असन्तुष्ट दललाई कोइरालाको आह्वान

  • 18 अगस्ट 2013

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले असन्तुष्ट दलले राखेको गोलमेच सम्मेलनको माग पुरा गर्न नसकिने कुरा बताएका छन्।

नेपाली काग्रेसका नेताहरु
राजनीतिक समितिको संयोजकको जिम्मा नेपाली काग्रेसका सभापति सुशील कोइरालाले पाएका छन्।

कोइरालाले उच्चस्तरीय राजनीतिक समिति विस्तार गरेर आन्दोलनरत दललाई चुनावमा ल्याउने तयारी भैरहेको पनि बताए।

शनिवारबाट एक महिनाको लागि राजनीतिक समितिको संयोजकको जिम्मा पाएका कोइराला चुनाव वहिस्कार गर्ने चेतावनी दिइरहेको नेकपा माओवादी नेतृत्वको मोर्चाले राखेका कतिपय माग पुरा गर्न नसकिने प्रकृतिका भएको बताउँछन्।

नेकपा माओवादी नेतृत्वको मोर्चा र अशोक राई नेतृत्वको संघिय समाजवादी दललाई सहमतिमा ल्याउने प्रयासमा राजनीतिक समितिले वार्ता गरिरहेको छ।

भदौको पहिलो हप्ता भित्र चुनावी वातावरण बनाउने दवाव सरकार र सरकारपक्षिय दलहरुले खेपिरहेका छन्।

भेटघाट

समितिको नेतृत्व लिए लगत्तै शनिवार यथास्थितीमा चुनाव वहिस्कार गर्ने वताइरहेको नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यलाई उनकै निवासमा गएर कोइरालाले भेटेका थिए।

“उहाँ बिरामी पनि हुनुहुँदो रहेछ, त्यही भएर धेरै कुराकानी हुन सकेन। मैले राजनीतिक समितिमा सहभागी भएर चुनावमा भाग लिन उहाँलाई निम्तो दिएको छु।”

एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड संयोजक हुँदा राजनीतिक समितिले मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको मोर्चासँग ६ बुँदे सहमति गएको थियो।

आफ्नो एक महिने कार्यकालमा राजनितिक सम्मेलनको माग गरिरहेको अशोक राई नेतृत्वको दल र संविधानका अन्तरवस्तुमा सहमति हुनुपर्ने धारणा राखिरहेको नेकपा माओवादीलाई सहमतिमा ल्याउने चुनौति कोइरालासामु देखिएको छ।

मुश्किल

राईको दल संघिय समाजवादी चुनावमा आउनेमा विश्वस्त देखिएका कोइराला वैद्य माओवादी चुनावमा आउनेमा शंका व्यक्त गर्छन्।

“मैले वैद्यजीलाई चुनावमा आउन अनुरोध र प्रार्थना गरेको छु। उहाँहरुका अत्यन्त भारी मागहरु भए। त्यही भएर सहमति गर्न मुश्किल भैरहेको छ।”

निर्वाचन आयोगले मसीर ४ मा चुनाव गर्न भदौको पहिलो हप्ता भित्र राजनीतिक समस्या हल गर्ने समयसीमा दलहरुलाई दिएको छ।

वार्ता प्रक्रियमा अलमल भैरहँदा त्यो समयसीमा भेटाउन कठिन देखिएको कतिपयको विश्लेषण छ।