सिरियामा सरकारले रासायनिक हमला गरेको अमेरिकी निष्कर्ष

  • 29 अगस्ट 2013
अमेरिकी राष्ट्रपति बाराक ओबामा
अमेरिकी राष्ट्रपतिले सिरियामाथि गरिने कार्वाहीका बारे आफूले निर्णय गरीनसकेको बताएका छन्

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले भनेका छन्, गत हप्ता सिरियाली राजधानी दमस्कस बाहिरको क्षेत्रमा त्यहांको सरकारले सयौंको ज्यान जाने गरी ठूलो स्तरको रासायनिक आक्रमण गरेको निष्कर्षमा अमेरीका पुगेको छ।

एउटा अमेरिकी टेलिभिजन च्यानल, पीबीएस, लाई दिइएको अन्तर्वर्तामा राष्ट्रपति ओबामाले, आफूले सैनिक प्रत्याक्रमणका बारे कुनै निर्णय गरिनसकेको तर उनकै शब्दमा, सिमित र निश्चित उद्देश्यका साथ गरिने आक्रमणको लक्ष्य भविष्यमा कुनै पनि रासायनिक अस्त्रको प्रयोगलाई निरुत्साहित गर्नु रहने बताएका छन्।

त्यस्तो प्रकारको आक्रमणले दीर्घकालीन रुपमा अमेरिकी राष्ट्रीय सुरक्षामा सकारात्मक प्रभाव पर्न सक्ने राष्ट्रपति ओबामाको भनाई थियो।

सिमित उनले भने, “हामीले निश्चित उद्देश्य हासिल हुने गरी सिमित उपायहरु अनाउन सक्छौं, लामो द्वन्द्वमा नफस्ने इराकको स्थिती नदोहोरिने गरी।

“हामीले स्पष्ट र निर्णायक रुपमा नै त्यस्तो कार्य रोक्ने सन्देश दिन सक्छौं, जस्को सकारात्मक प्रभाव दीर्घकालीन रुपमा हाम्रो राष्ट्रिय सुरक्षामा पर्न जानेछ।“

त्यसअघि विदेशमन्त्रालयकी एकजना प्रवक्ताले, रुसले राष्ट्रसंघीय सुरक्षा परिषदको पांच स्थायी सदस्यहरुको बैठकको प्रयोग, ब्रिटेनले तयार पारेको मस्यौदा प्रस्तावलाई रोक्नका लागि गरेकोमा, सिरियाको एउटा प्रमुख साझेदार उक्त देशको आलोचना गरेकि थिइन्।

उक्त मस्यौदा प्रस्तावले सिरियाका गैरसैनिकहरुको रक्षाका लागि अपनाइने उपायहरुलाई अनुमोदन गर्ने थियो।

यसैबीच रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले भनेका छन्, संयुक्त राष्ट्रसंघीय अस्त्र निरिक्षकहरुले गत हप्ता सिरियामा भएको भनिएको रासायनिक अस्त्र हमलाका सम्बन्धमा तिनीहरुको अनुसन्धान सम्पन्न हुनु अघि नै सिरियाका विरुद्ध कुनै मस्यौदा प्रस्ताव अथवा प्रस्तावित कार्वाहीका बारे संयुक्त राष्ट्रसंघले विचार गर्न मिल्दैन। आह्वान

संयुक्त राष्ट्र संघका लागि सिरियाका राजदूत बशर जाफरीले, संयुक्त राष्ट्रसंघका अस्त्र निरिक्षकहरुलाई तिनीहरुको काम विना कुनै सैनिक वा राजनीतिक दबाबा विना पूरा गर्न दिनका लागि आह्वान गरेका छन्।

राष्ट्रसंघीय महासचिव बान की मुनले ति अस्त्र निरिक्षकहरुलाई आफ्नो काम पूरा गर्न कम्तीमा थप चार दिन लाग्ने बताएका छन्।

उता ब्रिटेनमा, सिरियाका विरुद्ध हुन सक्ने सैनिक कार्वाहीका बारे छलफल गर्न आज केहिसमयपछि संसदको बैठक डाकिएको छ।

तर सरकारले सिरिया संकटका सम्बन्धमा ब्रिटिश संलग्नताका बारे गर्न लागेको निर्णायक मतदानको समयतालिका त्याग गर्नु परेको छ।

विपक्षी लेबोर पार्टीले, रासायनिक हमलाका बारे राष्ट्रसंघीय निरिक्षकहरुको निष्कर्षको प्रतिक्षा गर्न सरकारले असहमति जनाएमा, सरकार विरुद्ध मतदान गर्ने धम्की दिएको छ।

अब सरकारले कुनै निर्णय लिनु अघि अर्को कुनै मितिमा त्यस्तो मतदान गराउनु पर्ने भएको छ।