आक्रमणमा 'बोको हरामको संलग्नताको आशंका'

  • 30 सेप्टेम्बर 2013
आक्रमण भएको कलेज
मृत्यु भएका विद्यार्थीका शव दुईवटा भ्यान राखेर योबे राज्यको राजधानी दमातुरु लगिएको प्रत्यक्षदर्शीले बताए

संदिग्ध इस्लामवादी बन्दुकधारीहरुले उत्तरप‍ूर्वी नाइजेरियाको एक कलेजमा गरेको आक्रमणमा करिब ५० विद्यार्थीहरु मारिएको बताइएको छ।

योबे राज्यमा रहेको कलेजको छात्रावासमा सुतिरहेको अवस्थामा विद्यार्थीहरुमाथि गोली चलाइएको थियो।

बोको हराम विद्रोही समूह सक्रिय रहेको उत्तरपूर्वी नाइजेरिया संकटकालबाट गुज्रिरहेको छ।

विद्यालयलाई पश्चिमा संस्कृति सिकाउने अखडा ठान्ने बोको हाराम नाइजेरियामा सरकार ढालेर इस्लामवादी राज्य स्थापना गर्न चाहन्छ।

सो कृषि कलेजको छात्रावासको सयनकक्षमा विद्रोहीहरुले गोली चलाउँदा ठ्याक्कै कतिजनाको मृत्यु भयो भन्ने बारे फरक फरक विवरणहरु आएका छन्।

शवहरु

तर स्थानीय राजनीतिज्ञहरुले करिब ५० जनाको ज्यान गएको बताए।

सोही कलेजका शिक्षक समेत रहेका एक अभिभावकले आफ्नो छोरा भागेर बाच्न सफल भएको बताए।

“मेरो छोरा सुतिरहेको थियो, गोली चलेपछि भागेर उ नाङ्गो अवस्थामा एउटा झाडीमा लुक्न पुगेछ, त्यहीं हामीले उसलाई भेट्टायौं।”

स्थानीय राजनीतिज्ञहरुले मृत्यु भएका विद्यार्थीहरुका शव दुई वटा भ्यान राखेर योबे राज्यको राजधानी दमातुरु लगिएको बताए।

एक प्रत्यक्षदर्शीले रोएटर्स समाचारसंस्थासंग आफूले अस्पतालमा ४० वटा शव गनेको बताए।

अर्का एक व्यक्तिले एसोसिएटेड प्रेस समाचार संस्थालाई मर्नेहरुको संख्या ५० हुन सक्ने बताए।

आगो

उनका अनुसार १ हजार जति विद्यार्थी डराएर भागिरहेका छन्।

आक्रमणपछि विद्रोहीहरुले कक्षाकोठामा आगो समेत लगाएका थिए।

स्कूल कलेजले पश्चिमा संस्कृति भित्र्याएको आरोप बोको हरामले लगाउँदै आएको छ।

सो क्षेत्रमा गत मे मा संकटकाल लगाइएको थियो।

राष्ट्रपति गुडलक जनाथनले अब विद्रोहीहरु विरुद्धको नीति परिवर्तन गर्ने बेला आएको बताए।

तर अब कस्तो नीति लिइने हो त्यसबारे उनी स्पष्ट भएनन्।