एउटा कथा जिन्दगीको

पुराना तथा नयाँ लेखक र प्रस्तोताहरुले यो श्रृङखलामा भाग लिएका छन्

नव बर्षको दिन २०७१ साल बैशाख १ गतेबाट बीबीसी नेपाली सेवाले नयाँ कार्यक्रम श्रृङखला “एउटा कथा जिन्दगीको” शुरु गरेको छ।

सुमन खरेलको परिकल्पना र संयोजनमा यो कार्यक्रम अब केही सातासम्म हरेक सोमबार साँझ प्रसारण हुनेछ।

आज भन्दा करीब ५० बर्ष अघि अर्थात २०२० सालतिर त्यस बेलाको एक मात्र प्रसारण संस्था रेडियो नेपालबाट एउटा नौलो शैलीको कार्यक्रम बज्दथ्यो – गीति कथा।

नेपाली गीतहरुको अभाव रहेकोले कथा नेपालीमा हुन्थ्यो अनि गीत चाहिं हिन्दी बज्दथ्यो।

रेडियोका पुराना प्रस्तोताहरुको भनाइमा त्यस पछि २०२६/२७ साल तिर कथा पनि नेपाली अनि गीत पनि नेपाली राखेर गीति कथाहरु बज्न थाले।

३० र ४० को दशकमा गीति कथा नेपाली घर-घरमा अति नैं लोकप्रिय कार्यक्रम बन्न पुगेको थियो।

त्यस बेलाका धेरै कथाहरु माया र विछोडमा केन्द्रीत हुने गरेको कुरा त्यस बेलाका प्रस्तोताहरु बताउँछन्।

हाम्रो प्रयास

केही सामाजिक समस्याहरुलाई प्रकाशमा ल्याउन रेडियो कार्यक्रमको त्यही पुरानो शैलीलाई बीबीसी नेपाली सेवाले एक पटक फेरि ब्युँझाउने प्रयास गरेको छ।

रेडियोकै केही पुराना गीति कथा लेखक तथा प्रस्तोताहरु अनि नयाँ लेखक तथा प्रस्तोताहरुलाई यो श्रृङखलामा ल्याएका छौं।

यादव खरेल, निरोधराज पाण्डे, प्रकाश सायमी, गीता त्रिपाठी, अखण्ड भण्डारी, मिथिला प्याकुरेल, मिथिला शर्मा, नवराज लम्साल, सुमन खरेल, खगेन्द्र नेपाली र प्राध्यापक अभि सुवेदीलाई यो श्रृङखलामा सुन्न सक्नु हुन्छ।

राजधानी बाहिरका लेखक कलाकारहरुलाई पनि यस श्रृङखलामा निम्त्याउने क्रममा विराटनगरकी सीमा आभास,धरानका प्रदीप मेन्याङबो र पोखराका साहित्यकार सरुभक्तले आ-आफ्नो गीति कथा प्रस्तुत गर्नेछन्।

सहकर्मी बिनिता दाहालको गीति कथा पछि अन्त्यमा पुराना कलाकार मदनदास श्रेष्ठको गीति कथासंगै “एउटा कथा जिन्दगीको” श्रृङखला समाप्त हुनेछ।

आशा छ, हाम्रो यो प्रयासबारे तपाईंका राय, सुझाव र सल्लाहहरु हामीलाई अवश्य प्राप्त हुनेछ।

एउटा कथा जिन्दगीको :

यादव खरेल: 14-04-14

प्रकाश सायमी: 21.04.14

गीता त्रिपाठी-28.04.14

अखण्ड भण्डारी-05.05.14

सुमन खरेल-12.05.14

मिथिला प्याकुरेल-19.05.14

निरोधराज पाण्डे-26.05.14

नवराज लम्साल-02.06.14

खगेन्द्र नेपाली-09.06.14

मिथिला शर्मा-16.06.14

प्रा. अभि सुवेदी-23.06.14

सीमा आभास-30.06.14

प्रदिप मेन्याङबो-07.07.14

सरुभक्त-14.07.13

बिनिता दहाल-21.07.14

मदनदास श्रेष्ठ-28.07.14