पुरानो संविधानसभाप्रति एक नजर

  • 19 नोभेम्बर 2013
पूरानो संविधानसभा
पूरानो संविधानसभा संविधान निर्माणमा दलीय असहमतिपछि विघटन हुन पुगेको थियो।

पाँच वर्षपछि नयाँ संविधानसभा चुन्दै गर्दा पुरानो संविधानसभा कस्तो थियो त? त्यो किन विफल भयो?

नेपालको इतिहासमै पहिलोपटक गठित संविधानसभाप्रति जनताको अपेक्षा निकै थियो।

२०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले राजतन्त्रको समाप्ति तथा गणतन्त्रको घोषणा गरेको थियो।

त्यसपछि शान्तिपूर्ण रुपमा युगान्तकारी राजनीतिक परिवर्तन भएको भनी कतिपयले त्यसको स्वागत गरे भने विधि नपुर्‍याई गरिएको निर्णय भनी कैयौंले आलोचना गरे।

चार वर्ष लामो कार्यकालमा विघटित संविधानसभाले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन गर्नुका साथै देशलाई चारवटा प्रधानमन्त्री दियो।

आलोचना

तर नयाँ संविधान लेख्ने जिम्मा बोकेका राजनीतिक दलहरुनै सरकार ढाल्ने र बनाउने खेलमा अलमलिएको भनी आलोचनाका पात्र बने।

प्रमुख दलका वरिष्ठ नेताहरु संविधानसभामा विरलै देखिने र महत्वपूर्ण विषयमा संविधानसभा भवनभित्रभन्दा बाहिरै बसेर टुंग्याउने चलन शुरु भयो।

झण्डै एक तिहाई महिला सदस्य रहेको संविधानसभामा आदिवासी, जनजाति तथा मधेशी सभासदले आफ्नो सशक्त उपस्थिति देखाए।

पटक पटक आफ्नो म्याद आफैं बढाएको संविधानसभाले सहमति हुन नसकेका करीब ११७ वटा विवादित विषयहरुमा अनौपचारिक राजनीतिक सहमति कायम भएको बताइएको थियो।

विघटन

तर संघीय स्वरुप कस्तो हुने, शासन प्रणाली कस्तो रहने भन्ने विषयमा विवाद फेरि बल्झिएपछि गत वर्ष जेठ १४ गते संविधानसभा स्वत: विघटन हुन पुग्यो।

संविधानसभा विघटनका आन्तरीक तथा बाह्य कारणहरु निर्क्योह हुन बाँकि नै रहेको भएतापनि लामो कसरतपछि गठित गैरदलीय सरकारले मंसिर ४ को दिन चुनावको घोषणा गर्‍यो।

यद्यपि अर्बौं रुपियाँ खर्च गरेर दोस्रो पटक गरिएको संविधानसभाको चुनावले कहिलेसम्म नयाँ संविधान बनाउला, र बनाइहालेपनि लामो राजनीतिक अस्थिरता रहेको नेपालको इतिहासमा त्यो कति दिगो होला भन्ने प्रश्न चाहीं छँदै छन्।