोकारवालाहरुले बताएका छन्।