'इंग्ल्याण्डमा बाढी प्रभावितका लागि रकम अभाव नहुने'

पछिल्लोपल्ट अपडेट गरिएको: 12.02.14, 10:05 NST सम्मका समाचार

ब्रिटेनका प्रधानमन्त्री डेविड क्यामरनले, दक्षिण इंगल्याण्डमा बाढी पिडितहरुको राहत र उद्धारका लागि रकमको अभाव हुन नदिने बताएका छन्।

इंग्ल्याण्डमा बाढी

बाढीका कारण दक्षिण इंग्ल्याण्डका पांचहजार भन्दा बढी घरहरु प्रभावित भएका छन्

उनले दक्षिण इंगल्याण्डमा हजारौं घरहरु, महत्वपूर्ण पूर्वाधार र कृषि भूमीलाई संकटमा पारेको बाढीको समस्यालाई विचार गरी, आगामी हप्ता हुने मध्यपूर्वको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन्।

अठारौं शताब्दीको मध्यतिर देखि यता दक्षिण इंगल्याण्डमा जाडो याममा यति धेरै पानी परेको थिएन। र यसको परिणाम जताततै देख्‍न सकिन्छ।
डुबान

हजारौं घरहरु डुबानमा परेका छन् भने बाढीको पानीको तह बढ्दै जांदा, मानिसहरुले सरकारले आफूलाई आफ्नो हेरविचार आफै गर्न छोडिदिएको भनी गुनासो गरिरहेका छन्।

लण्डन शहरको पश्चिममा, समृद्ध र घना बस्ती भएको उपत्यका क्षेत्र टेम्स भ्यालीमा रहेका घरहरुबाट खराब मौसम शरु भएयता एक हजारजना भन्दा बढी मानिसहरुलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ भने इंग्ल्याण्ड भरी पांचहजार भन्दा बढी घरहरु डुबानमा छन्।

यो समस्यासंग जुध्न सरकारले ढिलो प्रतिक्रिया जनाएको भन्ने आरोपहरु खण्डन गर्दै प्रधानमन्त्री डेविड क्यामरनले बाढी प्रभावितहरुको उद्धारका लागि जति खर्च लागे पनि त्यो बेहोर्न सरकार तयार रहेको बताएका छन्।

तर उनले बाढीको संकटबाट निस्कन भने समय लाग्ने जनाएका छन्।

"बाढी पिडितको उद्धार कार्यका लागि पैसाको कुनै कमी छैन। त्यसका लागि जति पैसाको आवश्यक पर्छ हामी त्यो खर्च गर्नेछौं।"

डेविड क्यामरन, प्रधानमन्त्री, ब्रिटेन

“यो जोखिमपूर्ण अवस्था कम भएर जाने कुनै संकेत छैन। र देशलाई आज मेरो सन्देश के छ भने, बाढी पिडितको उद्धार कार्यका लागि पैसाको कुनै कमी छैन। त्यसका लागि जति पैसाको आवश्यक पर्छ हामी त्यो खर्च गर्नेछौं।“

सुधार

अझै पानी पर्ने र चर्को हावाहुरी आउने मौसम पूर्वानुमान छ र पहिले नै जमीनमा पानीको मात्रा धेरै भैसकेकोले स्थितीमा सुधार आउनु अघि केहि संकटपूर्ण अवस्थाको सामना गर्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो।

पहिले कहिल्यै नबेहोरिएको बाढीको समस्या देखिएपछि, हावापानी परिवर्तन र बाढीको जोखिम हुने गहिरो भूभागहरुमा घरहरु निर्माण गर्ने नीति जस्ता जटिल विषयहरुमा चर्को बहसको सिर्जना भएको छ।

तर अल्पकालका लागि भने दक्षिण इंग्ल्याण्डका बाढी पिडितहरु सुख्खा र सुरक्षित कसरी बस्न सकिन्छ भन्नेमा केन्द्रीत रहेका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।