'सैन्य फिर्ती योजना बनाउन पेन्टागनलाई ओबामाको निर्देशन'

  • 26 फेब्रुअरी 2014
बाराक ओबामा
राष्ट्रपति ओबामाले अफगान राष्ट्रपतिलाई टेलिफोन मार्फत आफ्नो निर्देशनबारे जानकारी गराएका थिए

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले, अफगानिस्तानसंग दुई पक्षीय सुरक्षा सम्झौता हुन नसकेमा यो बर्षको अन्त्यसम्ममा त्यहांबाट सबै अमेरिकी सैनिकहरुलाई फिर्ता ल्याउने योजना बनाउन रक्षा मन्त्रालयलाई भनेका छन्।

राष्ट्रपति ओबामाले त्यस्तो बेहोराको सन्देश अफगान राष्ट्रपति हमीद कारजाईलाई पनि टेलिफोन मार्फत दिएका थिए।

राष्ट्रपति कारजाईले केही अमेरिकी सैनिकलाई अफगानीस्तानमा नै रहन दिने एउटा सुरक्षा सहमतिमा हस्ताक्षर गर्न अस्वीकार गर्दै आएका छन्।

पेन्टागन

ह्वाइट हाउसका प्रवक्ता जे कार्नीले पत्रकारहरुसंग भने, “राष्ट्रपतिले सन् २०१४ पछि अफ्गानिस्तानमा कुनै पनि सैनिक नराख्‍ने तयारी गर्न पेन्टागनलाई अह्राइसकेका छन्।

तर दुई देशबीच दुई पक्षीय सुरक्षा सम्झौता भएको खण्डमा या यो बर्षको अन्त्य सम्ममा त्यस्तो सहमति हुन गएमा, केहि अमेरिकी सैनिक अफगानीस्तानमा रहन सक्ने सम्भावनालाई पनि हामीले खुला नै राखेका छौं।“

राष्ट्रपति कारजाईले, सन् २०१४ अन्त्य पछि पनि अफगानिस्तानमा केहि अमेरिकी सैनिकहरुला रहन दिने एउटा सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेर वाशिंगटनलाई चिढ्याएका छन्।

त्यस्तो प्रकृतिको दुई पक्षीय सम्झौताको मस्यौदालाई अफगानिस्तानका जातीय समुदायका अग्रजहरुको भेलाले अनुमोदन गरिसकेको छ।

उक्त प्रस्तावित सम्झौतामा उत्तर एटलान्टीक सन्धी संगठन, नेटोको भावी भूमिका अफगान सैनिकहरुलाई तालिम दिने र तालेवान विद्रोहविरुद्ध लडन् सघाउने रुपमा रहने उल्लेख गरिएको छ।

कानूनी सुरक्षा

उक्त सम्झौताले अमेरिकी सैनिकहरुलाई कानूनी सुरक्षा पनि प्रदान गर्दछ।

वाशिंगटनबाट बीबीसी सम्बाददाता इयन प्यानेल भन्छन्, कुनै पनि दुई पक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर हुनु अघि तालेवानसंग शान्ती प्रकृया शुरु गरिनु पर्ने राष्ट्रपति कार्जाईको अडान रहेको छ।

कुनै सम्झौता हुन नसके आफ्नो सैनिक फिर्ता लैजाने भन्ने अमेरिकी भनाईलाई कुनै चेतावनीका रुपमा लिन भने सकिंदैन। सम्भवत: यो वार्तामा मोलमालाईको एउटा कदम हुनसक्छ।