‘हर दिन २० करोड मोबाइल सन्देशको निगरानी’

  • 17 जनवरी 2014
spy
अमेरिकाले जासुसी गरिरहेको खबरहरु सार्वजनिक भएपछि संसारभर विरोध चुलिएको थियो

अमेरिकी राष्ट्रिय सुरक्षा निकाय एनएसए ले हरेक दिन संसारभर २० करोड मोबाइल सन्देश निगरानी गर्ने गरेको पछिल्लोपटक सार्वजनिक गोप्य सूचनाहरुले देखाएका छन्।

एक जना पूर्व अमेरिकी गुप्तचर कर्मचारीबाट प्रतिष्ठित ब्रिटिश सञ्चारमाध्यमलाई प्राप्त ती सूचनाले त्यस्तो निगरानी गरेको देखाएपनि एनएसए ले भने त्यसको खण्डन गरेको छ।

खुलासा

पहिले फोन कल तथा इमेल र अहिले आएर मोबाइल सन्देशहरु एनएसएले निगरानी गरिरहेको देखिएको छ।

ब्रिटिश अखबार गार्डियन र च्यानल न्यूज फोरले प्राप्त गरेको र विश्लेषण गरेको सूचनाहरुले सन् २०११ मामात्रै उसले २० करोड मोबाइल सन्देशहरु संकलन गरेको देखाएका छन्।

edward
सूचना चुहाउने अमेरिकी पूर्व गुप्तचर कर्मचारी एडवर्ड स्नोडेनले अहिले रुसमा शरण लिइरहेका छन्

त्यसमा सीमा वारपार आर्थिक कारोबार अवस्थिति देखाउने डाटा र मिस्ड कल समेतको निगरानी गरिएको भेटिएको छ।

एनएसएले भने ब्रिटिश सञ्चारमाध्यममा आएका विषयहरु सही नभएको भन्दै आफूले स्वेच्छाचारी ढंगले सूचना संकलन नगरेको बीबीसीलाई बताएको छ।

नयां योजना

निगरानीसम्बन्धी नयां खबरहरु सार्वजनिक भइरहेका बेला अमेरिकी राष्ट्रपति बाराक ओबामाले एनएसए को कार्यविधिमा सुधार ल्याउनेसम्बन्धी योजना शुक्रबार ल्याउंदैछन्।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी हमलापछि अमेरिकी गुप्तचर सेवालाई केही कडिकडाउ गर्न पहिलोपटक हुन लागेको यो प्रयासलाई विश्लेषकहरुले महत्वपूर्ण मोडका रुपमा व्याख्या गरेका छन्।