चुनाव विरोधीविरुद्ध सरकार कठोर हुने

  • 9 नोभेम्बर 2013
बहिस्कारवादीले गर्ने भनिएको चुनाव लक्षित आम हडताल हुन नदिने गृहमन्त्रीले बताएका छन्

निर्वाचन आउन १० दिन मात्रै बाँकी रहँदा चुनावलाई विथोल्न आयोजना गर्ने भनिएको नेपाल बन्दप्रति कडा रूपमा प्रस्तुत हुन सरकार तयार रहेको गृहमन्त्रालयले बताएको छ।

सशस्त्र द्वन्द्धको पृष्ठभूमिबाट मूल राजनीतिमा आएपनि यसपटकको चुनावलाई बहिष्कार गरेर बिथोल्ने घोषणा गरेको मोहन बैद्य नेतृत्वको नेकपा माओवादीको बन्द आह्वानलाई लक्षित गर्दै गृहमन्त्री माधवप्रसाद घिमिरेले त्यसो भनेका हुन्।

तयारी

यसपटक बन्दको व्यवस्थापन गर्ने नभई बन्द नै हुन नदिने नीति सरकारले लिएको उनले बताए।

घिमिरेले भने, "पहिलापहिला बन्द भएपछि आपुर्तिको व्यवस्था गरी हड्ताललाई मत्थर बनाउने नीति लिइन्थ्यो तर यसपटक हामी बन्दलाई व्यवस्थित गर्ने होइन बन्द गर्न खोज्नेलाई गाडीमा लगेर आवश्यक कानुनी कारवाही गर्छौं।"

उनले अहिलेको सरकार राजनीतिको पृष्ठभूमिबाट नभई चुनावी प्रयोजनका लागि बनेकोले चुनाव विरोधी गतिविधि विरुद्ध कठोर भएर उत्रने बताए।

चुनाव बहिष्कारमा रहेको नेकपा माओवादी नेतृत्वको मोर्चाले चुनावको मुखमा १० दिने आमहड्ताल गर्ने घोषणा केही समय अगाडिदेखि नै गर्दै आएको छ।

चुनाव विरोधीहरुप्रति आक्रामक सुनिएका गृहमन्त्री घिमिरेले भने, "अहिले चुनावको विकल्प अरु केही नभएकोले चुनाव विरोधी बन्द हुन नदिन सरकार कठोर हुनेछ। त्यो हाम्रो बाध्यता हो।"

दबाब

गृहमन्त्रीले सबै उम्मेदवार र मतदान केन्द्रहरुको सुरक्षाका लागि बलियो योजना बनाएको र पहिलो संविधानसभाको तुलनामा हिंसात्मक गतिविधि अहिले कम भएको दावी पत्रकार सम्मेलनमा गरेका छन्।

यसअघि आफूहरू विभाजित नहुँदै माओवादीहरूले आयोजना गरेका अनिश्चितकालीन बन्द एक हप्ता नपुग्दै चर्को जनदवावका कारण फिर्ता लिनुपरेको थियो।

यसपटक पनि उद्यमी व्यवसायीहरुले बन्द फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए अवज्ञा गर्ने घोषणा गरिसकेका छन्।