क्राइमियामा त्यस्तो के छ?

  • 18 मार्च 2014
रुस समर्थक सैनिक
जनमत संग्रहको वैधानिकतामाथि अमेरिका र युरोपले प्रश्न उठाएका छन्

साठी वर्षअघि युक्रेनलाई हस्तान्तरण गरिएको क्राइमिया फेरि रूसमैं गाभिने स्पष्ट संभावना देखिएपछि रूसमा उत्सव मनाउन थालिएको छ।

आखिर क्राइमियामा त्यस्तो के छ, जसका कारण रुस पुन: अर्को शितयुद्धकालीन वैमनश्यका लागि समेत तयार देखिंदैछ?

पहिलो कारण त ऐतिहासिक नै हो।

सन् १९२१ मा सोभियत संघको रुस गणराज्य अन्तर्गत पर्ने गरी क्राइमियालाई स्वायत्त गणराज्यको दर्जा दिइएको थियो।

विच्छेद

पछि १९५४ मा तात्कालीन सोभियत नेता निकिता ख्रुश्चेवले रुससँग नजोडिएको आर्थिक रुपले कमजोर एवं पानी, बिजुलीको अभावले ग्रस्त त्यो भागलाई सञ्चालन गर्न सहज र कम खर्चालु हुने ठानेर युक्रेन गणराज्यमा गाभिदिए।

त्यसबेला एउटै देशका दुई राज्यभित्र भूमिको आदान-प्रदान हुँदा कुनै विवाद भएन।

तर जब १९९१ मा सोभियत संघको पतन भयो क्राइमिया स्वायत्त गणराज्यको रुपमा स्वतन्त्र युक्रेनको अंग बन्यो र उसको रुससँगको सम्बन्ध सदाका लागि बिच्छेद भयो।

त्यसरी क्राइमियाका करिव ५८% रुसी मूलका जनतालाई आफूमाथि धोखा भएको र रुसभित्र पनि आफ्नो पूर्खाले पटक-पटक रगत बगाएको माटोलाई सहजै छोडेर ऐतिहासिक भूल भएको भावना प्रबल छ। र, रुस त्यो गल्तीलाई सुधार्न चाहन्छ।

दोस्रो कारण, सामरीक हो।

असमझदारीको कारण

रुसी झण्डा
सोभियत संघको पतनपछि रुसी जनतामा अमेरिकाले अन्तर्राष्ट्रिय राजनीतिमा आफूलाई हेप्ने गरेको अनुभव छ

क्राइमियाको राजधानी सेभास्तोपोलमा अठारौं शताब्दीको अन्त्यदेखि नै रुसको च्योर्नामोर्स्की फ्लोत अर्थात ब्ल्याक सी फ्लिट तैनाथ छ, जसका कारण रुसलाई कृष्ण सागर र भूमध्य सागरसम्म आफ्नो सामरिक शक्तिलाई बिस्तार गर्ने सुविधा मिलेको छ।

युक्रेन स्वतन्त्र भएपछि रुसको नौसैनिक पोतलाई सन् २०४२ सम्म तैनाथ गर्ने द्विदेशीय सम्झौता भए पनि ब्ल्याक सी फ्लिट दुई देशबीच निरन्तर असमझदारीको कारण बनिरह्‍यो।

किभमा रुस विरोधी शक्ति हावी हुने बित्तिकै ब्ल्याक सी फ्लिटको भविष्य अन्योलग्रस्त हुने खरतनाक परिस्थिति झेल्दै आएको रुसलाई क्राइमियालाई आफूमा गाभ्नै पर्ने बाध्यता सृजना भइसकेको थियो।

रूस समर्थक राष्ट्रपति भिक्टर यानुकोभिचको बहिर्गमन, रुसी भाषाको आधिकारिक हैसियतलाई बदर गर्ने पश्चिम-समर्थक नयाँ सत्ताको निर्णय र क्राइमिया लगायत दक्षिण पूर्वी युक्रेनका रुसी मूलका नागरिकहरुको आन्दोलनले रुसलाई त्यो अवसर दिएको छ।

आवेग

अन्य सानातिना आर्थिक कारण पनि छन्।

तर, त्यसभन्दा महत्वपूर्ण भने सोभियत संघको पतनपछि रुसी जनतामा एक्लो महाशक्ति बनेको अमेरिकाले अन्तर्राष्ट्रिय राजनीतिमा आफूलाई हेप्ने गरेको गहिरो संवेदना पनि छ।

युरोपियन युनियन र उत्तर एटलान्टिक सन्धी संगठननेटोको निरन्तर विस्तारले आफूलाई घेर्दै गएकोमा निकै संवेदशील रुसलाई युक्रेन जस्तो भाषिक, साँस्कृतिक र ऐतिहासिक रुपले आफ्नो सबैभन्दा नजिकको छिमेकमा तिनको उपस्थिति सैह्य हुने सम्भावना नै थिएन।

रुस यो आवेगमा क्राइमियामा मात्र सीमित हुनेछ वा रुसी भाषीहरूको बाहुल्य रहेको पूर्वी र दक्षिणी युक्रेनतिर पनि बढ्ला, त्यसले पुन: सुरु भएको जस्तो देखिएको शितयुद्धको तीव्रता र परिणामलाई निर्धारण गर्नेछ।