अफगानिस्तानद्वारा नेपाल पराजित

  • 8 सेप्टेम्बर 2013
आइतबारको पराजय पछि अघिल्ला खेलहरुमा नेपालको जीतमा यसरी रमाएका समर्थकहरु निराश हुन पुगेका थिए

काठमाण्डूमा भएको साफ च्याम्पियनसीप फुटवलको सेमिफाइनल खेलमा अफानिस्तानसँग पारित भएपछि फाइनलमा पुग्ने नेपालको सपना अधुरै हुन पुगेको छ।

साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्ने १६ वर्षदेखिको नेपालको सपना फेरि पनि चकनाचुर भएको छ।

दशरथ रंगशालामा भएको सेमिफाइनलमा अफगानिस्तानले सून्यका विरुद्ध एक गोलले नेपाललाई हराएको हो।

नेपाली दर्शकहरु भरिभराउ दशरथ रंगशालामा व्यग्र चासो र उत्साहका साथ खेल शुरु भएको थियो।

स्तब्ध

तर प्रतिस्पर्द्धा शुरु भएको एघारौं मिनेटमै अफगानिस्तानका संजर अहमदीले गोल गरेपछि झन्डै २० हजार दर्शकहरु उपस्थिति रंगशालमा नेपालका समर्थक स्तब्ध हुन पुगेका थिए।

नेपाली गोलरक्षक किरण लिम्बुले हातमा आएको बल सम्हाल्न नसकेपछि अफगानिस्तानका संजर अहमदीले गोल गर्ने मौका पाएका हुन्।

अनीरुद्धिन महम्मद अनवरले प्रहार गरेको बल किरणको हातबाट फुत्किएपछि संजरले त्यो मौका छोपेका थिए।

दशरथ रंगशालामा उपस्थित हाम्रा खेल सम्वाददाता निरंजन राजवंशीका अनुसार पेनाल्टीको अवसरलाई नेपालका राम्रा मानिने खेलाडी रोहित चन्दले गोलमा परिणत गर्न नसक्दा खेलको अन्तिम समयमा बराबरी गर्ने मौकाबाट पनि नेपाल चुकेको थियो।

पहिलो प्रहारमा गोलकिपरको फाउल भएपछि उनले दोश्रो प्रहारको अवसर पनि पाएका थिए।

तर उही ठाउँमा चन्दले गरेको दोश्रो प्रहार विपक्षी गोल किपरले रोकिदिए।

रणनीति

हाम्रा सम्वाददाता भन्छन्, "पहिलो गोल खाएपछि नेपालले बाँकी खेल आफ्नो नियन्त्रणमा राखेको थियो, तर पहिलो गोल पछि अफगानिस्तानले रणनीति परिवर्तन गरी रक्षात्मक खेल खेल्यो जसले गर्दा नेपालले गरेका हरेक प्रहारलाई उसले विफल तुल्याइ दियो।"

यसअघि सन् १९९९ मा आठौं दक्षिण एसियाली फुटबल खेलमा यसै रंगशालामा नेपाल फाइनलमा पुगेको थियो।

आइतबारको पराजयसँगै साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्ने नेपालको १६ वर्षदेखिको सपना फेरि चकनाचुर भएको छ।

दुई वर्ष अगाडि भारतको दिल्लीमा भएको यसै प्रतियोगिताको सेमिफाइनलमै अफगानिस्तानसँग नेपाल पहिलो पटक पराजित भएको थियो।

अफगानिस्तानले सोमबार हुने माल्दिभ्स र भारतबीचको खेलमा विजयी हुने टिमसँग बुधवार फाइनल खेल्नेछ।