बेपत्ता विमानबारे नयाँ खुलासा

  • 15 मार्च 2014
खोजी कार्य
यसअघि बेपत्ता विमानको खोजी दक्षिण चीन सागर लगायतका क्षेत्रमा खोजी गरिएको थियो

मलेसियाका प्रधानमन्त्री नजीब रजाकले भनेका छन्, एक साता अघि बेपत्ता भएको मलेसियाली वायुसेवाको विमानको सन्चार प्रणाली जानीजानी बन्द गरिएको थियो।

उनले प्राप्त तथ्यहरुको पछिल्लो विश्लेषणबाट अन्तिम पटक सन्चार सम्पर्क भएपछि पनि उक्त विमान झण्डै सात घन्टा आकाशमा उडेको हुनसक्ने बताए।

मलेसियाली वायुसेवाको उडान नंबर एमएचथ्रीसेभेन जिरो अचानक बेपत्ता भएको एक साता बितीसक्दा अहिलेसम्म गरिएको खोजी प्रयास व्यर्थ सावित हुन पुगेको छ।

'अपहरण'

क्वालालम्पुरबाट बेइजिङतर्फ उडेको उक्त विमानलाई अपहरण गरिएको हुनसक्ने भन्ने पछिल्ला विवरणहरुलाई मलेसियाली अधिकारीहरुले ठाडै अस्वीकार गरेका छैनन्।

शनिबार एउटा पत्रकार सम्मेलनलाई संबोधन गर्दै मलेसियाली प्रधानमन्त्री नजीब रजाकले भने, "सो विमान अपहरण गरिएको थियो भन्ने समाचारहरु सन्चार माध्यमहरुमा प्रकाशित गरिएको भएता पनि म एकदमै स्पष्टसाथ के भन्न चाहन्छु भने हामी एमएचथ्री सेभेन जिरो आफ्नो शुरुको बाटोबाट किन अन्यत्रै लाग्यो भन्नेबारे सबै संभावनाहरुको अझै अनुसन्धान गरिरहेका छौं।"

प्रधानमन्त्री रजाकले उक्त विमान मलेसिया प्रायद्वीपको पूर्वी तट पुग्नु ठीक अघि विमानको सन्चार प्रणाली बन्द गरिएको र त्यसको एकै छिनमा मलेसिया र भियतनामको वायु यातायात नियन्त्रकहरुको सीमा नजीकै पुगेपछि विमानको ट्रान्सपण्डर पनि बन्द गरिएको बताए।

उनले प्राप्त तथ्यहरुको पछिल्लो विश्लेषणबाट अन्तिमपटक सन्चार सम्पर्क भएपछि पनि उक्त विमान झण्डै सात घन्टा आकाशमा उडेको हुनसक्ने पनि बताए।

खोजी

प्रधानमन्त्री नजाकले अब दक्षिण चीन सागरमा भैरहेको खोजी कार्य बन्द गरिने र कजाखस्तान तथा दक्षिणी हिन्द सागरका दुई संभाव्य गन्तव्यहरुतर्फ खोजी कार्य केन्द्रित गरिने पनि जनाएका छन्।

मलेसियाली अधिकारीहरुले अब खोजी कार्य एउटा नयाँ चरणमा प्रवेश गरेको र सो उडानका यात्रु तथा चालक दलका सदस्यहरुका बारेमा थप जाँचबुझ गरिने जनाएका छन्।

रोयटर्स समाचारसंस्थाले एकजना प्रहरी अधिकारीलाई उद्धृत गर्दै मलेसियाली प्रहरीले उक्त विमानका ५३ वर्षीय चालक, जाहेरी अहमद शाह, को घरमा खानतलासी लिएको जनाएको छ।

मलेसियाली वायुसेवाको विमानको खोजी जारी रहँदा चीनले मलेसियालाई विमान पत्ता लगाउनका लागि उसले अरु मुलुकहरुको पनि सहयोग माग्नुपर्ने जनाएको छ।

आग्रह

बेइजिङले मलेसियाली अधिकारीहरुलाई उसकै शब्दमा अरु विस्तृत तथा सही सूचना दिन पनि आग्रह गरेको छ।

सो विमानको खोजी कार्यमा सघाउन चिनियाँ युद्धपोतहरु अहिले हिन्द महासागरतर्फ गैरहेका छन्।

दुईसय उनान्चालिसजना यात्रु तथा चालक दलका सदस्यहरु यात्रा गरिरहेको सो विमानमा अधिकाँश यात्रुहरु चिनियाँ थिए।

सो विमानमा रहेका चिनियाँ यात्रुहरुका कैयौं नातेदार बेइजिङस्थित होटलमा बसीरहेका छन्।

विमानबारे अझै ठोस जानकारी नआउँदा आफन्तहरुले निराशा व्यक्त गरेका छन्।