सवारी साधन चलाउने व्यवसायीको निर्णय

पछिल्लोपल्ट अपडेट गरिएको: 12.11.13, 22:30 NST सम्मका समाचार

चक्काजामको दोश्रो दिन मंगलबार अघिल्लो दिनको तुलनामा बढी सवारी साधन सडकमा गुडेका देखिन्थे

विभिन्न ठाउँमा बन्दकर्ताले तोडफोड र आक्रमण जारी राखेका बेला यातायात व्यवसायीहरुको छाता संगठनले बुधबारदेखि चक्काजामको अवज्ञा गर्दै देशभर सार्वजनिक सवारी साधन चलाउने निर्णय गरेका छन्।

कुनै नोक्सानी भए तत्काल त्यसको क्षतिपूर्ती दिने सरकारको आश्वासनपछि यातायात व्यवसायी राष्ट्रिय महासंघले त्यस्तो निर्णय गरेको हो।

नेकपा माओवादीलगायतका दलहरुले गरेको चक्काजामको दोश्रो दिन मंगलबार अघिल्लो दिनको तुलनामा बढी सवारी साधन सडकमा गुडेका देखिन्थे।

सहमति

बन्दको पहिलो दिन सोमबार आम हड्ताल र बाँकी नौ दिन सवारीसाधनमात्रै चल्न नदिने निर्णय मोर्चाले गरेका बेला यातायात व्यवसायीहरुले बुधबारदेखि लामो र छोटो दूरीका सबै यातायात सञ्चालन गर्ने बताएको हो।

महासंघका कार्यवाहक अध्यक्ष विजयबहादुर सुँवारले भने, "गाडी तोडफोड भए सरकारले तत्काल क्षतिपुर्ति दिने सहमति गरेपछि जनजीवन प्रभावित हुने बन्दमा पनि सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको हो।"

सोमबारको बन्दको अनुपातमा शान्तिसुरक्षाको अवस्था सुदृढ बनाइएकोले सवारीसाधनहरु तोडफोड लगायतका घटना न्यून भएको नेपाल प्रहरीले बताएको छ।

न्यून प्रभाव

सार्वजनिक यातायात अवरोध गर्ने २८ जनालाई देशका विभिन्न भागबाट गिरफ्तार गरेको गृहमन्त्री माधवप्रसाद घिमिरेले जानकारी दिए।

ठाउँठाउँमा पेट्रोल बम सवारीसाधनमा फ्याँकेर त्रासको स्थिति सिर्जना गरे पनि त्यसले मानवीय क्षति भने हुन नपाएको केसीले बताए।

उनले भने, "ठाउँठाउँमा पेट्रोल बम फ्याँकेर गाडी जलाउन खोजेकोले सूचनाको आधारमा हामीले पेट्रोल लिएर हिँड्ने र गाडी तोडफोड गरिरहेकै अवस्थामा गिरफ्तार गरेका छौं, अब कानून अनुसार कारवाही अगाडि बढाउँछौं।"

बुधवारदेखि यातायात सञ्चालन हुने जनाइए पनि दिनदहाडै राजधानीलगायत कयौं ठाउँहरुमा गाडी तोडफोड र आगजनीको प्रयास भएबाट सर्वसाधारण ढुक्क हुने स्थिति भने देखिएको छैन।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।