'प्रधानन्यायाधीशबाट रेग्मीको राजीनामा सहमतिको शर्त'

  • 13 सेप्टेम्बर 2013
rambaran
राष्ट्रपतिले नेकपा-माओवादीसहित सबै पक्षलाई समेटेर चुनाव गर्न आग्रह गर्दै आएका छन्

मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले शीतल निवासमा शुक्रवार हुने भनिएको सर्वपक्षीय वैठकमा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायधीश पदबाट राजीनामा दिनुपर्ने र संविधानको धारा ३८(१) अनुसार सहमतिको आधारमा नयाँ बन्ने सरकारको नेतृत्व जसले गरे पनि हुने अडान लिएर जाने भएको छ।

त्यसपछि हुने गोलमेच सम्मेलनले निर्धारण गरे बमोजिम निर्वाचनमा सहभागी हुने उक्त पार्टीका एक नेताले बताएका छन्।

दलीय सरकार

वर्तमान सरकारको विघटन, मंसिर ४ को चुनाव सार्नुपर्ने र संविधानका अन्तर्वस्तुबारे पहिले नै टुङ्गो लगाएर चुनावमा जानुपर्ने लगायतका १८ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले केही लचिलो हु्ने संकेत देखाएको छ।

उसले सरकारका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायधीश पदबाट राजीनामा दिए संविधानको धारा ३८(१) अनुसार सहमतिको आधारमा नयाँ बन्ने दलीय सरकारको नेतृत्व जसले गरे पनि सहमत हुने अडान लिएर शीतल निवासको सर्वपक्षीय बैठकमा जाने भएको हो।

उक्त दलका सचिव देव गुरुङले भने, "प्रधानन्यायधीश पदबाट रेग्मीको राजीनामापछि दलहरुको सहमतिमा सरकार बनाउनुपर्छ तर नेतृत्वबारे हामी खुला छौं।"

गोलमेच

तर उक्त सहमति कार्यान्वयन भए पनि गोलमेच सम्मेलनको अडान नेकपा-माओवादीले नछाड्ने संकेत देखाएकोले मंसिर ४ मा निर्वाचन गर्न आवश्यक सहमति जुटिहाल्नेमा अझै शंका कायम नै रहेको कतिपय विश्लेषकहरु ठान्छन्।