विनिमय बहस

पछिल्लोपल्ट अपडेट गरिएको: 21.08.13, 06:46 NST सम्मका समाचार
भारु

नेपालको कुल वैदेशिक व्यापारको दुई तिहाई भारतसंग हुने गर्छ

अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँको मूल्य लगातार खस्किएपनि हाल नेपाली रुपियाँको भारुसंगको स्थीर विनिमय प्रणालीमा कुनै परिवर्तन नगरिने सरकारी अधिकारीहरुले बताएका छन्।

भारु कमजोर भएका कारण, भारुसंगको स्थीर विनिमय प्रणालीबारे विज्ञहरुबीच बहस चल्न थालेको बेला, अर्थ मन्त्रालयका सल्लाहकारले जारी नीतिमा कुनै पुनरावलोकन गर्न नसकिने बताएका छन्।

बहस

अर्थविदहरु बीच पनि सो प्रणाली परिवर्तन गर्न हुने वा नहुने बारे मतैक्य छैन।

भारतको आर्थिक बृद्धि कमजोर भएको तथा त्यहाँबाट लगानीकर्ता अन्यत्र आकर्षित हुन थालेकोले भारुको मूल्य लगातार खसिरहेको छ।

भारुको बुई चढेको नेपाली रुपियाँले स्वाभाविक रुपमा उही हाल बेहोरेको छ।

"धेरै मुद्राहरुसंग हाम्रो मुद्रा सम्बन्धीत बनाउँदा केही राहत त हुन्छ तर त्यो नाममात्रको हुनेछ"

दिपेन्द्रबहादुर क्षेत्री, पूर्व गभर्नर, नेपाल राष्ट्र बैंक

एकोहोरो ओरालो बाटोमा भारु कुदिरहेको हुनाले नेपाली मुद्राले उसको बुईबाट ओर्लिनु उपयुक्त हुने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई ठान्छन्।

“अहिलेको अवस्थामा राम्रो विकल्प भनेको नेपालले व्यापार गर्ने विभिन्न मुलुकका मुद्राहरुको बास्केटसंग हाम्रो मुद्रालाई जोड्नु हो। जुन मुलुकसंग जति परिमाणमा व्यापार हुन्छ उसलाई उही अनुपातको महत्व दिने र त्यस अनुरुप मुद्राको मूल्य निर्धारण गर्ने विकल्पमा जानु पर्छ,” भट्टराईले भने।

व्यापार संरचना

तर मुद्रा विनिमय प्रणालीजस्तो विषयमा क्षणिक निर्णय लिनु घातक हुने अन्य कतिपयको धारणा छ।

खासगरी नेपालको वैदेशिक व्यापारको वर्तमान संरचनाले नेपाललाई आफ्नो मुद्रा स्वतन्त्र छाड्ने अवस्था नदिने उनीहरुको भनाई छ।

"अहिलेको अवस्थामा राम्रो विकल्प भनेको नेपालले व्यापार गर्ने विभिन्न मुलुकका मुद्राहरुको बास्केटसंग हाम्रो मुद्रालाई जोड्नु हो"

विजयनाथ भट्टराई, पूर्व गभर्नर, नेपाल राष्ट्र बैंक

हाल नेपालको वैदेशिक व्यापार घाटा पाँच खर्ब रुपियाँ नाघेको छ। कुल वैदेशिक व्यापार मध्ये दुई तिहाई भारतसंग हुने गर्छ।

भारतको अर्थतन्त्र तुलनात्मक रुपमा सबल भएकाले नेपाली मुद्राले ऊ संगको सम्बन्ध तोड्दा नेपाललाईनै घाटा पुग्ने अर्का पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री बताउँछन्।

“हाम्रो दुई तिहाई व्यापार भारतसंग हुन्छ। यस्तो स्थितिमा हामीले एकैचोटि मुद्रालाई खुला छाड्ने हो भने हाल प्रति सय भारु १६० रहेको हाम्रो मूल्य २०० पुग्छ। त्यसकारण धेरै मुद्राहरुसंग हाम्रो मुद्रा सम्बन्धीत बनाउँदा केही राहत त हुन्छ तर त्यो नाममात्रको हुनेछ,” क्षेत्रीले भने।

चिन्ता

नेपाली रुपियाँको मूल्य तीव्र गतिमा घटेकोप्रति सरकार चिन्तित देखिन्छ।

"आ-आफ्नो विचार हुन सक्छन्। गफ गर्नु आफ्नो ठाउँमा छ। तर यथार्थ के हो भने हाम्रो दुई तिहाई व्यापार भारतसंग हुन्छ। चीनसंग हाम्रो व्यापार एकदमै कम छ। त्यसकारण विनिमय प्रणाली परिवर्तनका कुरा मलाई उति जायज लाग्दैन"

डा चिरञ्जीवी नेपाल, सल्लाहकार, अर्थ मन्त्रालय

तर यसैको कारण अहिलेनै विद्यमान विनिमय प्रणाली परिवर्तन गर्ने विषयप्रति भने सरकारको समर्थन देखिंदैन।

अर्थ मन्त्रालयका सल्लाहकार डा चिरञ्जीवी नेपाल भन्छन्, “आ-आफ्नो विचार हुन सक्छन्। गफ गर्नु आफ्नो ठाउँमा छ। तर यथार्थ के हो भने हाम्रो दुई तिहाई व्यापार भारतसंग हुन्छ। चीनसंग हाम्रो व्यापार एकदमै कम छ। त्यसकारण विनिमय प्रणाली परिवर्तनका कुरा मलाई उति जायज लाग्दैन।”

नेपाल राष्ट्र बैंकका अधिकारीहरु यसबारे मुख खोल्नसमेत हिच्किचाइरहेका छन्।

बाह्य कारणले सिर्जित भनिएको यस समस्याको समाधान आफ्नो हातमा नरहेकाले उनीहरु प्रतिक्रियाविहिन बनेका देखिन्छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।