तराई केन्द्रित प्रमुख दल एकीकरणतिर

  • 17 जनवरी 2014
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावअघि एकीकरणको आग्रह नकारेका थिए।

पछिल्लो पटक औपचारिक रुपमा एकता प्रयास थालिएपछि तराई केन्द्रित तीन प्रमुख दलबीच एकीकरण हुने सम्भावना प्रवल बनेको विश्वास ती दलका नेताले व्यक्त गरेका छन्।

विगतका एकता प्रयास निरर्थक भए पनि बिहीवार साँझ मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र सदभावना पार्टीले एकीकरणको खाका तयार गर्न संयुक्त कार्यदल बनाएका छन्।

एकता भएमा उक्त दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई तल झारेर संविधानसभामा चौथो शक्ति बन्ने छ।

विश्वास

कुरा एकताको गरे पनि एकपछि अर्को गर्दै फुट्नु तराई केन्द्रित दलहरुको नियति जस्तै बनेको थियो।

तिनै मध्येका तीन पार्टीले हालैको चुनावमा नराम्रो धक्का व्यहोरेपछि भने भित्रि रुपमा एकता प्रयासलाई तीव्र बनाएका थिए।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुभवमा कतिपयले कठीन ठानेको एकता प्रयास सार्थक बन्ने सम्भावना बिहिबारबाट प्रवल बनेको छ।

उनी भन्छन्, “तीनवटा पार्टीलाई एक ठाउँमा ल्याउने काम त कठिन हो तर नेताहरुमा यसपाली दृढ इच्छाशक्ति देखिएको छ, हामी एकिकृत हुनुपर्छ भन्ने विश्वास हामीलाई छ र त्यसका लागी औपचारीक रुपले नै काम भएको छ।”

बिहिबार साँझ भएको तमलोपा, फोरम नेपाल र सदभावनाका अध्यक्ष सहितका नेताहरुको संयुक्त बैठकले १५ सदस्यीय कार्यदल बनाएर औपचारिक रुपमा एकता प्रयास अघि बढाएको हो।

कार्यदललाई सात दिनमा पार्टीको विधान, नाम, चिन्ह, घोषणापत्र र संगठनको ढाँचा सम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको छ।

कुनै बिषयमा कार्यदल तहमा सहमति नभए शीर्ष नेताले टुंग्याउने महतोले बताए।

अलग

एउटै पार्टी बन्न खोजेका तीनवटै दल कसैले पनि आफूबाट फुटेका पार्टीसँग एकता गरिरहेका छैनन्।

तीनवटै पार्टीका अध्यक्षको राजनीतिक पृष्ठभूमि भिन्न छ।

महन्थ ठाकुर नेपाली कांग्रेस छाडेर तमलोपाका अध्यक्ष बन्न पुगेका हुन्।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश आन्दोलनबाट स्थापित भएका नेता हुन्।

त्यसअघि उनी माओवादीसंग पनि आवद्ध थिए।

महतो भने लामो समयदेखि तराई राजनीतिको विरासत बोकेको भनिने सदभावना पार्टीमै राजनीति गर्दै आएका छन्।

उनीहरुबीच एकता भएका २७ सभासदका साथ संविधानसभामा चौथो ठूलो नयाँ पार्टीको उदय हुँदा राप्रपा नेपाल पाँचौ दल बन्न पुग्ने छ।