मैदान नछाडने विपक्षीहरुको अडान

  • 19 फेब्रुअरी 2014
युक्रेनमा  हिंसात्मक  विरोध प्रदर्शन
युक्रेनमा सुरक्षा सैन्य र विरोध प्रदर्शनकारीहरुबीचको भिडन्तमा कम्तीमा पच्चीसजनाको ज्यान गएको छ

युक्रेनका विपक्षी नेताहरुले सरकार विरोधी प्रदर्शनकारीहरुले मध्य कियभस्थित मैदान पनि भनिने इन्डिपेन्डेन्स स्क्वायर छाडने कुनै संभावना नरहेको स्पष्ट पारेका छन्।

पछिल्ला हिंसामा ज्यान गुमाउनेहरुको संख्या पच्चीस पुग्दैगर्दा प्रहरीले राजधानी कियभमा सरकार विरोधी प्रदर्शनकारीहरु विरुद्ध कारवाही तीव्र पारेको हो।

राष्ट्रपति यानुकोभिचले पछिल्ला हिंसाकालागि उल्टो विपक्षमाथि नै आरोप लगाएका छन्।

आरोप

राष्ट्रपति यानुकोभिचले भने, "अहिलेको मुठभेडको शुरु देखि नै मैले वार्ताको लागि आह्वान गरेको हुँ किनभने म रक्तपातको त कुरै छोडुँ, कुनैपनि बल प्रयोगको ठाडै विरोधी हुँ। कुनै पनि शक्ति चुहिएको एक थोपा रगत बराबर हुँदैन।"

तर विपक्षीहरुले हिंसा चर्काउन सरकार नै जिम्मेवार रहेको आरोप लगाएका छन्।

प्रहरीले स्थानीय समय अनुसार बिहान चार बजेतिर इन्डिपेन्डेन्स स्क्वायरमा प्रदर्शनकारीहरुले खडा गरेका अस्थायी शिविरहरुमाथि धावा बोलेका थिए।

उनीहरुले त्रिपालहरुमा आगो लगाइदिनुका साथै ठिहिराउने जाडोमा विरोध जनाइरहेका प्रदर्शनकारीहरुलाई तितरवितर पार्न पानीका फोहरा छोडेका थिए।

युक्रेनका अन्य शहर तथा नगरहरुमा पनि भीडन्तहरु भएका छन्।

युक्रेनमा भएका हिंसात्मक घटनाहरुप्रति अन्तर्राष्ट्रिय क्षेत्रबाट कडा प्रतिकृया जनाइएको छ।

प्रतिकृया

रुसी विदेश मन्त्रालयले, उसकै शब्दमा, विपक्षी नेताहरुलाई रक्तपात रोक्न र सरकारसंग तत्काल वार्ता थाल्न भनेको छ।

क्रेमलिनले मँगलबार राती राष्ट्रपति यानुकोभिचले राष्ट्रपति पुटिनसंग फोनमा कुरा गरेको जनायो।

उक्त संकटबारे छलफल गर्न बिहीबार युरोपेली संघका विदेश मन्त्रीहरुको एउटा विशेष बैठक बस्दैछ।

युरोपेली आयोगका अध्यक्ष जोजे मनवेल बरोजुले भने, युरोपेली संघले हिंसाकालागि जिम्मेवारहरुका विरुद्ध लक्षित कदमहरु लागू गर्नेछ भन्ने उनले अपेक्षा गरेका छन्।

संयुक्त राज्य अमेरिकाले युक्रेनको हिंसात्मक राजनीतिक संकट प्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

संयम

अमेरिकी उपराष्ट्रपति जो बाइदेनले राष्ट्रपति यानुकोभिचलाई फोन गरेर उच्चतम संयम अपनाउन आग्रह गरेका छन्।

उनले प्रदर्शनकारीहरुका जायज मागहरुलाई सम्बोधन गरिनु पर्ने बताउँदै विपक्षी नेताहरुसंग तत्काल वार्ता गर्न युक्रेन सरकारलाई आग्रह गरेका थिए।

युक्रेन हप्तौं देखि संकटग्रस्त छ र रुस तथा पश्चिमा शक्तिहरुबीचको संघर्षको चपेटामा पनि परेको छ।

राष्ट्रपति यानुकोभिचले रुससंग ऋणमा अर्बौं डलर स्वीकार गरेर युरोपसंगको पूर्वनिर्धारित ब्यापार सम्झौताबाट पछि हट्ने निर्णय गरेपछि यो पछिल्लो विरोध प्रदर्शनको आरम्भ भएको थियो।

पश्चिमा शक्ति राष्ट्रहरुले युक्रेनका राष्ट्रपतिलाई युरोप समर्थक विपक्षीहरुलाई दमन गर्ने प्रयास नगर्न राष्ट्रपतिलाई चेतावनी दिएका छन् भने रुसले पश्चिमा देशहरुले युक्रेनको मामिलामा हस्तक्षेप गरिरहेको आरोप लगाएको छ।