हराइरहेका यात्रुको खोजी कार्य तीव्र

पछिल्लोपल्ट अपडेट गरिएको: 17.04.14, 09:04 NST सम्मका समाचार

रातभर खोजी कार्य जारी राखिएको भएपनि खासै सफलता हात परेन

दक्षिण कोरियामा झन्डै ५०० जना यात्रु सवार डुंगा पल्टिएपछि अझै बेपत्ता रहेका करीब ३ सय जना मानिसहरुको खोजीकार्य दोस्रो दिन पनि जारी रहेका विवरणहरु प्राप्त भएका छन्।

आपत्कालीन उद्धारकर्ताहरुले समुद्रको कम गहिरो क्षेत्रमा रहेको भनिएको उक्त डुंगाको भग्नावशेषमा अहिले आफ्नो खोजी कार्यलाई केन्द्रित गरेका छन्।

साथै उनीहरुले अब हराइरहेका मानिसहरु जीवितै भेट्टाउने सम्भावना एकदमै न्यून बन्दै गएको बताएका छन्।

झन्डै ४ सय ६० जना चढेको उक्त डुंगाबाट अहिलेसम्म १ सय ७९ जनालाई उद्धार गरिएको अधिकारीहरुले जनाएका छन्।

चिन्ता

सो डुंगामा यात्रा गर्नेमा अधिकांश स्कुले विद्यार्थी र शिक्षकहरु थिए।

एक जना वरिष्ठ उद्धार अधिकारीले हराइरहेका यात्रुहरु जीवितै फेला पर्ने सम्भावना निक्कै न्यून रहेको जनाए।

वरिष्ठ उद्धारकर्ता चो योङ बोले एएफपी समाचार संस्थालाई भने, “डुंगाभित्र च्यापिएका हुनसक्ने मानिसहरु अब जीवितै रह्ने सम्भावना निक्कै कम छ।”

"डुंगाभित्र च्यापिएका हुनसक्ने मानिसहरु अब जीवितै रह्ने सम्भावना निकै कम छ"

चो योङ बो, वरिष्ठ उद्धारकर्ता

दक्षिण कोरियाली प्रधानमन्त्रीले उद्धार कार्यमा पल पल खटिरहन र बेपताहरुलाई बचाउन कुनै कसर बाँकी नराख्न अधिकारीहरुलाई आग्रह गरेका छन्।

दक्षिण कोरियाको तटरक्षकका एक प्रवक्ताले बुधबार राती गोताखोरहरुले डुंगाभित्र छिर्न गरेको प्रयास पानीको कडा धारको कारण असफल भएको बताए।

उनका अनुसार पानीभित्रको धमिलो अवस्थाले पनि उद्धारकार्यलाई अप्ठेरो पारेको छ।

आपत्कालीन सहायता टोलीले एकदमै तेज प्रकाशको प्रयोग गरेर खोजी कार्य अघि बढाएको थियो।

अहिलेसम्म कम्तीमा ६ जनाको ज्यान गएको पुष्टि भएको छ र दर्जनौं घाइते भएका जनाइएको छ।

प्रयास

डुंगा भित्रको ३ वटा कोठाभित्र पसेका गोताखोरहरुले कुनै शव भेटाउन सकेका छैनन्।

जीवितै उद्भार गरिएका एकजना विद्यार्थीले भने, “डुँगाभित्र जारी गरिएको सूचनामा हामीलाई टक्क अडिनु भनिएको थियो, तर डुंगा डुब्न थालिसकेको थियो र त्यतिबेला सम्म धेरै विद्यार्थीहरु डुंगाबाट बाहिर निस्कनै सकेका थिएनन्।”

उत्तरपूर्वको इन्चियोन बन्दरगाहबाट दक्षिणी पर्यटकीय टापु जेजे तर्फ हिडेँको सो डुँगामा स्कुले बिद्यार्थी चढेका थिए।

उक्त डुँगा दुर्घटनाको खास कारण अझै थाहा भैसकेको छैन, तर प्रत्यक्षदर्शीहरुले डुँगा ढल्किएर डुब्नुअघि कतै ठोक्किएको जस्तो आवाज सुनेको बताएका छन्।

पछिल्लो प्रयास पानीको सतह भन्दा झन्डै ३० मिटर मुनी रहेको भनिएको डुँगाको भग्नावशेषमा च्यापिएका भनिएका मानिसहरु खोज्नमा केन्द्रित छ।

अमेरिकी जलसेनाले खोजी कार्यका लागी एउटा विशेष खालको पानीजहाज उपलब्ध गराएको छ र आवश्यकता अनुसार अन्य सहयोग उपलब्ध गराउन तयारीको अवस्थामा रहेको जनाएको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।