दक्षिण एशियामा नेपाली फुटबल

पछिल्लोपल्ट अपडेट गरिएको: 02.09.13, 12:38 NST सम्मका समाचार
नेपाली फुटबल प्रशंसकहरु

नेपालमा रुचाईएका खेलमा फुटबल एक नम्बरमै पर्छ

एशियाली र विश्वस्तरिय केही नियमित प्रतियोगिताको छनोट चरणमा सीमित हुने नेपाली फुटबलको वास्तविक हैसियत दक्षिण एशियाली क्षेत्रकै प्रतिस्पर्धामा देखिने गर्छ।

नेपाली टोलीले हाल काठमाण्डौंको दशरथ रंगशालामा संचालन भईरहेको साफ फुटबल च्याम्पियनसिपमा आफनै दर्शकहरु माझ यो परीक्षा दिइरहेको छ।

दक्षिण एशियाका आठवटै राष्ट्रहरुले भाग लिएको यो क्षेत्रिय प्रतिस्पर्धालाई फुटबल विश्लेषकहरु कठिन तर रोमाञ्चक फुटबल भन्ने गर्छन्।

सहभागी राष्ट्रहरुमध्ये भुटान बाहेक अन्य सातै राष्ट्रहरुबीचको फुटबल स्तरलाई समान मानिने हुनाले उपाधी दौडलाई पनि निकै रोचक मानिएको छ।

जित्ने सम्भावना

नेपालको लागि त यो प्रतियोगिता निकै विशेष किनपनि मानिन्छ भने बदलिंदो फुटबल संरचनामा साफ च्याम्पियनसिप मात्र यस्तो प्रतियोगिता हो, जुन नेपाली राष्ट्रिय टोलीले जित्ने सम्भावना राख्दछ।

किनकि दक्षिण एशियाली खेलकुदकै अर्को प्रतियोगिता साग गेम्समा २३ वर्ष मुनीका खेलाडीहरु मात्र सहभागी हुन पाइन्छ भने दक्षिण एशियाली राष्ट्रभन्दा माथिल्लो स्तरको प्रतियोगितामा नेपाली टोलीले जित्ने हैसियत राख्दैन।

पछिल्लो सातवटा साफ च्याम्पियनसीपमा नेपालको उपलब्धी भनेको दुई पटक सेमिफाइनल सम्म पुग्नु मात्रै हो।

साग गेम्स (जसमा पहिले उमेरको हदवन्दी थिएन) मा भने नेपालले दुई पटक स्वर्ण पदक जितिसकेको भएपनि त्यो २० वर्ष पहिलेको इतिहास भएकोले वर्तमान नेपाली फुटबलको दक्षिण एशियाली स्तरलाई सुखद मान्न सकिन्न।

"सन् १९९० सम्म हामी माल्दिभ्सलाई सजिलै हराउँथ्यौं। अहिले स्थिति ठिक विपरित भएको छ"

कृष्ण थापा, नेपालका पूर्व फुटबल स्ट्राइकर

नेपालको मुख्य चुनौती दक्षिण एशियाका प्रतिद्वन्दी राष्ट्रहरुको सुध्रिंदै आएको फुटबल स्तर र सोही अनुरुप नेपालले प्रगती गर्न नसक्नु नै देखिन्छ।

अरुले मारेको फड्को

छोटो आकारको लिग फुटबलको संरचनालाई व्यावसायिक रुप दिनमा नेपाली फुटबल व्यस्त भइरहेको बेला भारत, माल्दिभ्स र अफगानिस्तानले क्षेत्रिय फुटबलमा ठूलै फड्को मारिसकेका छन्।

पांच पटक साफ च्याम्पियन जित्ने भारतको लिग र त्यसमा संलग्न खेलाडीहरु निकै व्यावसायिक बन्नु र अन्य राष्ट्रहरुको फुटबल लगानीमा भएका वृद्धिले दक्षिण एशियाका प्रतिद्वन्दीहरु नेपाललाई कठिन बन्दै गएका हुन्।

पछिल्लो समय एउटै मात्र रंगशाला भएको सानो टापुहरुको देश माल्दिभ्समा सरकारले फुटबल विकासमा लगानी ह्वात्तै बढाएपछि एक समय नेपालले सजिलै हराउने गरेको टोली साफको च्याम्पियन बनिसकेको छ।

नेपालका पूर्व राष्ट्रिय टोलीका स्ट्राइकर कृष्ण थापा सम्झिन्छन्, “सन् १९९० सम्म हामी माल्दिभ्सलाई सजिलै हराउँथ्यौं। अहिले स्थिति ठिक विपरित भएको छ।”

उत्तिकै तीव्र गतिमा प्रगति गरेको अफगानिस्तानले यसअघिको साफमा दोस्रो स्थान हासिल गरेको थियो।

अहिले अफगानिस्तान सार्क क्षेत्रको नयाँ फुटबल शक्तिको रुपमा उदाउन थालेको छ।

पछिल्लो समय क्रिकेटको प्रभावमा परेर ओझेलमा परे जस्तै देखिएको बंगलादेश, त्यस्तै श्रीलंका र पाकिस्तानपनि कमजोर प्रतिद्वन्दी होइनन्।

समस्या

"साफका सबै राष्ट्रहरु १९/२० का हुन्। नेपाली खेलाडीको पालो आउन मात्र बांकी हो।"

गणेश थापा, अध्यक्ष, अखिल नेपाल फुटबल संघ

यस्तोमा प्राविधिक फुटबल पस्किने उत्कृष्ट राष्ट्र भनिएको नेपालले क्रमश: समस्याहरुको सामना गर्दे आएको देखिन्छ।

फुटबलमाथी सरकारी लगानीको अभाव नै प्रमुख समस्या बन्ने गरेको छ।

घरेलु फुटबलको संरचनामा वैज्ञानिकरणको अभाव, सीमित भौतिक पूर्वाधार अनि अर्धव्यावसायिकतामा रुमलिनु पर्दा नेपाली फुटबल अल्झेको फुटबल विश्लेषकहरु बताउँछन्।

उनीहरु भन्छन् – लगानी एकमात्र विषय होइन, नेपाली खेलाडीहरुको क्षमतालाई प्रयोग गर्ने व्यावसायिक शैली र व्यवस्थापनमा पनि उतिकै समस्या छ।

नेपाली खेलकुदमा फुटबल अहिलेसम्मको नम्वर एक खेल हो र यसमा देखिएको दर्शकहरुको चासो र समर्थनमा दक्षिण एशियाका अन्य राष्ट्रहरु पछि पर्ने गर्छन्।

यसले फुटबल विकासको ढोका खुल्ने फराकिलो सम्भावना देखाउँछ।

अर्कोतिर नेपाली खेलाडीहरुको प्राकृतिक छरितोपन र मेहनतले अहिले पनि नेपाललाई दक्षिण एशियाको सदावहार दावेदार बनाउँदै आएको छ।

यसपालीको प्रतियोगिताको पहिलो खेलमा बंग्लादेशलाई हराएर नेपालले आफुमा सम्भावना जीवितै रहेको देखाइसकेको छ।

त्यसमा व्यावसायिक सुगन्ध भरिदिए नेपालले साफमा स्वर्ण जित्न सक्नेमा धेरैको विश्वास छ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा यही दावीलाई बारम्बार दोहोर्‍याउने गर्छन्।

उनी भन्छन्, “साफका सबै राष्ट्रहरु १९/२० का हुन्। नेपाली खेलाडीको पालो आउन मात्र बांकी हो।”

थापाको भनाई जे भएपनि नेपाली टोलीको वास्तविकता दशरथ रंगशालामा दर्शकहरुले देख्नेनै छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।