इजिप्टमा परस्पर विरोधी प्रदर्शनहरु

पछिल्लोपल्ट अपडेट गरिएको: 27.07.13, 07:57 NST सम्मका समाचार
सेना समर्थकहरुको प्रदर्शन

सेनाका समर्थकहरु कायरोको तहरीर चोकमा भेला भएका थिए

इजिप्टको राजधानी कायरोमा सेनाका समर्थक तथा अपदस्थ राष्ट्रपति मोहमद मोर्सीका समर्थकहरुको छुट्टा छुट्टै विरोध प्रदर्शनहरु भएका छन्।

दुईथरी बीच शक्ति प्रदर्शनको रुपमा ती विरोध प्रदर्शनहरुलाई लिइएको छ।

कायरोको तहरीर चोक तथा वरपर ठूलो संख्यामा भींड जम्मा भए। तिनले सेनाको समर्थनमा आतिशबाजी गरे।

मोर्सीका समर्थकहरु चाहीं शहरको पूर्वी भागमा रहेको मस्जीद वरपर जम्मा भए र तिनले आफ्ना नेतालाई अपदस्थ गरिएकोमा सेनाको निन्दा गरे।

तनाव

उनी विरुद्धका प्रदर्शनहरु फैलन थालेपछि जुलाईको शुरुमा राष्ट्रपति मोहम्मद मोर्सीलाई हटाएर सेनाले अन्तरीम राष्ट्रपति नियुक्त गरेपछि इजिप्टमा चर्किएको तनाव झन् झन् बढ्दैछ।

आफ्ना नेता मोर्सीलाई निकालेकोमा आक्रोशित उनका समर्थकहरु तथा सेनाको कदमको समर्थन गर्नेहरुको ठूलो भींडले राजधानी कायरो भरिएको छ।

हालसम्म मुख्य र्‍यालीहरु शान्तिपूर्ण देखिएका छन्।

तर शुक्रबार बिहान अलेक्जेन्ड्रिया शहरमा भएका झडपहरुमा पाँच जना मारिएका थिए।

शनिबार सबेरै बोल्दै आन्तरीक मामिला मन्त्री मोहम्मद इब्राहिमले भनेका छन् रबा अल अदविया मस्जिद अघि मोर्सीका समर्थकहरुले गरेको धर्नालाई कानुन बमोजिम अन्त्य गरिनेछ।

उनले स्पष्ट त पारेनन् तर भने स्थानिय बासिन्दाहरुले धर्नाको विरुद्ध गुनासो गरेका छन्।

यस हप्ताको शुरुमा सैनिक प्रमुख जनरेल अब्देल फताह अल सीसीले सेनालाई सहयोग गर्न मानिसहरुलाई प्रदर्शनमा उत्रन आव्हान गरेका थिए।

आरोप

मोर्सी समर्थकहरुको र्‍याली

अपदस्थ गरिएको विरोधमा मोर्सी समर्थकहरुले सेनाको निन्दा गरेका छन्

प्रदर्शनहरु चर्किंदै गर्दा अधिकारीहरुले मोर्सीलाई प्यालेष्टाईनी विद्रोही संगठन हमास संग मिलेर षडयन्त्र रचेको लगायतका आरोपमा औपचारिक पक्राउ आदेश दिएका छन्।

उनीमाथि सन् २०११ मा राष्ट्रपति होस्नी मुबारकलाई सत्ताच्युत गर्ने आन्दोलन ताका जेलहरुमा आक्रमणको योजना बुनेको आरोप लागेको थियो। सन् २०११ को जनवरीमा कायरोको जेलमा गरिएको आक्रमणमार्फत मोर्सी तथा उनको दल मुस्लीम ब्रदरहुडका नेताहरु मुक्त पारिएका थिए।

सम्वाददाताहरु भन्छन् पश्चिमा देशहरुद्वारा मोर्सीलाई रिहा गरिनुपर्ने या त उचित कानुनी कारवाही गरिनुपर्ने भनी इजिप्टको सेनामाथि बढाएको दबाबका बीच मोर्सीमाथि यी औपचारिक आरोप लगाइएका हुन्।

तर मुस्लीम ब्रदरहुडले ती आरोपको खण्डन गरेका छन्।

प्यालेष्टाइनी संगठन हमासका एक नेतालेपनि आरोपहरुको खण्डन गरेका छन्।

“हामी यी सबै आरोपहरुको खण्डन गर्छौं। यो त एउटा राजनीतिक खेल जस्तो छ। कोही कोही मान्छे हामीलाई मोर्सी तथा मुस्लीम ब्रदरहुडको विरुद्ध राजनीतिक कार्डको रुपमा प्रयोग गर्न चाहन्छन्। हाम्रो नीति त इजिप्टको आन्तरीम मामिलामा हस्तक्षेप नगर्ने रहेको छ,” हमासका एकजना नेताले बताए।

मोर्सी जुन २०१२ मा भएको निर्वाचनमा जितेर राष्ट्रपतिमा चुनिएका थिए।

तर उनीमाथि इस्लामी एजेन्डा पछ्याएको आरोप लागेको थियो।

गत महिना उनी विरुद्ध विशाल प्रदर्शनहरु भएपछि जुलाईको शुरुमा उनलाई सेनाले अपदस्थ गरिदिएको थियो।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।