ठूला बांध: ब्रम्हपुत्रमा रस्साकस्सी

पछिल्लोपल्ट अपडेट गरिएको: 24.03.14, 10:47 NST सम्मका समाचार

ब्रह्मपुत्रको किनारमा पुगेर हेर्ने हो भने यो विशाल नदी कहाँबाट शुरु हुन्छ र कहाँ पुगेर अन्त हुन्छ भनेर भन्नै सकिन्न।

खासमा यो नदी धेरै पर तिब्बतको पर्वतीय क्षेत्रबाट उद्गम हुन्छ।

तर आसामको यस बाढीग्रस्त रहने समथर क्षेत्रमा आइपुग्दा आँखाले हेरेसम्मा जहिँतहीँ जलमग्न शिवाय केही देखिन्न।

पर क्षितिज सम्म पानी नै पानी देखिन्छ।

यहाँबाट यो नदी भारतको पूर्वोत्तर राज्य हुँदै बँग्लादेश पुग्छ जहाँ गँगा नदीसँग मिसिएपछि त्यहाँ विशाल डेल्टाको निर्माण हुन्छ।

शताब्दियौँदेखि ब्रह्मपुत्रले यस क्षेत्रको भूमि पोषित गर्दै आएको छ।

अनि यसको किनारमा रहेका मानववस्तीलाई पनि सिँचित गर्दै आएको छ।

तर आज जब भारत र चीनका अर्थतन्त्र तीव्र रुपले विस्तार हुन थालेका छन् तब आएर यो नदीलाई विशेषगरी उर्जाको स्रोतका रुपमा हेर्न थालिएको छ।

CLICKABLE

map for mobile

यरलुँग जाँगबोको उद्गम

Source of Yarlung Zangbo

यस नदीलाई चीनमा यारलुँग जाँगबो अनि भारतमा ब्रह्मपुत्रको नामबाट चिनिन्छ। यसले आफ्नो १७६० माइल (२८४० किलोमिटर) लामो यात्रा हिमालयको तिब्बती उच्च खण्डस्थित कैलाश पर्वत मुनिबाट शुरु गर्दछ।

जाँगमु बाँध

Zangmu dam

जलविद्युत विकासका निम्ति चीनले जाँगमु बाँध निर्माण गरिरहेको छ। यो परियोजना सन् २००९ मा शुरु भएको थियो। यसले तल्लो तटिय मुलुक भारतमा चिन्ता पैदा गरेको छ। छेउछाउमै अरु तीनवटा बाँध बनाउने योजना रहेको छ।

यारलुँग जाँगबोको ग्रेट बेँड

The Great Bend

यारलुँग जाँगबो जब चीन छाडेर भारतको अरुणाचल प्रदेशतर्फ लम्कन्छ र ब्रह्मपुत्र बन्न पुग्छ, त्यसको ठीक अघि यो नदी दक्षिणतर्फ नाटकीय ढँगले मोडिन्छ। यसै मोडलाई ग्रेट बेँड भनिन्छ।

आसामको चिया बगान

Assam tea gardens

आसामको कैयौँ चिया बगानलाई ब्रह्मपुत्रले सिँचित गर्दछ। नदीबाट हुने बाढी र कटानबाट ती प्रभावित हुने गर्दछन्।

सुबानसिरि बाँधस्थल

Subansiri dam site

भारतलेपनि उक्त नदीमा बाँधहरु बनाइरहेको छ – चीनको तुलनामा निकै धेरै। वर्षौँको विरोधपश्चात ब्रह्मपुत्रको सहायक नदीमा बनाउन लागिएको तल्लो सुबानसिरि बाँधको निर्माण रोकिएको छ।

गुवाहाटी शहर

Guwahati

आसामको सबभन्दा ठूलो शहर गुवाहाटीमा चीन विरोधी भावना बढिरहेको छ। कतिपयले पछिल्ला वर्षहरुमा नदीको जलस्तर घटेको बताएका छन्।

दुवै देशले यस लामो नदीका भिन्न भिन्न भागमा उच्च बाँध बनाउने योजना गर्दै छन्।

यहाँ आसाममा यी योजनाहरुलाई अलिकति शँका र अलिकति त्रासका साथ हेरिँदैछ।

कतै यी बाँधहरुले माथिल्लो तटीय मुलुक चीनलाई उनीहरुको जीवनमाथि नै हैकम चलाउन सक्ने सामर्थ्य त दिँदैन भन्ने मूल त्रास यहाँ पाइन्छ।

कतिपयलाई चाहीँ चीनको नियतमाथिनै शँका छ।

ब्रह्मपुत्रका आवाजहरु: अब के होला?

सन् २००२ मा चीनमा गएको एउटा पहिरोका कारण कैयौँ दिनसम्म नदीको पानी थुनियो।

जुन जानकारी तल्लो तटीय क्षेत्रमा बस्ने मानिसहरुले पाएनन्।

जब थुनिएको पानी एक्कासी फुट्यो आसामका सामुन्ने भयँकर बाढीको त्रास उब्जियो।

कुनै पूर्व सूचनाको प्रणाली थिएन। यस्ता घटना झन् बारम्बार हुन सक्ने डर रहेको छ।

अझ कतिपयलाई चीनले कतै ब्रह्मपुत्रको पानी उसको उत्तरी सुख्खा क्षेत्रतिर मोडेर लैजाने हो कि भन्ने शँका छ - चीनले उसका दक्षिणी क्षेत्रका नदीहरुको बहावलाई त्यसैगरी परिवर्तन गरी लगेको जस्तै गरी।

चीनले उसका तिब्बती क्षेत्रका बाँधहरुबारे आफुलाई आश्वस्त पारेको भारतको केन्द्रिय सरकारले बताएको छ।

“हाम्रो विदेश मन्त्रालयले चीनसँग यसबारे सोधपूछ गरेको छ। नदीको बहावमा कुनै प्रभाव पर्ने नदिइने हामीलाई बताइएको छ।

हामी हाम्रा जनताको जीवनमा बाँधले प्रभाव नपारोस् भन्नेमा सजग रहने छौँ,” पूर्वोत्तर भारतको विकाससम्बन्धी मन्त्री पवन सिँह घटोवारले बीबीसीलाई बताए।

ब्रह्मपुत्र नदी

आसामका बासिन्दा नदीमा बांध बनाउने कुरालाई शंका र त्रास साथ हेर्दैछन्

तिब्बती क्षेत्रमा बग्ने नदीहरुमा बनाइने बाँधले त्यहाँका मानिसहरुले सामना गर्नुपरेको उर्जा सँकटलाई घटाउने बेइजीँगको भनाई छ।

“सबै नयाँ परियोजनाहरु वैज्ञानिक ढँगले निर्माण गरिन्छन् तथा तिनिहरुको उचित सम्भाव्यता अध्ययन गरिन्छन् जस अन्तर्गत तल्लो तथा माथिल्लो तटीय स्थलहरुमा पर्ने प्रभावबारे गर्नुपर्ने सोचविचारपनि पर्दछ,” चिनियाँ विदेश मन्त्रालयले बीबीसीलाई बताएको छ।

उसले डागु, जियाचा र जेइशुमा बनाइने नयाँ बाँधहरु साना आयोजना भएको बताएको छ।

“तिनले बाढी नियन्त्रण तथा तल्लो तटीय इलाकाका पर्यावरणलाई प्रभाव पार्ने छैनन्,” उसको भनाई छ।

ती भनाईका बाबजुद, भारत तथा चीनबीच पानी बाँडफाँडबारे कुनै औपचारिक समझदारी भएको छैन।

केवल बर्खायाममा हुने वर्षाको आँकडा आदानप्रदान गर्ने समझदारी उनीहरुबीच छ।

शंका

स्थानिय बासिन्दा जत्तिकै शँका विज्ञ तथा स्वार्थ समूहहरु माझ पनि पाइन्छ।

"ब्रह्मपुत्रमा यथाशीघ्र ठूल्ठूला बाँध बनाउने दौडमा सहभागी भएर भारत र चीनले नदीले थाम्न सक्ने सीमाभन्दा ज्यादा पर्यावरणीय क्षति पुर्याउनेछन्।"

पीटर बोशार्ड, अन्तर्राष्ट्रिय नदी सत्र्जाल

“नदीहरुले हामीलाई जोड्छन्। तर बाँधहरुले छुट्टयाउँछन्,” अन्तर्राष्ट्रिय नदी सञ्जालका पीटर बोस्हार्डले भने।

एकातिर चीनसँग नदीमाथिको नियन्त्रणलाई लिएर चर्का कुरा गर्ने भारतले बँग्लादेशको अधिकार सम्मान नगरेकोप्रति बोस्हार्डले भारतको आलोचना गरे।

“ब्रह्मपुत्रमा यथाशीघ्र ठूल्ठूला बाँध बनाउने दौडमा सहभागी भएर भारत र चीनले नदीले थाम्न सक्ने सीमाभन्दा ज्यादा पर्यावरणीय क्षति पुर्याउनेछन्। जसका कारण नदीमा आश्रित १० करोड मानिसहरुको जनजीवन जोखिममा पर्नेछ।”

सत्य कहाँनेर छ भनेर खुट्टयाउन कठिन छ। बाँधहरु प्राय: मानव वस्तीभन्दा निकै पर दुर्गम उपत्यका तथा पर्वतका खोँचहरुमा बनाइन्छन् – सामान्यतया: दृष्टिभन्दा टाढा।

अनि तिनै दुर्गम ठाउँमा राजनीति, विकास र वातावरणबीचको कहिले नटुँगिने तनाव र रस्साकस्सी चलिरहेका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।