बेरोजगार युवा

  • 28 फेब्रुअरी 2014
युवा
देशभित्रै रोजगार उपलब्ध नभएकाले विदेश जान खोजेको युवाहरु बताउँछन्

नेपालबाट प्रत्येक दिन एक हजार देखि पन्ध्रसयसम्म युवा जनशक्ति कामको खोजीमा मलेसिया, खाडी मुलुक लगायतका देशहरुमा जाने गरेको सरकारी तथ्याङकहरुले देखाउँछन्।

खुला सीमाना पार गरी कति नेपाली युवा, युवती कामको खोजीमा दक्षिणी छिमेकी भारत गइरहेका छन् भन्ने त कुनै लेखाजोखा नै छैन।

खाडी मुलुकहरुमा ‘थ्री डि’ (डर्टी, डिफिकल्ट एण्ड डेन्जरस) अर्थात् फोहोर, कठिन र खतरनाक भनिने कामहरुमा हजारौं युवाहरु संलग्न रहेका छन्।

कतारमा गएको तीन वर्षमा कम्तीमा चार सयजना नेपालीहरुको ज्यान गएको विवरण सार्वजनिक भएपछि अन्तर्राष्ट्रियस्तरमै चासो र चिन्ता व्यक्त गरिएको छ।

खास गरी घरेलु कामदारको रुपमा काम गरिरहेका नेपाली दिदीबहिनीहरुले शारीरिक, मानसिक तथा बलात्कार जस्ता जघन्य हिंसाको पनि शिकार बन्नु परेको छ।

रोजगार

नेपाल छाडेर जान लागेका युवायुवतीहरु देशभित्रै रोजगारी उपलब्ध नभएकाले वाध्य भएर चर्को गर्मीमा काम गर्न विदेश जानु परिरहेको बताउँछन्।

तर देशभित्रै रोजगारी सिर्जना गर्नेबारे भने खासै काम भएको देखिँदैन।

नेपालको श्रम बजारमा बर्षेनी कामको खोजीमा आउने अनुमानित पाँच लाख युवामध्ये झण्डै चार लाख विदेश जाने भएकाले पनि देशभित्रै रोजगारी सिर्जना गर्न सरकार तथा राजनीतिक नेतृत्वमाथि खासै दबाब नपरेको जानकारहरु बताउँछन्।

राजनीतिक अस्थिरता, भएका उद्योगधन्दा पनि राम्रो संग नचल्नु, बन्द हडताल तथा विद्युतको अभावजस्ता कारणले पनि रोजगारी सिर्जना हुन नसकेको ठानिन्छ।

त्यसकालागि विद्यालय तह देखि नै सीपमूलक शिक्षाको व्यवस्था गरी श्रमलाई सम्मान गर्ने संस्कृति निर्माण गर्नुपर्ने विज्ञहरुको सुझाव छ।

नेपालमा युवा बेरोजगारीका समस्या तथा रोजगार सिर्जनाका संभावनाहरु बारे भगीरथ योगीले तयार पारेकेा यो श्रृङ्खला सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोस्।

भाग १ विदेशकै भर -03.03.10

भाग २ छिमेक तर्फ -10.03.14

भाग ३ प्राविधिक शिक्षामा रुचि-17.03.14

भाग ४ रोजगारका संभावना-24.03.14

हामी तपाईंहरुको सुझाव तथा प्रतिकृयाको पनि अपेक्षा गर्दछौं।