रासायनिक अस्त्र अन्तर्राष्ट्रिय नियन्त्रणमा राखे सिरियामाथि हमला नगरिने?

  • 10 सेप्टेम्बर 2013
सिरियाली तथा रुसी विदेशमन्त्री
रुसी विदेशमन्त्री लाभ्रोभ (दायाँ) ले राखेको प्रस्तावलाई सिरियाली विदेश मन्त्री (बायाँ) ले स्वागत गरेका छन्

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाको रासयनिक अस्त्र अन्तराष्ट्रिय नियन्त्रणमा राखी नष्ट गर्ने रुसी प्रस्तावलाई सम्भाव्यरुपमा सकारात्मक भनी व्याख्या गरेका छन्।

उक्त रुसी प्रस्तावलाई सिरियामाथि हुन सक्ने अमेरिकी हमला रोक्ने उपायका रुपमा हेरिएको छ।

राष्ट्रपति बराक ओबामाले भनेका छन् आफ्ना रासायनिक अस्त्रहरु अन्तर्राष्ट्रिय नियन्त्रणमा राख्न यदि सिरिया राजी हुने हो भने उनी सैनिक हमलाका योजनाहरुलाई स्थगनमा राख्न तयार छन्।

तर सिरियाली सरकारले यस्तो प्रस्तावको कार्यान्वयन गर्नेमा आफुलाई शंका लागेको उनले बताए।

बहस

अमेरिकि संसदको तल्लो सदन कंग्रेसमा राष्ट्रपति ओबामालाई सिरियामाथि सैनिक कारवाहीको अनुमति दिने वा नदिने भन्ने बहस चलिरहेको बेला सिरियाली सत्ताको समर्थनमा उभिएको रुसले यस्तो प्रस्ताव राखेको हो।

रुसले अमेरिकि सैनिक हमलाबाट बच्न सिरियालाई आफ्ना सबै रासायनिक अस्त्रको भण्डारलाई अन्तर्राष्ट्रिय नियन्त्रणमा राख्न दिन एवं तिनलाई नष्ट गर्न दिन आग्रह गरेको थियो।

रुसी विदेश मन्त्री सर्गेई लाभ्रोभले आफुले सो प्रस्ताव राखेपछि सिरियाली समकक्षी वालिद मुआलेमले त्यसको स्वागत गरेको बताएका छन्।

“हामीलाई अझै थाहा छैन सिरियाभित्र यो प्रस्तावको समर्थन हुने छ वा छैन। तर यदि रासायनिक अस्त्रको अन्तर्राष्ट्रिय नियन्त्रणले सिरियालाई सैनिक हमलाबाट जोगाउँछ भने हामी दमास्कससंग तत्काल काम थाल्ने छौं,” लाभ्रोभको भनाई।

दबाब र दुविधा

वाशिंगटनमा प्रदर्शन
सिरियामाथिको प्रस्तावित हमलाप्रति अमेरिकि कंग्रेस र जनता उतिसाह्रो उत्साहित देखिंदैनन्

सोमबार राष्ट्रपति ओबामाले दुविधामा रहेका कंग्रेस तथा अमेरिकि जनमत आफ्नो पक्षमा पार्न श्रृंखलाबद्ध टेलिभिजन अन्तर्वार्ताहरु दिएका छन्।

सिरियाली राष्ट्रपति बशार अल असादको सत्तालाई सजाय दिन सीमित सैनिक कारवाही जरुरी रहेको राष्ट्रपति ओबामाको भनाई छ।

रुसको पछिल्लो प्रस्तावप्रति ओबामा प्रशासनका अधिकारीहरुले सतर्कतापूर्वक प्रतिक्रिया दिएका छन्।

उनका एकजना सल्लाहकार टोनी ब्लिंकेनले वाशिंगटनमा पत्रकारहरुमाझ भने, “अमेरिकि कारवाहीको चेतावनी तथा राष्ट्रपति ओबामाले दिएको दबाबको परिप्रेक्ष्यमा यो प्रस्ताव आएको प्रष्ट छ। त्यसकारण यो दबाबको महत्व झन बढेको छ। कंग्रेसले राष्ट्रपतिले आग्रह गरेको अनुमति दिनु जरुरी छ।”

हालसम्म ओबामाको सैनिक हमलाको योजनाप्रति कंग्रेसमा उतिसाह्रो समर्थन देखिएको छैन।

प्रतिनिधि सभाका ४३३ सदस्यमध्ये २३० भन्दा बढी सदस्यहरु गत शुक्रबारसम्म त्यस्ता सैनिक कारवाहीको विपक्षमा रहेको ठानिएको थियो।

त्यसमाथि जनमत सर्वैक्षणहरुले अमेरिकि जनता सिरियामाथिको कारवाहीप्रति उत्साहित नभएको देखाएको छ।