अमेरिकाद्वारा यात्रा सावधानी सूचना जारी

यमनस्थित अमेरिकी दूतावास
अमेरिकाले मध्यपूर्व र उत्तर अफ्रीकास्थित आफ्ना कुटनीतिक नियोगहरु दुई दिन बन्द गर्ने भएको छ

संयुक्त राज्य अमेरिकाले अलकायदाको तर्फबाट हुनसक्ने हमलालाई ध्यानमा राख्दै आफ्ना नागरिकहरुका निम्ति विश्वव्यापी यात्रा सावधानी सूचना जारी गरेको छ।

त्यस्तो खतरा विशेषगरी मध्यपूर्व र उत्तर अफ्रिकी देशहरुमा हुन सक्ने बताइएको छ।

मुसलमान देशहरुमा रहेका बीसवटा दूतावास र महाबाणिज्यदूतका कार्यालयहरु आइतबारको दिन बन्द गरिने भनी विदेश मन्त्रालयले गरेको घोषणा पछि त्यस्तो यात्रा सतर्कता सूचना आएको छ।

गम्भीर

अमेरिकी सांसदहरुका अनुसार, त्यस्तो विश्वव्यापी यात्रा सतर्कता घोषणा गर्नु पर्नाका पछाडीको गोप्य सूचना, सामान्य कुराकानीको आधारमा मात्र प्राप्त भएको होइन।

अमेरिकी संसदकी एक नेतृ न्यान्सी पेलोसीले खतरा गम्भीर रहेको विश्वास गर्न सकिने कारणहरु रहेका बताइन्।

“यसबारेमा हामीलाई जानकारी गराइएको छ र अब केहि दूतावासहरु बन्द गरिनेछन्। विदेशजाने अमेरिकीहरुलाई यात्रामा सतर्क रहन भनिएको छ र खतरा गम्भीर रहेको बुझिएको छ।“ न्यान्सी पेलोसीले भनिन्।

विदेश मन्त्रालयले भनेको छ, सावधान हुनु पर्ने खालका पर्याप्त जानकारीहरु प्राप्त भएपछि ति पछिल्ला कदमहरु चालिएका हुन्।

सावधान मन्त्रालयले, अमेरिकी यात्रुहरुलाई विशेषगरी सार्वजनिक यातायातका साधनहरु र पर्यटकीय स्थलहरुमा सावधान रहन भनेको छ।

अमेरिकी सरकारले बेलाबखत यस्तो प्रकारको यात्रा सावधानीको सूचना जारी गर्नु असामान्य होइन।

तर अहिले जारी गरिएको सतर्कताको सूचना विशेष र स्पष्ट जानकारीहरु सहितको छ र अरब प्रायद्वीपलाई विशेषगरी खतराको स्थानका रुपमा इंगीत गरेको छ।

अगस्ट महिनाको अन्त्यसम्म कायम रहने यो यात्रा सावधानीको सूचना, लिबीयाको बेनगाजी नगरस्थित अमेरिकी बाणिज्यदूतावासमा भएको हमलाको एक बर्ष भन्दा कम समयमा आएको छ।

उक्त हमलामा लिबियाका लागि अमेरिकी राजदूत क्रिस्टोफर स्टिभन्सको ज्यान जानुका साथै केहि कुटनीतिक कर्मचारीहरु पनि मारिएका थिए।

ओबामा प्रशासनले आफ्ना नागरिकहरुको सुरक्षाका लागि आफूले कुनै जोखिम नमोल्ने बताएको छ।