अन्ततः २१ सदस्यीय मन्त्रिमण्डल

पछिल्लोपल्ट अपडेट गरिएको: 25.02.14, 21:06 NST सम्मका समाचार

सरकारमा सहभागी हुने भनिएका साना दलले भने आफ्नातर्फबाट मन्त्रीको नाम टुङ्गो लगाएका छैनन्।

दुई साताको तिक्ततापूर्ण रस्साकस्सी पश्चात प्रधानमन्त्री सुशील कोइरालाले नेकपा एमालेका १० मन्त्रीसहित मंगलबार आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेका सहित २१ सदस्यीय मन्त्रिमण्डलको मंगलबार घोषणा गरियो।

लामो समयसम्म गृहमन्त्रालय आफ्नै पार्टीसँग राख्ने इच्छा राखेका प्रधानमन्त्री कोइरालाले अन्तत: सो मन्त्रालय एमालेलाई नदिई धरै पाएनन्।

टुङ्गो

सत्ता साझेदार मुख्य दुई दल कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँडबारे सोमबार नै सहमति भए पनि मंगलबार मात्र उनीहरुले मन्त्रीहरुको नामको टुङ्गो लगाएका हुन्।

कांग्रेसबाट एक जना राज्यमन्त्रीसहित १० जना मन्त्री र एमालेबाट १० जना, प्रधानमन्त्री कोइराला नेतृत्वको मन्त्रिमण्डलमा समेटिएका छन्।

नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री कोइरालाले मंगलबार नै राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएका छन्।

कांग्रेसको तर्फबाट प्रकाशमान सिंह उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री, चित्रलेखा यादव शिक्षा, मिनेन्द्र रिजाल सुचना तथा सञ्चार, एनपी साउद सिँचाई, विमलेन्द्र निधि भौतिक पूर्वाधार तथा यातायात, नारायण खडका सहरी विकास, नरहरि आचार्य कानून, महेश आचार्य वन तथा भु-संरक्षणमन्त्री र टेकबहादुर गुरुङ्ग श्रम राज्यमन्त्री नियुक्त भएका छन्।

बिनाविभागीय मन्त्री रहँदै आएका डा रामशरण महतले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

चुनौती

नेकपा एमालेका १० जना मन्त्रीलाई मन्त्रीमण्डलमा समावेश गरिएको छ

त्यस्तै, नेकपा एमालेको तर्फबाट वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री, महेन्द्र पाण्डे परराष्ट्र, राधा ज्ञवाली ऊर्जा, पुरुषोत्तम पौडेल युवा तथा खेलकुद, हरि पराजुली कृषि, लालबाबु पण्डित सामान्य प्रशासन, कर्णबहादुर थापा उद्योग, भीम आचार्य पर्यटन, खगराज अधिकारी स्वास्थ्य र दलबहादुर राना भूमिसुधारमन्त्री भएका छन्।

तीमध्ये ज्ञवाली, पाण्डे, अधिकारी, पण्डित, पराजुली र राना सभासद् होईनन्।

गृह मन्त्रालयसम्बन्धी विवादका कारण शुरुमै तिक्त सम्बन्ध विकसित भएका कारण प्रधानमन्त्री कोइरालाका लागि एमालेका मन्त्रीहरुलाई पूर्ण विश्वासमा लिएर अघि बढ्न भने सहज नहुने धेरैको बुझाई रहेको पाइन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।