एमाले अन्तिम निर्णयको पर्खाइमा

  • 14 फेब्रुअरी 2014
कांग्रेस एमालेबीच गृहमन्त्रालयबारे विवाद चर्किँदा मन्त्रिपरिषद विस्तार हुनसकेको छैन

गृह मन्त्रालयलाई लिएर सत्ता समीकरणमा असमझदारी उत्पन्न भएपछि नेकपा एमालेको नेतृत्व तह प्रधानमन्त्री सुशील कोइरालाको ताजा निर्णयको प्रतीक्षामा छ।

एमालेका नेतृत्व तहका नेताले प्रधानमन्त्रीले लिने निर्णयमा दुई दलबीचको समीकरण निर्भर रहेको बताए।

परस्पर विरोधी अडानका कारण दुई दलबीचको असमझदारीको गाँठो खुकुलो हुनुको साटो कस्सिंदै गएपछि एमाले प्रधानमन्त्रीको निर्णयको पर्खाईमा देखिएको हो।

दुई दलबीच उत्पन्न किचलोका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई भइरहेको छ।

पूर्णता

एमालेलाई गृह मन्त्रालय दिने सहमति नभएको सार्वजनिक अभिव्यक्ति दिए पनि प्रधानमन्त्री कोइरालाले उक्त दललाई मनाउन नसक्दा मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्।

उक्त प्रकरणमा पार्टीभित्रै मतभेद देखिएकाले कोइरालाले एमालेलाई गृह मन्त्रालय दिने वा नदिएरै अघि बढ्ने भन्ने निर्णय लिन सकिरहेका छैनन्।

यसरी प्रधामन्त्री अनिर्णित रहेका बेला कांग्रेसले चाहेमा वार्तामा बस्न तयार रहेको जनाउँदै एमालेका अध्यक्ष झलनाथ खनालले संचारकर्मीहरुसँग भने, “अव सम्पूर्ण कुरा प्रधानमन्त्रीको हातमा छ, उहाँले सुझबुझका साथमा कसरी मुलुकलाई अगाडी बढाउन चाहनुहुन्छ त्यसमाथि नै सप्पै कुरा निर्भर हुन्छ।”

गृह मन्त्रालयलाई लिएर कांग्रेस एमालेबीच देखिएको मतभेदमा दुबै दलका नेताहरुबीचको आपसी स्वार्थले पनि मलजल गरेको ठानिएको छ।

नेतृत्व

सरकारमा एमालेको नेतृत्व गर्ने भनिएका बामदेव गौतमलाई रोक्न वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष लागेको खबरहरु आइरहेका छन्।

कांग्रेससँगको वार्तामा सहभागि नरहेका नेता नेपालले गृह मन्त्रालयमा दावी पेश नगरी सहमतिमा जोड दिए।

उनले हाँस्दै भने, “हिंजो केके सहमति भए केके भएका होइनन् यी सबैका विषयमा बसेर छलफल गर्नुपर्यो के?”

गृह मन्त्रालय एमालेलाई दिनु पर्ने पक्षमा कांग्रेसकै कतिपय नेताहरु रहेको बताइन्छ।

उनीहरुले त्यसो भन्नुका पछाडी सत्ता गठबन्धन जोगाउनु भन्दा पनि महामन्त्री प्रकाशमान सिंह गृहमन्त्री बने उनी पार्टीमा हावी हुनसक्ने भय मुख्य कारण रहेको बुझाई कांग्रेसभित्रै पाइन्छ।

आफ्नै पार्टीभित्रको परस्पर विरोधी अडान र आफ्नो सरकारको आयु एवं त्यससँग जोडिएको संविधान लेखनको स्वार्थको चेपुवामा परिरहेका प्रधानमन्त्री कोइरालाको अन्तिम निर्णयप्रति चासो सर्वत्र बढेको छ।