हेलिकप्टर चढेकोमा सोधपुछ गर्छौं: आयोग

  • 31 अक्टोबर 2013
निर्वाचन आयोग
आयोगले आचार संहिता उलंघनको अनुगमन गर्न गत साता उच्चस्तरीय समिति बनाएको थियो

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आचार संहिता विपरीत चुनावी प्रचारका लागि हेलिकप्टर प्रयोग गरेको खबर आएपछि, निर्वाचन आयोगले त्यसबारे सोधपुछ गर्ने बताएको छ।

निश्चित केही जिल्लाबाहेक प्राकृतिक प्रकोप, यातायात अवरोध वा विशेष परिस्थितिमा आयोगको सिफारीस लिएर मात्रै, हेलिकप्टर प्रयोग गर्न पाइने आचार संहितामा उल्लेख छ।

एकीकृत माओवादीले चाहीं आफुहरुको अनावश्यक आलोचना गरिएको बताएको छ।

अनुमति

जहाँ जहाँ प्रचण्ड जान्छन् त्यहाँ त्यहाँ मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले अवरोध गर्न थालेपछि, एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले हेलिकप्टरको प्रयोग बढाएका थिए।

तर अवरोधको अवस्था भएपनि निर्वाचन आयोगको स्विकृति लिएर मात्रै हेलिकप्टर प्रयोग गर्न पाइने प्रावधानलाई कुल्चँदै उनले आचार संहिता विपरीत अनुमति नै नलिएका जिल्लाहरुमा पनि हेलिकप्टर प्रयोग गरेकोमा आलोचना भएको छ।

यसबारे सोधपुछ गरिने आयोगका प्रवक्ता वीरबहादुर राईले बताए।

उनले भने, "यसबारे हामीकहाँ कुनै गुनासो त आएको छैन। तर अनुमति विना हेलिकप्टर उडाएकोमा आयोगले सोध्छ र सोही अनुसार अघि बढ्छ।"

टिप्पणी

एकीकृत माओवादीका नेता पोष्टबहादुर बोगटी भने प्रचण्डको विरोधमा टिप्पणी गर्नलाई मात्रै यस्ता विषय उछाल्ने गरिएको बताउँछन्।

उनले भने, "बन्द भएको ठाउँमा हेलिकप्टर प्रयोग गरिरहिएकै छ। प्रचण्डको टिप्पणी नगरीकन कुनै पनि मान्छेलाई सन्तुष्टि नै हुँदैन। त्यस्ता टिप्पणी त आइराख्छन्, भइराख्छन। त्यसको कुनै अर्थ छैन।"

आचार संहिता विपरीत कार्य गर्नेलाई, उल्लंघनको कार्य तुरुन्त रोक्ने देखि लिएर उम्मेदवारी रद्द गर्न सक्ने सम्मको अधिकार आयोगलाई प्राप्त छ।