अधिकारी दम्पतीको आमरण अनशन तोडियो

मानवअधिकारवादी
आमरण अनशनले सृजना गरेको दबाबकामाझ सरकारले सो हत्याबारे अनुसन्धानलाई तिब्रता दिएको हो

स्वास्थ्य अवस्था नाजुक भएपछि वीर अस्पतालको सघन उपचार कक्षमा राखिएका नन्दप्रसाद र गंगामाया अधिकारी दम्पतीले राती एक बजे अनशन तोडेका हुन्।

नौ वर्षअघि मारिएका उनीहरुका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका एक आरोपी गोरखा फुजेलका रामप्रसाद अधिकारीलाई प्रहरीले राजधानी काठमाण्डूको बागबजारबाट पक्राउ गरेको थियो।

सरकारले अरु आरोपीलाई पनि पक्रिने र क्षतिपुर्ती र पुनर्स्थापनाको व्यवस्था गर्ने आश्वासन सहितको सहमति भएपछि अधिकारी दम्पतीले अनशन तोडेका हुन्।

वीर अस्पतालका डाक्टर बुलन्द थापाका अनुसार सहमतिपछि उनीहरुले फलफुलको रस पिएर अनसन तोडेका थिए।

आश्वासन

उनले भने, “सरकारका प्रतिनिधीले अरु आरोपी पनि पक्रने, उहाँहरुलाई क्षतिपूर्ती र पुनर्स्थापनाको व्यवस्था गर्ने भनेपछि राती एक बजेर पाँच मिनेट जाँदा उहाँहरुले जुस पिउन मान्नु भयो र अनशन तोड्नु भयो।”

डाक्टर थापाका अनुसार ती दम्पतीको अवस्था स्थीर छ र थप एक साता उपचारपछि अवस्था सामान्य हुन सक्छ।

सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीले उनीहरुका छोरा कृष्णप्रसाद अधिकारीलाई अपहरण गरेर चितवन लगेर हत्या गरेको बताइन्छ।

त्यसपछि अधिकारी दम्पत‍ी पनि गोरखाको फुजेलबाट विस्थापित हुन पुगे।

अधिकारी दम्पतीले आमरण अनसनले सृजना गरेको दबाबकामाझ हत्याबारे चितवन प्रहरीले अनुसन्धान गरिरहेको थियो।

विरोध

हत्याका आरोपी रामप्रसाद अधिकारीलाई पक्राउ गरेको विरोधमा एकीकृत नेकपा माओवादी शनिबार सडकमा उत्रिएको थियो।

एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले आफ्ना कार्यकर्ता पक्राउ गर्ने कदम निर्वाचन भाड्ने षडयन्त्र भएको बताएका थिए।

उनका दलका कतिपय नेताले सशस्त्र द्वन्द्वकालमा मुद्दा ब्युँताए शान्ति प्रक्रिया भांडिन सक्ने बताउँदै ती मुद्दाको छिनोफानो गर्दा सत्य निरुपण तथा मेलमिलाप आयोग बन्नु पर्नेमा जोड दिंदै आएका छन्।

प्रहरीका अनुसार अधिकारीको हत्याका अन्य आरोपीहरुको पनि खोजी भइरहेको छ।