चीन र दक्षिण कोरियाद्वारा जापानको विरोध

  • 26 डिसेम्बर 2013
यासुकुनी स्मारक
यासुकुनी स्मारकको विषयलाई लिएर जापान तथा उसका छिमेकीहरुबीच पटक पटक विवाद उत्पन्न हुने गरेको छ

जापानी प्रधानमन्त्री शिन्जो आबेले विवादास्पद यासुकुनी युद्ध स्मारकको भ्रमण गरेको विषयलाई लिएर चीनले बेइजिङस्थित जापानी राजदूतलाई बोलाएर कडा विरोध जनाएको छ।

गएको सात बर्षभन्दा बढी समयमा, दोषी ठहराइएका युद्ध अपराधीहरु लगायत युद्धमा मारिएका जापानीहरुको संझनामा बनाइएको उक्त स्मारकको भ्रमण गर्ने आबे पहिलो बहालवाला प्रधानमन्त्री हुन्।

दक्षिण कोरियाले पनि उक्त घटनाप्रति आक्रोश व्यक्त गरेको छ।

भ्रमण

तर आफ्नो भ्रमणको बचाउ गर्दै प्रधानमन्त्री आबेले भने, "दुर्भाग्यको कुरा के छ भने यासुकुनीको भ्रमण सामान्यतया एउटा राजनीतिक तथा कूटनीतिक मुद्दा बन्ने गरेको छ। मैले कार्यभार संहालेको एक वर्ष भयो। मैले मृतात्माहरुलाई गएको एक वर्षको प्रगतिबारे जानकारी गराउन र शान्तिप्रति मेरो प्रतिबद्धता नवीकरण गर्न आज यहाँ आएको हुँ।"

दोश्रो विश्व युद्धका क्रममा र त्यसअघि पनि जापानी सैन्यहरुले चीन तथा दक्षिण कोरिया दुबैमाथि कब्जा जमाएका थिए।

संयुक्त राज्य अमेरिकाले भनेको छ, जापानको उक्त कदमले त्यस क्षेत्रमा तनाव बढाउने छ। जापान तथा चीनबीच पूर्वी चीन सागरस्थित टापुहरुका बारे विवाद रहेको छ।

जापानका छिमेकीहरुले यासाकुनी युद्ध स्मारकलाई दोश्रो विश्व यु्द्ध ताका र त्यसअघि पनि जापानको सैन्यवादको संकेतको रुपमा हेर्दछन्। पूर्वी चीन सागरको भूभागलाई लिएर चीन, जापान तथा दक्षिण कोरियाबीच थुपै विवादहरु रहिआएका छन्।

त्यस्तो विवादले ती तीनवटै मुलुकहरुमा राष्ट्रवादी भावनाहरुलाई बढावा दिने काम गरेका छन्।

अमेरिकी अधिकारीहरुले जापानी प्रधानमन्त्रीको यासाकुने स्मारकको भ्रमणले त्यस क्षेत्रमा तनाव बढाउने भन्दै चिन्ता व्यक्त गरेका छन्।

जापानी अधिकारीहरुले प्रधानमन्त्री आबेले व्यक्तिगतरुपमा उक्त भ्रमण गरेको र उनले सरकारको प्रतिनिधित्व नगरेको जनाएका छन्।

निन्दा

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता किन ग्याङले उक्त भ्रमणको कडा निन्दा गरे।

उनले भने, “यसले दुई देशब‌ीचको संबन्ध सुधारमा एउटा ठूलो राजनीतिक अवरोध खडा गरेको छ। यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी जापानले लिनैपर्छ।”

चीनको क्रुद्ध प्रतिकृयामा दक्षिण कोरिया र ताइवानले पनि साथ दिएका छन्। ताइवानका विदेश मन्त्री डेभिड लिनले जापानलाई आत्म निरीक्षण गर्न र छिमेकीहरुको भावनामा चोट नपुराउन आह्वान गरे।

उन्डाइसौं शताब्दीको आधाआध‌ितिर युद्धमा मारिएका अधिकांश सर्वसाधारण सहित झण्डै पच्चीसलाख मानिसहरुको संझनामा यासुकुनी युद्ध स्मारक बनाइएको थियो।

तीमध्ये दोश्रो विश्वयुद्धमा अपराधी भनेर ठहर गरिएका सैयौं सैनिकहरु पनि छन्।