चुनावको मिति सार्ने प्रस्ताव अस्वीकृत

पछिल्लोपल्ट अपडेट गरिएको: 14.09.13, 20:44 NST सम्मका समाचार

असन्तुष्टको माग बमोजिम राष्ट्रपतिले आइतबार दोश्रो सर्वपक्षीय भेला डाकेका छन्

चुनाव चैतमा सार्न मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले गरेको औपचारिक प्रस्ताव शनिबार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले अस्वीकार गरेको छ।

निर्धारित मितिमा नै निर्वाचन गर्ने लिखित निर्णय गरेको बैठकका सहभागी नेताहरूले बताएका छन्।

राष्ट्रपतिको सक्रियतामा शुक्रवार गरिएको सर्वपक्षीय भेलामा नेकपा माओवादीले चुनाव सार्ने प्रस्ताव गरेको थियो।

आइतबार पुन राष्ट्रपति निवासमा सर्वपक्षीय भेला डाकिएको छ।

प्रस्ताव

शुक्रबार राष्ट्रपतिले बोलाएको सर्वपक्षीय भेलामा नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले गोलमेचसभा, चैतमा चुनाव, र प्रधान न्यायाधीश पदबाट रेग्मीको राजीनामा सहितको चारबुँदे प्रस्ताव राखेका थिए।

उक्त प्रस्तावमाथि उच्चस्तरीय समितिमा छलफल गरी मत बनाउने भनिएको थियो।

बैठकका सहभागी एमाले नेता अग्नी खरेलले मिति नसार्ने तर दल दर्ता लगायतका विषयमा लचकता अपनाउन निर्वाचन आयोगसँग अनुरोध गर्ने निर्णय गरिएको बताउँछन्।

बैद्यको चुनावमा भाग लिने प्रतिबद्धतालाई शुक्रबार एकीकृत माओवादीले सकारात्मक बताएको थियो।

शनिबारको बैठकमा सहभागी नेता पोष्टबहादुर बोगटीले चुनावको मिति धेरै दिनलाई सार्न नसकिने बताए।

उनले भने, "केहि दिन हेरफेर गर्न सकिन्छ तर चैतमा सार्न भने संभव छैन।"

एनेकपा माओवादी अध्यक्ष प्रचण्ड काठमाण्डू बाहिर रहेकाले उनी शनिबारको बैठकमा सहभागी थिएनन्।

'आगोको झिल्को'

उपाध्यक्ष बाबुराम भट्टराईले बैठकमा सहभागी हुन जानुअघि आफ्नो फेसबुक मार्फत बैद्य माओवादीलाई 'आगोको झिल्को' भन्दै उसलाई चुनावमा भाग लिने वातावरण बनाइदिनु बुद्धिमानी हुने बताएका थिए।

आपसी सैद्धान्तिक विमति चर्किएपछि झण्डै एकवर्षअघि दुइ फ्याक बनेका माओवादीबीच चुनावी तालमेलको विषय केहि समय यता चर्चामा छ।

पार्टी फुटेपछि चुनावी परिणाममा असर पर्ने आंकलन आएकाले एकीकृत माओवादीले बैद्य माओवादीसँग तालमेल गरेर अघि बढ्ने रणनीति लिएको कतिपयले ठानेका छन्।

बीबीसीकी काठमाण्डूस्थित एक संवाददाता भन्छिन्, चुनाव आउन दुइ महिना बाँकी रहँदा चुनाव सार्ने कि नसार्नेले बहसले राजनीतिक अन्यौल त निम्त्याएको छ नै त्यसले निर्वाचन आयोगको चुनावी तयारीलाई समेत प्रभावित पारेको देखिएको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।