मृगौलाको मर्म

  • 14 मार्च 2014
मृगौला दिनेमा पुरुषको दाजोँमा महिलाहरु निकै बढी छन्

अचेल काठमाण्डौँको सुन्धारामा धनुषाका एक दम्पती छोराको मृगौला प्रत्यारोपणको खर्च जुटाउन सहयोगको याचना गरेर बसिरहेका भेटिन्छन्।

स्नातक पढ्न काठमाडौंमा आएको आफ्नो २२ वर्षीय छोराको एक्कासी दुबै मृगौला काम नगर्ने भएको थाहा भयो।

त्यसै बेला देखि खेतबारी, गाइबाख्रा बेच्दै ‍छोराको उपचार खर्च जुटाइरहेका उनीहरु अन्तत: यसरी सडकमा माग्न आउनुपरेको बताउँछन्।

उनले भने, "गाउँमा राम्रै खान लाउन सक्ने मानिस थियौं तर यो रोगलाई त बालुवामा पानी खनाएसरी पैसा खनाउनुपर्ने रहेछ। आफ्नो आयस्ताले अब पार नलाग्ने भए पछि हामी छोरोको ज्यान जोगाउन सडकमा माग्न थाल्यौं।”

यसैगरी भदौदेखि माग्न थालेका उनीहरुले यो ६ महिनामा ४ लाख भन्दा बढी रुपैँया जम्मा गरिसकेँ।

जुन अब प्रत्यारोपण गर्न लगभग पुग्छ।

पीडा

मृगौलाको दीर्घकालीन रोगका लागि प्रत्यारोपणपछि पनि महिनैपिच्छे २० हजार जतिको औषधी खानुपर्ने भएकोले यो रोग शत्रुलाई पनि नलागोस् भन्ने कामना जीतबहादुर मगरको छ।

उनले भने, "पढेर कमाएर सुख दिन्छु भनेर कसम खाएको छोरो यसरी विरामी भएपछि हामी बुढाबुढी उसको जीवन बचाउन दिनरात बस्नुपरेको छ। यस्तो रोग त दुश्मनलाई पनि नलागोस्।”

मृगौला प्रत्यारोपणको लागि सहज कानुन बने करोडौं रुपैँया विदेशमा नजाने बताइन्छ

मृगौलाको दीर्घकालीन रोग लागेका उनको मात्रै होइन बुटवल घर भएका २८ वर्षीय प्रमेबहादुर बिकको पनि उस्तै पीडा छ।

चार वर्षदेखि डायलायसिस गरिरहेका उनको उपचारका क्रममा २२ लाख रुपैँया सकिसकेको बताए।

अब प्रत्यारोपण गर्नको लागि परिवारका अन्य दुई सदस्य जन्डिस र न्यूरोको विरामी छन्।

उनीहरुको मृगौला लिन नमिल्ने डाक्टरको सल्लाह छ।

नेपालको कानुन अनुसार आफन्तबाहेक अन्य साथी भाइ वा अपरिचितको मृगौला लिन मिल्दैन।

त्यसैले पनि उनको मृगौला प्रत्यारोपण गर्न भारत जानुपर्ने बाध्यता छ।

उनी भन्छन्, “अहिलेसम्म धेरै पैसा उपचारमा खर्चिसकेँ, अब साथीभाइले यही मृगौला दिन्छु भने यहाँ पाइँदैन त्यसैले अब यहाँ भन्दा महंगो पर्ने भारतमा मृगौला हाल्न खर्च जुटाइरहेको छु।”

कानुनी अड्चन

त्यस्तै भारतमै मृगौला प्रत्यारोपण गर्न जाने तरखरमा रहेका सोनाम साथीले आफ्नो गुनासो यसरी पोखे, “साथीहरुको मृगौला हाले हाम्रो कानुन अनुसार जेल जानुपर्छ। हामीले हाम्रो देशमा आफ्नै साथीको मृगौला हाल्ने कानुन नभएर अब लाखौं बुझाउन विदेश जानुपर्छ।”

उनीहरुजस्तै दीर्घ मृगौला रोगी वर्षैपिच्छे ठूलो संख्यामा बढ्दै गइरहेका छन्।

मृगौला रोगका साना ठूला विरामी नेपालमा झण्डै ३० लाख पुगेको सरकारी तथ्यांक छ।

वर्षेनी १० हजारको अनुपातमा विरामीहरु बढिरहँदा अहिलेको आंकडा अनुसार प्रत्येक १० मध्ये १ जना व्यक्तिलाई मृगौलाको सानो ठूलो रोग लाग्न गर्छ।

धेरैजसो रोगले निकै च्यापिसकेपछिमात्रै लक्षण देखिने यसको उपचार गर्न राम्रै आर्थिक हैसियत भएकालाई पनि कठिन छ।

अनुदान

नेपाल सरकारले मृगौलाको दीर्घकालीन रोग भएकाहरुको उपचारमा जनही करीब ५ लाख ६० हजार रुपैँया अनुदान लगानी गर्दछ।

तर यो सबैको पहुँच र सबैको माग धान्न पर्याप्त छैन।

थुप्रै संख्यामा मृगौला प्रत्यारोपण गरेर धेरै सफल नतिजा देखाएका डाक्टर पुकार चन्द्र श्रेष्ठ मृगौला रोगीका लागि सरकारले दिएको अनुदान अहिलेको अवस्थामा राम्रै मान्नुपर्ने बताउँछन्।

बरु मृगौला आफन्तबाहेक अरुबाट पनि लिन सकिने कानुनी प्रावधान बन्नुपर्नेमा भने उनले सरकारको ध्यानाकर्षण गराए।

उनी भन्छन्, “नेपालमा मृगौला दान गर्ने सचेतना र प्रत्यारोपणका लागि मृगौला आफन्तबाहेक दुर्घटनामा परेर मस्तिष्क मृत्यू भएकाहरुबाट लिन सक्ने कानुनी बाटो हुनुपर्छ।”

मृगौलाको दीर्घरोग लागिसकेपछि उपचार गर्ने भन्दा लाग्न नदिन वर्षैपिच्छे रगत र पिसाव जाँच गर्ने, पानी धेरै पिउने र दैनिक शारिरिक व्यायाम गर्न उनले सल्लाह दिए।