बैद्यको नेतृत्वमा वार्ता टोली

  • 8 जुलाई 2013
नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य
नेकपा माओवादी मंसिर ४ गतेको लागि तोकिएको चुनाव स्थगित गरिनुपर्ने पक्षमा छ।

सरकार परिवर्तन तथा चुनाव स्थगन लगायतका अडानहरु टेबुलमार्फत राख्ने निर्णय गर्दै नेकपा माओवादीले अध्यक्ष मोहन वैद्यको नेतृत्वमा वार्ता टोली गठन गरेको छ।

चुनावी सरकारको नेतृत्व र मितिबाहेक अन्य विषयमा गोलमेच सम्मेलनमार्फत छलफल गर्न सकिने सत्ता समर्थक दलहरुको भनाइ आएलगत्तै सो दलले पार्टीका अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा सचिव सम्मिलित उक्त वार्ता टोली गठन गरेको हो।

साढे तीन महिना अगाडि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनेपछि आन्दोलित रहेको नेकपा माओवादीले यसअघि सरकार र मुख्य दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिसँग वार्तामा नबस्ने अडान लिंदै आएको थियो।

माओवादीले सोमबार पत्रकार सम्मेलन गरेर सरकार र मुख्य दलहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता गर्न वार्ता टोली गठन गरेको निर्णय सार्वजनिक गरेको हो ।

पुरानै माग

पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले उनको दल सरकार र दलहरुसँग वार्तामा बस्ने लचिलो भएको बताए पनि अडान भने कडै लिएका थिए।

उनले भने “राजनीतिक संयन्त्रमा रहेका वा नरहेका राजनीतिक दलहरुसँग र सरकारसँग लचकताको साथ वार्ता गर्न हामी तयार छौ, साथै सरकार पक्षलाई मंसिर ४ गते चुनाव गराउने शर्त वार्तामा नराख्न हामी अनुरोध गर्न चाहन्छौं।”

प्रधानन्यायाधीश नेतृत्वको सरकार गठनलाई असंवैधानिक भन्दै विरोध गरिहेको माओवादीले उच्चस्तरीय राजनीतिक समितिको खारेजीको माग पनि गरेको छ।

यसअघि सत्ता समर्थक दलहरुले संविधानसभा चुनावको मिति पर सार्ने र वर्तमान सरकारको बहिर्गमन बाहेक माओवादीले उठाएका अन्य माग गोलमेच सम्मेलनको आयोजना गरी सम्बोधन गर्न सकिने बताएका थिए।

सोमबारको पत्रकार सम्मेलनमा वैद्यले विगतको संविधानसभामा प्रतिनिधित्व गर्ने र आन्दोलनरत दलहरु सहभागी भएको गोलमेच सम्मेलनबाट सरकारको नेतृत्वको विषय टुंगो लगाउनुपर्ने माग दोहोर्‍याए।

“गोलमेच सम्मेलनबाट दलीय नेतृत्वमा सरकार बनाएपछी मात्र कसरी र कहिले चुनाव गर्ने भन्ने छलफल गरिनुपर्छ,”उनले भने।

बहिष्कार

पोखरामा हालै बसेको केन्द्रिय समितिको बैठकले चुनाव बहिष्कार गर्ने निर्णय गरेको र साउन १० गतेबाट आन्दोलन शुरु गर्ने जानकारी माओवादी नेताहरुले कार्यकर्ताहरुले खाचाखच भरीएको राष्ट्रिय सभा गृहको हलमा आयोजित पत्रकार सम्मेलनमा गराएका थिए।

यथास्थितिमा चुनाव बहिष्कार गर्ने र जबरजस्ती गराउन खोजिए जनताले बिथोल्ने अभिव्यक्ति नेताहरुले दिंदा माओवादी कार्यकर्ताहरुले उत्साहित हुँदै ताली पिटेका थिए।

चुनाव विरोधी र हिंसाको मोह त्याग्न नसकेको भन्ने आरोप बढ्दै गएपछि पछिल्लो समय माओवादीलाई वार्ताबाट निकास खोज्न दबाब पर्दै गएको थियो।

तर उसले सार्वजनिक गरेको अडानहरु हेर्दा त्यस्तो निकास सहज नरहेको धेरै विश्लेषकहरुको ठम्याइ छ।