दिल्ली दौडाहाको अर्थ

  • 7 अगस्ट 2013

Delhi trip
नेपालमा भारत सूक्ष्म व्यवस्थापनको हदसम्म उत्रिएको छ भन्ने आरोप लाग्ने गर्छ

नेपाली राजनीतिमा परम्परागत प्रभाव राख्ने ठानिएको छिमेकी भारतले मुख्य शक्तिका प्रमुख नेतालाई एकपछि अर्को गर्दै निम्त्याउनुको अर्थ के होला?

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भारत भ्रमणबाट फर्किएको एक साता नबित्दै नेपाली कांग्रेसका सभापति सुशील कोइराला पनि त्यस्तै दौडाहामा अहिले दक्षिणी छिमेकीमा छन्।

कोइराला सहित गणना गर्दा पछिल्ला चार महिनामा दिल्लीको औपचारिक निम्तोमा लगालग भएको यो चौथो उच्च राजनीतिक भ्रमण हो।

आठ वर्षअघि दिल्लीमै भएको १२ बुंदे समझदारी र त्यसले कोरेको राजनीतिक मार्गचित्र अझै अन्योलको अवस्थामा रहेका बेला अचानक बाक्लिएका यस्ता उच्चभ्रमणले नेपाली राजनीतिक वृत्तलाई तताएको छ।

चिन्ता

२०६२,०६३ को जनआन्दोलनपछिको परिवर्तन पहिलो संविधानसभा निर्वाचनले संस्थागत गर्ने आम अपेक्षा थियो तर त्यस विपरित राजनीतिक सहमति भत्कियो।

२०४६ सालपछिका संसदीय अभ्यासका क्रममा भएका सरकार गठन विघटनका खेलहरुको झल्को दिने खालका लडाईमा दलहरु लागिरहंदा मुलुकलाई संविधान दिने र नयाँ राज्यपुर्नसंरचना गर्ने प्राथमिकता ओझेलमा पर्न गएको छ।

परिणामत: तोकिएको दुई वर्षमा मात्रै नभइ थपिएको अर्को दुई वर्षमा पनि संविधान जारी भएन।

सत्ताका लागि लामो झगडामा दलहरु एकअर्काको निषेधमा कुन हदसम्म उत्रिए भने उनीहरुलाई बरु गैरदलीय सरकार नै स्वीकार्य हुन पुग्यो।

तथापि त्यो राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अर्को प्रयासका लागि मुख्य चार शक्ति फेरि एकै ठाउँमा भने उभिएको देखिएको छ।

उनीहरु एकै ठाउँमा उभिएपनि चुनौती भने प्रशस्तै छन्।

संघीयता, शासकीय प्रणाली जस्ता कतिपय मुद्दामा आफैभित्र गम्भीर रुपमा उनीहरु विभाजित छन् भने अस्वीकार गर्ने नसकिने असन्तुष्ट पक्षले यथास्थितिमै चुनाव भए बिथोल्ने धम्की दिइरहेको छ।

मंसीर ४ को निर्वाचन मिति नजिकिदैं गइरहेपनि यतिखेरसम्म चुनावी माहोल बन्नसकेको छैन र चुनावलाई लिएर शंकाउपशंका आममानिसमा मात्रै नभइ स्वयम् राजनीतिको बागडोर सम्हालेका नेतामा पनि देखिन थालेको छ।

यो संक्रमण लम्बिदैं जांदा घरभित्रमात्रै नभइ छिमेकी मुलुकसहितका विदेशी शक्तिहरु पनि चिन्तित देखिन थालेका छन्।

नेपाली नेताहरुलाई श्रृखंलावद्ध रुपमा पछिल्लोपटक आएका दिल्ली निम्तोमार्फत भारतले आफ्ना त्यस्ता चिन्ता र चासो प्रकट गर्न खोजेको जस्तो देखिन्छ।

सन्देश

शीर्ष तहमा भएका यस्ता भ्रमणले एकातिर संक्रमण अन्त्यका लागि नेपाली शक्तिहरुको मार्गचित्रबारे प्रत्यक्ष बुझ्ने अवसर भारतलाई जुटाइदिएको छ भने अर्कोतिर भारतले पनि यो मौकालाई आफ्नो सन्देश नेपाली राजनीतिक तप्कालाई प्रष्ट रुपमा सुनाउन उपयोग गरेको छ।

दुवै मुलुकबीच केही समययता टुटेको जस्तो देखिएको पारस्पारिक उच्च राजनीतिक सम्बन्ध र अन्तक्रियालाई पुन जोड्ने अवसर पनि यस्ता भेटले दिएको छ।

खासगरी नेपालमा गिरिजाप्रसाद कोइरालाको निधन र भारतमा प्रणव मुखर्जी राष्ट्रपति भएपछि त्यसको अभाव खडकिएको कतिपय विज्ञहरुको बुझाइ छ।

भारतको नेपाल मामिला तल्लो तहका कर्मचारी र गुप्तचरहरुले निर्देशित गर्न थालेका दृष्टान्तहरु त्यसअघि समेत नरहेका होइनन् तर पछिल्ला केही वर्ष त्यसले तीव्रता पाएको स्वयम् नेपाली नेताहरुले अनुभव सुनाउने गरेका छन्।

त्यो खाडल पुर्न यस्ता भ्रमणहरु मौका त हुन् तर त्यसको उपयोग दुवै पक्षले कसरी गर्छन् त्यसमा नै त्यसको दूरगामी प्रभाव र सफलता निर्भर रहनेछ।

आफ्नै स्वार्थ

पछिल्लो पटक भारत भ्रमणमा गएका प्राय सबै नेताले समग्र मुलुककै प्रतिनिधित्व गरेर त्यहाँ पुगेको बताउने गरेपनि भित्रि रुपमा भने पार्टी र आफ्नो व्यक्तिगत सम्बन्ध सुधार्ने मौकाका रुपमा बढी उपयोग गरेको देखिन्छ।

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले विगतमा नयाँ दिल्लीसंग रहेको आफ्नो असहज सम्बन्ध सुधार्ने भरमग्दुर प्रयास गरे जुन कुरा उनी आफैले पनि स्वीकार गरे।

विगतका घटनाका लागि क्षमायाचना गर्ने शैलीमा उनले तात्कालीन सेनापति रुक्मांगत कट्वालको बर्खास्ती र थमौतीपछि आफूले लिएको भारतविरोधी अडान गल्ती भएको दिल्लीमा रहंदा सार्वजनिक रुपमै बताए।

त्यसपछि दिल्ली गएका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्ना निर्वाचन क्षेत्रका योजनाहरुमा भारतीय सहयोगको याचना गर्ने कामसम्म गरे।

दिल्ली कोसंग बढी दाहिने छ भन्ने प्रतिस्पर्धा प्रतीत हुने गरी नेताहरु स्वयमले आफूहरुको भ्रमणलाई भारतले उच्चमहत्व दिएको रुपमा व्याख्या गर्न छाडेनन्।

जुन कुरा प्रचण्डदेखि लिएर देउवा हुंदै माधवकुमार नेपाल र हाल त्यहाँ रहेका कोइरालाको हकसम्म सबैमा देखियो।

'चुक्यो' भारत

भारत पनि केही पक्षमा चुकेको नेपाली विश्लेषकहरु बताउँछन्।

भ्रमणमा गएका नेपाली नेतामध्ये केहीलाई सत्तारुढ युनाईटेड प्रोग्रेसिभ एलायन्स युपीएकी शक्तिशाली प्रमुख सोनिया गान्धीसंग भेटाउने, केहीलाई नभेटाउने गर्दा त्यसलाई भारतीय संस्थापन पक्षसंग निकटताको मापक मान्ने शंकाको सुविधा आलोचकहरुलाई मिल्यो।

दिल्लीसंग असहज सम्बन्ध भएको भनिएका कोइराला प्रचण्डपछि दिल्लीको निम्तोको सूचीमा थिए तर उनले खासै चासो नदेखाएपछि केही हच्किएको दिल्लीले त्यो प्रस्ताव देउवालाई दियो जुन कुरालाई कोइरालालाई ओझेलमा पार्ने भारतीय प्रयासका रुपमा अर्थाइयो।

गत वर्ष तराई टुक्रयाउनुपर्छ भनेर एकजना भारतीय कूटनीतिज्ञले दिएको भनिएको अभिव्यक्तिप्रति कडा विरोध गरेपछि कोइराला दिल्लीको अरुचिको सूचीमा रहेको कांग्रेसकै नेताहरुले बताउने गरेका छन्।

तर आफूलाई भारतविरोधी भनेर प्रचार गरिन थालिएको अवस्थालाई रोक्नुपर्ने दबाबमा पनि कोइराला थिए।

भारत पनि देउवालाई निम्त्याएर कोइरालालाई ओझेलमा पार्न खोजेको भनेर गएको सन्देश सच्याउनुपर्ने अवस्थामा थियो।

भ्रमण

यी कारणले पनि कोइरालाको पछिल्लो भ्रमण सम्भव बनायो।

कोइरालाको भ्रमण गराउन राष्ट्रपति कार्यालय शीतल निवासले पनि पहल गरेको भन्ने खालका खबरहरु आएपनि त्यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

यसरी दुवै पक्ष केही विषयमा चुकेपनि राजनीतिक तहमा बाक्लिएका अन्तर्क्रियाहरुले एकअर्काप्रति रहेका गलत धारणाहरुलाई हटाउन मद्दत गर्ने अपेक्षा लिइएको छ।

तर राजनीतिक सम्बन्ध उचाईमा भएका बेला समेत २००७ सालपछि बीपी र मातृकाप्रसाद कोइरालाबीचको फाटोमा जवहारलाल नेहरु जस्ता भारतीय नेताको भूमिकाले परिस्थिति बिगारेको विश्लेषण गर्नेहरु नभएका होइनन्।

पछिल्ला वर्षहरुमा आन्तरिक राजनीतिक कचिंगल बढ्दै जांदा भारत नेपालमा सूक्ष्म व्यवस्थापनकै तहमा उत्रिएको धेरैले महसुस गर्न थालेका छन्।

त्यसैले राष्ट्रवादको नाममा विगतमा भारतलाई गाली गर्नेहरु समेत भन्न थालेका छन्, "अरुलाई औला ठड्याउनुअघि आफ्नै थैलीको मुख बलियोसंग बाँध्नु राम्रो।"