न्यूयोर्कमा डेमोक्रयाटिक मेयर विजयी

पछिल्लोपल्ट अपडेट गरिएको: 06.11.13, 19:23 NST सम्मका समाचार
आल्नो परिवारका साथ दे ब्लासियो

नवनिर्वाचित मेयरले न्यूयोर्कमा आयमा असमानता हटाउन काम गर्ने बताएका छन्।

न्यूयोर्कमा डेमोक्रयाटिक पार्टीको तर्फबाट गत बीस वर्षमा पहिलो पटक मेयर पदमा भारी मतले विजयी बिल दे ब्लासियोले भनेका छन्, उनले सो शहरलाई एउटा नयाँ प्रगतिशील दिशामा अगाडि बढाउनेछन्।

आयमा बढ्दो असमानतासँग जुध्ने तथा प्रहरीको बढी आक्रामक भनिएको कार्यशैलीमा सुधार ल्याउने वाचाका साथ उनी मेयर पदमा विजयी भएका हुन्।

ब्लासियोले रिपब्लिकन पार्टीका अर्बपति भूतपूर्व मेयर माइकल ब्लुमवर्गको ठाउँ लिनेछन्।

विजयी

रिपब्लिकन उम्मेदवार जो ल्होटाले पाएको २४ प्रतिशत मतको तुलनामा ७३ प्रतिशत मत प्राप्त गरी उनी विजयी भएका हुन्।

ब्लासियोकी एकजना समर्थक लिसा फुक्सले भनिन्, "म निकै उत्साहित छु। यो निश्चय नै हामीले लामो समयदेखि पर्खीरहेको परिवर्तन हो। म निकै निकै खुसी छु।"

"यो चुनावले अमेरिकाको सबैभन्दा ठूलो शहरले एउटा प्रगतिशील बाटो समातेको देखाएको छ"

बिल दे ब्लासियो, न्यूयोर्कका नवनिर्वाचित मेयर

न्यूयोर्कको प्रभावशाली मेयर पदमा विजयी भएपछि बोल्दै ब्लासियोले आफुले सबै न्यूयोर्कवासीकालागि काम गर्ने बताए।

उनले भने, “यो चुनावले अमेरिकाको सबैभन्दा ठूलो शहरले एउटा प्रगतिशील बाटो समातेको देखाएको छ।”

उनले आम्दानीमा असमानता घटाउनु आफ्नो सबैभन्दा मुख्य प्राथमिकता हुने पनि बताए।

प्रचार

सन् २००० मा हिलारी क्लिन्टन सिनेट सदस्यको चुनावमा उम्मेदवार हुँदा ब्लासियोले उनको चुनाव प्रचारको जिम्मा सँहालेका थिए।

उनलाई दशकौं यता न्यूयोर्कको मेयर पदमा चुनाव लडने सबैभन्दा उदार राजनीतिज्ञहरुमध्ये एक ठानिन्छ।

अन्यत्र भएका चुनावमा भर्जिनिया राज्यमा डेमोक्याटिक पार्टीकै टेरी म्यकअलिफले आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वीलाई छोटो अन्तरले पराजीत गरे।

लामो समयदेखि रिपब्लिकनहरुको पकड रहिआएको भर्जिनियामा अहिले जनसांख्यिक परिवर्तन देखिएको छ।

गएको दुईवटा राष्ट्रपतीय चुनावमा राष्टपति ओबामाले भर्जिनिया राज्यमा बहुमत प्राप्त गरेका थिए।

न्यू जर्सी राज्यका लोकप्रिय गभर्नर क्रिस कि्स्टी भने दोश्रो कार्यकालका लागि सजीलैसँग विजयी भए।

उनलाई रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदकालागि संभाव्य उम्मेदवारको रुपमा पनि हेरिन्छ।

नेतृत्व

गत वर्ष न्यू जर्सी राज्यको तटवर्ती क्षेत्रमा आएको विनाशकारी आँधी स्याण्डीपछि पुनर्निर्माणको काममा उनले प्रदान गरेको नेतृत्वको धेरैले प्रशँसा गरेका थिए।

उनलाई विपक्षी डेमोक्रयाटहरुसँग पनि मिलेर काम गर्नसक्ने एकजना नेताको रुपमा पनि हेरिन्छ।

राष्ट्रपति ओबामा गत वर्ष राष्ट्रपति पदमा दोश्रो कार्यकालका लागि निर्वाचित भए यता अमेरिकामा पहिलो पटक स्थानीय तथा राज्यस्तरका लागि महत्वपूर्ण चुनावहरु भएका हुन्।

वाशिङटनमा राष्ट्रपति ओबामाको डेमोक्रयाटिक पार्टीको सिनेटमा बहुमत छ भने हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन पार्टीको बहुमत छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।