आतङ्वादको नयाँ लहर शुरु हुने पुटिनको चेतावनी

  • 12 सेप्टेम्बर 2013
राष्ट्रपति पुटिन
राष्ट्रपति पुटिनले अमेरिकी जनतालाई सिधै व्यक्तिगत अपील गरेका छन्

एउटा अमेरिकी समाचारपत्रमा प्रकाशित लेखमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिंदै भनेका छन्, अमेरिकाले सिरिया विरुद्ध सैन्य हमला गरेमा त्यसले आतङ्कवादको नयाँ लहर शुरु गर्नेछ र अन्तर्राष्ट्रिय कानुन व्यवस्थाको सम्पूर्ण प्रणालीलाई असन्तुलित तुल्याउन सक्नेछ।

सिरियासंग रहेको रासायनिक हातहतियार अन्तर्राष्ट्रिय नियन्त्रणमा ल्याउने रुसी प्रस्तावबारे आफ्ना रुसी समकक्षीसंग कुरा गर्न अमेरिकी विदेश मन्त्री जोन केरी जेनेभा पुगेका बेला त्यस्तो लेख प्रकाशित भएको हो।

ती हातहतियारलाई पछि नष्ट गरिने छ।

प्रभावशाली अमेरिकी अखबार दि न्यूयोर्क टाइम्समा विचार पृष्ठमा प्रकाशित आफ्नो लेखमा राष्ट्रपति पुटिनले सिरिया संकटका बारेमा अमेरिकी जनतालाई सिधै व्यक्तिगत अपील गरेका हुन्।

नयाँ लहर

‘सावधानी अपनाउन रुसी अपील’ शिर्षक लेखमा उनले भने, "सिरियामा अमेरिकी सैन्य हमला गरिएमा त्यसले आतङकवादको नयां लहर शुरु गर्नेछ।"

अमेरिकाले अगष्ट २१ तारिखमा दमास्कस बाहिर महिला तथा केटाकेटी सहित सैयौंको ज्यान जानेगरी गरिएको विषालु ग्याँस हमलाकालागि सिरियाली सत्ता जिम्मेवार रहेका आरोप लगाएको छ।

सिरियाले ती आरोपहरुको खण्डन गर्दै आएको छ।

सिरियाली गृह युद्धमा असद सरकारलाई खुल्ला समर्थन गर्दै आएको रुसले सिरियासंग रहेको रासायनिक हातहतियार अन्तर्राष्ट्रिय नियन्त्रणमा ल्याउने नयाँ प्रस्ताव राखेको छ। अमेरिकी विदेशमन्त्री जोन केरी तथा उनका रुसी समकक्षी सेर्गेइ लाभ्रोभबीच यस विषयमा आज जेनेभामा वार्ता शुरु हुने बताइएको छ।

केरीसंग यात्रा गरिरहेका एकजना अधिकारीले भने, त्यो काम गर्नसकिन्छ तर निकै गाह्रो छ।

योजना

रुसी योजनाप्रति समर्थन जनाउनेहरुमा अमेरिकी कङ्ग्रेसका एकजना डेमोक्याट सदस्य ब्राड शेर्मन पनि छन्।

उनले भने, “भोडकापछि रुसले अगाडि सारेको शायद यो नै सबैभन्दा उत्तम प्रस्ताव हो। जतिसुकै राम्रोसँग गरिएको हवाइ हमलाभन्दा रुसी प्रस्तावको अपूर्ण कार्यान्वयन धेरै ठिक हुनेछ।”

सिरिया सरकारसंग रहेको रासायनिक अस्त्र भण्डार अन्तर्राष्ट्रिय नियन्त्रणमा राख्‍ने रुसी प्रस्तावलाई सिरियाको विद्रोही समूह, फ्रि सिरियन आर्मीले ठाडै अस्वीकार गरेको छ।

पश्चिमा मुलुकहरुको समर्थन प्राप्त सो समूहका कमाण्डर सलिम इद्रिसले भने, पश्चिमा मुलुकहरु सिरियाबाट रासायनिक हातहतियार हटाएर मात्र सन्तुष्ट हुनुहुँदैन। राष्ट्रपति असदतर्फ इंगित गर्दै उनले भने, उनीहरुले ती हातहतियार प्रयोग गर्न जिम्मेवार व्यक्तिलाई अन्तर्राष्ट्रिय फौज्दारी अदालतसमक्ष पनि ल्याउनुपर्छ।

अमेरिकाले सिरियालाई दण्डित गर्न उ विरुद्ध सैन्य कारवाही गर्नुपर्ने बताउंदै आएको छ भने रुस र चीन त्यस्तो कारवाहीको विपक्षमा छन्।