रासायनिक अस्त्रको विवरण प्रस्तुत गर्न सिरियालाई एक हप्ता समय

  • 15 सेप्टेम्बर 2013
द्वन्द्वग्रस्त सिरियाको दमस्कसको एक क्षेत्र
एक जना विद्रोही कमाण्डरले रुस र अमेरिकाबीचको सहमतिले द्वन्द्व न्युनीकरणमा नसघाउने बताएका छन्

संयुक्त राज्य अमेरिका र रुसले सकेसम्म छिटो र सुरक्षित तरिकाले सिरियाको रासायनिक अस्त्रलाई हटाएर नष्ट गर्ने एउटा योजनामा सहमति जनाएका छन्।

स्वीट्जरल्याण्डको जेनेभामा आफ्ना रुसी समकक्षीसंगको वार्तापछि अमेरिकि विदेशमन्त्री जन केरीले भनेका छन्, सिरियाले एक हप्ताभित्र आफूसंग रहेका रासायनिक अस्त्र भण्डारको विस्तृत सूची प्रस्तुत गर्नु पर्नेछ र नोभेम्बर महिनासम्ममा अस्त्र निरिक्षकहरुलाई उक्त भण्डारमा पहुंच दिनु पर्नेछ।

त्यसको उद्देश्य, सन् २०१४ को मध्यसम्ममा सिरियाको सम्पूर्ण रासायनिक अस्त्रहरु नष्ट गरिसक्नु रहेको, उनले बताए।

प्रगति

राष्ट्रपति ओबामाले वार्तामा उल्लेख्य प्रगति हासिल भएको भन्दै तर धेरै काम हुन भने बांकी नै रहेको बताएका छन्।

उनले, यदी कुटनीति असफल भएमा अमेरिका कारवाहीका लागि तयार रहेको बताएका छन्।

रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले भनेका छन्, सिरियाले नयां सहमति पालना नगरेमा ऊ विरुद्ध बल प्रयोग हुन सक्ने सम्भावनाको नयां सहमतिमा उल्लेख गरिएको छैन।

उक्त योजनाप्रति सिरियाली सरकारको तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भैसकेको छैन।

जारी कुटनीतिक प्रयासका रुपमा अमेरिकी विदेशमन्त्री जन केरी, इजरेल जांदैछन् जहां उनले सहमतिका बारे प्रधानमन्त्री नेतन्याहुलाई जानकारी गराउने छन्।

त्यसपछि उनी प्यारिस जाने छन् र आफ्ना फ्रान्सेली, ब्रिटिश र साउदी समकक्षीहरुसंग भेटवार्ता गर्नेछन्।

अस्वीकार

तर सिरियामा संघर्षरत एउटा प्रमुख विद्रोही सेनाका कमाण्डर जेनरल सेलिम इद्रीसले, उक्त रासायनिक अस्त्र सहमतिलाई अस्वीकार गरेका छन्।

टर्कीको इस्तानबुलमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै जेनरल इद्रीसले भने,“हामी रुसी सकृयतामा भएको सहमतिलाई स्वीकार गर्दैनौं, हामीलाई लाग्छ रुसी र सिरियाली सत्ताले समय खेर फाल्न र दमस्कसको अपराधी शासनको समय लम्बाउन खेल खेलिरहेका छन्।“

ती विद्रोही कमाण्डरले, त्यस्तो सहमतिले सिरियाली संकट समाधान नहुने बताउंदै, विषालु ग्यास आक्रमण गरी सैयौं गैरसैनिकको ज्यान लिएको घटनाको जिम्मेवारीबाट उम्कन राष्ट्रपति बशर अल असदलाई सघाउ पुर्‍याउने बताएका छन्।

उनले आफूहरुले अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरुलाई सुरक्षित रुपमा सिरियामा यात्रा गर्न दिने तर लडाईंको अन्त्य भने नगर्ने बताएका छन्।