थाइल्याण्डको राजधानीमा झडप, चारको मृत्यु

  • 18 फेब्रुअरी 2014
द‌ँगा
गत डिसेम्बरदेखि सरकारविरोधी प्रदर्शनकारीहरुले सरकारी भवन कब्जामा लिन थालेका हुन्

सरकारविरोधी प्रदर्शनका दौरान हिँसा भड्किएपछि मँगलबार थाइल्याण्डको राजधानी ब्याँककमा ४ जनाको ज्यान गएको छ।

गत वर्षको अन्त्य ताकादेखि कब्जामा राखेका मन्त्रालयहरुबाट तिनलाई हटाउने क्रममा प्रहरीमाथि प्रदर्शनकारीमाझबाट चलाइएको गोली लागि एक प्रहरीको निधन भएको छ।

जवाफमा प्रहरीले स्वचालित बन्दूकबाट गोली चलाएको थियो। तर लगत्तै प्रहरी पछि हट्यो।

तैनाथ

मँगलबार बिहानैदेखि ब्याँककस्थित प्रधानमन्त्री कार्यालय वरपर सयौं दँगा प्रहरी तैनाथ गरिएका थिए।

थाइ सरकारले यो हप्ताभित्र प्रदर्शनकारीहरुलाई त्यहाँको सरकारी भवनबाट हटाउने घोषणा गरेको थियो।

यी क्षेत्र गत डिसेम्बर महिनादेखि प्रदर्शनकारीहरुको कब्जामा छन्।

प्रधानमन्त्री यिङ्गलक शिनावातको सरकारको राजीनामाको माग गर्दै प्रदर्शनकारीहरुले सरकारी भवनहरु कब्जामा लिन थालेका हुन्।

मँगलबार सबेरै प्रहरीले प्रदर्शनकारीहरुसँग वार्ता गर्न थालेको थियो।

तर केहीबेरपछि ब्याँककको केन्द्रमा रहेको डेमोक्रेसी मन्यूमेन्ट नजिकै हिँसा भड्कियो।

यिङ्गलक शिनावात
प्रधानमन्त्री यिङ्गलक शिनावातको सरकारले गराएको चुनावलाई विपक्षीले बहिष्कार गरेका थिए

केही प्रहरी ग्रिनेड प्रहार अनि बम विष्फोटका कारण घाइते भएका बताइएको छ।

करीब ६० जना मानिसहरु घाइते भएको जनाइएको छ।

अन्यत्र प्रहरीले उर्जा मन्त्रालयको भवन आफ्नो नियन्त्रणमा लिएको छ। त्यहाँबाट करीब सय प्रदर्शनकारीहरुलाई उसले पक्राउ गरेको छ।

हालसम्म प्रदर्शनकारीहरु विरुद्ध शक्तिको प्रयोग गर्न प्रहरी अनिच्छुक देखिन्छ। यसअघि प्रदर्शनकारीहरुलाई सरकारी भवनभित्र पस्न दिएर प्रहरीले टकराव हुनबाट रोक्ने गरेको थियो।

घोटाला

मँगलबारै भएको अर्को घटनामा थाइल्याण्डको भ्रष्टाचारविरोधी सरकारी निकायले भनेको छ उसले प्रधानमन्त्री यिङ्गलक शिनावातमाथि सरकारको चामलमा अनुदान दिने कार्यक्रमलाई राम्ररी सञ्चालन गर्न नसकेको विषयमा छानबिन गर्नेछ।

भ्रष्टाचार तथा नोक्सानीको चेतावनी दिँदा दिँदै प्रधानमन्त्री यिङ्गलकले कार्यक्रम अघि बढाएको उक्त निकायले विज्ञप्तिमार्फत जनाएको छ।

प्रधानमन्त्रीलाई यसै विषयमा कुरा गर्न फेब्रुअरी २७ मा बोलाइएको सो निकायले बताएको छ।

विवरणहरुका अनुसार यसै विषयलाई लिएर प्रधानमन्त्रीमाथि महाभियोग लगाइन सक्छ।

प्रधानमन्त्री यिङ्गलक सन् २०११ मा खासगरी ग्रामीण मतदाताहरुको समर्थनमा प्रधानमन्त्री चुनिएकी थिइन्।

सरकार विरोधी प्रदर्शनकारीहरु उनको सरकारलाई हटाएर त्यसको ठाउँमा अनिर्वाचित जनपरिषद गठन गरी राजनीतिक प्रणालीमा सुधार ल्याउन चाहन्छन्।

विरोधका माझ प्रधानमन्त्रीले फेब्रुअरी २ मा आम चुनाव गराएकी थिइन् तर त्यसलाई विपक्षीले बहिष्कार गरे।